११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

यसकारण गुल्मी २ मा गोकर्ण विष्ट


-डा ऋषिराम शर्मा

गोकर्ण बिष्ट नेपाली जनताको अडिटमा निकै स्वच्छ छवियुक्त र निष्कलङ्क नेता मानिन्छन् । मुलुककै राष्ट्रिय र विकासप्रेमी नेताका रूपमा पहिचान बनाएका गोकर्ण बिष्टले गुल्मी जिल्लामा जम्माजम्मी एघार वर्ष र केही महिना गुल्मी जिल्लाको जनप्रतिनिधिका रूपमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । गोकर्णलाई २५ वर्षसम्म जनप्रतिनिधि भएको हल्ला पिटाइए पनि उनले एघार वर्षसम्म मात्रै प्रतिनिधि बनेका हुन् र उनले एघार वर्ष गुल्मीको प्रतिनिधि हुँदा अरुले २५ वर्षसम्म गर्न नसक्ने काम उनका पालामा उनले गरेर देखाएका छन् ।

२०४८ साल देखि गुल्मीमा हालको गठबन्धन दलभित्रका दलहरूमध्ये माओवादीले सात वर्ष, अहिलेकी गठबन्धन उमेदवारले ५ वर्ष, २०४८ सालको चुनावमा जितेका काङ्ग्रेस उमेदवारले ३ वर्ष, अहिलेको गठबन्धन दलकै अर्का पात्रले २०५१ मा ४ वर्ष गरी अहिलेको गठबन्धन दलले गुल्मीमा बिस बर्षभन्दा बढी प्रतिनिधित्व गरेको इतिहास छ । तर गुल्मी क्षेत्र नं २ मा बाटोघाटो, ग्रामीण विद्युतीकरण, पुलपुलेसा, खरको छानामुक्त घर, सुलभ खानेपानी, स्वास्थ्य चौकी, विद्यालयको गुणस्तर सुधार आदिमा जेजजति विकास भएको छ, त्यो सबै यिनै गोकर्ण बिष्टका पालामा र यिनकै सक्रिय पहलमा भएको छ भन्ने कुरो गुल्मेली जनताले छर्लङ्गै बुझेका छन् ।

अर्को महत्वपूर्ण कुरो के छ भने यो देशमा राजनीतिक स्थायित्वका लागि एउटै दलको बहुमतको राष्ट्रिय हितको पक्षमा डट्ने सरकार हुनु आवश्यक छ । नेकपा एमाले जसले मुलुकको नक्सा नै परिवर्तन गरिदियो त्यस राष्ट्रवादी दललाई बहुमत दिनु जरुरी छ । यसैक्रममा गुल्मी दुईमा निर्वाचनको तापमान बढ्दै जाँदा गुल्मेली जनताले नेपाली जनताको प्यारो पार्टी नेकपा एमालेका उमेदवारलाई विजयी गराउनु पर्ने छ । नेकपा एमालेले उमेदवारका रूपमा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टलाई चयन गरी गुल्मेली जनतालाई फेरि एक स्वच्छ छवि र प्रष्ट भिजन भएको व्‍यक्तिलाई मतदान गर्ने अवसर दिएको छ ।

हिजो गोकर्ण विष्टलाई गुल्मीका जनताले आफ्नो क्षेत्रको प्रतिनिधि चुने, पाँच वर्ष पहिलेको गुल्मीको भौतिक अवस्था र अहिलेको विकासको तुलना गर्दा यो क्षेत्रमा केकति विकास भएको छ त्यो सबै त्यहाँ निर्माण भएका संरचना र विकासले साक्षी बकेकै छन् र यसको सूची निकै लामो छ । यस बिचमा अभूतपूर्व काम भएका छन् तर हुनु पर्ने काम पनि प्रचुर बाँकी छन् । यी काम निस्वार्थसाथ पूरा गर्ने सारथि पनि गोकर्ण नै हुन् ।

आफ्नो क्षेत्रलाई माया गर्दागर्दै उनी सत्कर्मी राष्ट्रिय नेताका रूपमा स्थापित भएका छन् र जनताको अडिटमा कुशल नेताका रूपमा उत्तीर्ण भएका छन् । उनी देशको नै लोकप्रिय नेता भएका छन् । आफुले आफ्ना हातले आफ्नो क्षेत्रको मात्र नेता चुनेको मान्छे मुलुककै एउटा आइकन नेता बन्दा आफुले भोट दिएको हातले पनि गर्व गर्दो रहेछ । आज फेरि नेकपा एमालेको सूर्य चिह्नमा छाप लगाई गुल्मीका छोरा, देशका एक इमान्दार र विकासप्रेमी नेता गोकर्ण बिष्टलाई मतदान दिन हाम्रा हात हौसिएका छन् । गुल्मेली जनता यस कारण गोकर्ण विष्टलाई मत दिन हतारिएका छन् र मङ्सिर चारलाई चनाखोपूर्वक नियालिरहेका छन् र यी कुराहरूमा विशेष ध्यान दिइरहेका छन्;

१. कुनै पनि नेतालाई भोट दिनुभन्दा पहिले आम जनताले के सोच्नु जरुरी रहेछ भने उमेदवार भएका मध्ये इमानदार, स्थानीय बिकासको भिजन भएको व्यक्ति हो कि होइन ? नेताका परीक्षाको यो प्रश्नपत्रमा गोकर्ण बिष्टले राम्रो अङ्क ल्याएर देखाएका हुँदा गुल्मेलीले गोकर्ण विष्टलाई भोट दिन्छन् ।

२. भएका उमेदवारमध्ये लेनदेनमा पारदर्शिता भएको, बिगतको छवि सफा भएको व्यक्ति हरेक मतदाताले छान्नु र मत हाल्नु जरुरी छ । गोकर्ण बिष्ट मन्त्री पदमा बस्दा होस् वा मन्त्री पदबाट निस्कँदा होस् गुल्मेलीको शिर जहिल्यै उँचो पारेका छन् । त्यसैले यसपल्ट पनि उनी नै गुल्मेली जनताको भोटका हकदार हुन् ।

३. प्रत्येक मतदाताले दिएको मत बेइमानी, अपमान, र दुष्कार्यमा दुरुपयोग नहोस् भन्ने हरेक मतदाताको चाहना हुन्छ । गोकर्ण बिष्टले आज सम्म गुल्मेलीले दिएको मतको इज्जत बढाएका छन्, सम्मान गरेका छन् र कहिल्यै कुनै पनि निजी लाभ र पारिवारिक स्वार्थमा उनी डुबेका छैनन् त्यसैले गुल्मेली जनताका हात गोकर्णलाई जिताउन हतारिएका छन् ।

४. प्रत्येक मतदाताले भ्रष्टाचारप्रति नकारात्मक दृष्टिकोण भएको र समूह एवम् समुदायसँग मिलेर काम गर्न सक्ने व्यक्ति छान्नु उरुरी हुन्छ । गोकर्ण बिष्ट दुईदुई पटक मन्त्री भएर गौरवमय काम गर्दै सुकिलो शरीर लिएर बेदाग निस्केका छन् । वास्तवमा आफूले मत दिएको नेताले भ्रष्टाचार नगरिदिँदा मात्रै पनि यो हृदय गर्वले गजक्क पर्दो रहेछः अझ गोकर्ण बिष्टले त राष्ट्रका पक्षमा देखिने गरी र सुनिने गरी काम गरिदिँएर हामी गुल्मेलीको गरिमा बढाएका छन् । त्यसैले तमाम गुल्मेली मतदाता उनलाई मत दिन मङ्सिर चार कुरेर बसेको छन् ।

५. प्रत्येक मतदाताले के कुरा ख्याल गर्नु पर्दो रहेछ भने उत्पादन, उद्यम र रोजगारी सिर्जनाको ज्ञान भएको, कुरिती, अन्धबिश्वासप्रति बिश्वास नगर्ने व्यक्ति हो कि होइन ? केपी ओलीको नेतृत्वको मन्त्रीमण्डलमा गोकर्ण बिष्टले श्रम र रोजगार मन्त्री हुँदा ल्याएको सामाजिक सुरक्षा योजनाले यो देशका श्रमिकलाई के कति सुरक्षित बनायो र वेदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन के कति पहल गरे त्यो ऐतिहासिक कार्य पनि यिनै नेतबाट भएकाले अवसर पाउना साथ यिनले हाम्रो मतको दिन दुगुना र रात चौगुना वृद्धि गर्न पछि पर्दैनन् । त्यसैले गुल्मेलीहरू गोकर्णलाई मत दिन आतुर देखिन्छन् ।

६. पटकपटक पार्टी फुटाउने, मन्त्री हुन मरिहत्ते गर्ने, मन्त्री भएर कुर्सीमा बस्दा केटाकेटीले चकलेट पाए झैँ वा नपाउनेले केरा पाएझैँ ग्वामग्वाम खाइहाल्ने र मन्त्री बाट हट्दा पुराना बेहुली अन्माए झैँ धुरुधुरू रुने मान्छे होइनन् गोकर्ण बिष्ट ! मन्त्री हुन उनी यस्तो लिच्चड ताल पनि देखाउँदैनन् । र मन्त्री बाट हट्दा उनका अनुहारमा जिम्मेवारीको भारी बिसाउँदाको हल्का महसुस देखिन्छ । इमान्दारीपूर्वक मन्त्री पद बहन गरेर मतदाताप्रति इमान्दारी देखाउन सकेकोमा गर्वले उनी प्रफुल्लित पनि देखिन्छन् । यस्ता मान्छे जतिपटक चुनिएपनि त्यहाको माटोले गौरव गर्दो रहेछ र जनता गदगद हुँदो रहेछ । यो गर्वलाई जीवन्त राख्न गुल्मेली जनता गोकर्ण बिष्टलाई मत दिन व्यग्रतासाथ प्रतीक्षारत छन् ।

-डा ऋषिराम शर्मा

७. कतिपय गुल्मेली जनतालाई अहिले गठबन्धनका नाममा चुनावमा होमिएकी पात्र पाँच वर्षसम्म गुल्मीकी सांसद् नै थिइन् भन्ने थाहा पनि छैन होला । जसले पाँच वर्ष सांसद हुँदा पनि गुल्मीका जनतालाई आफू सांसद भएको सम्म अनुभूति दिन सकिनन् । सांसद थिएन् भन्ने थाहा समेत दिन सकिनन् तिनले अहिले फुर्ती लगाएर हिँड्नु र विकासका काममा रातदिन खट्ने गोकर्ण बिष्टका रौँचिरा कमजोरी कोट्याउँदै घाउ पार्न खोज्नु आफैमा लज्जास्पद कुरो हो । उनी सांसद हुँदा गुल्मीका कुनकुन क्षेत्रमा पुगिन् र केके गरिन् त्यसको हिसाब पनि उनले दिनु पर्ने होइन र ? केके काम गरिन् त्यसको हिसाब किताब जनताले माग्नुपर्ने होइन र ?

गुल्मीका सम्पूर्ण मतदाता मित्रहरूले यो पनि बुझ्नु जरुरी छ कि पाँच वर्ष सांसद र आठ महिना मन्त्री भएर उनले गुल्मीका लागि केके गरिन् उनले गुल्मीको विकासका लागि कुनै एउटा सिन्को भाँचिन् ? आज गठबन्धन भित्रका मित्रले दिएको मत छ महिना पछि त्यसकै विरुद्धमा प्रयोग हुने निधो छ । गठबन्धनका नाममा उठेकी उमेदवार अर्काका जिउका भुसुना हेर्न सिपालु होलिन् तर उनका कपालभरि सलबलाएका ढाडीहरू पनि दुनियाले देखेकै छ । त्यसैले हल्ला गर्ने पात्र भन्दा काम गर्ने पात्र गुल्मीलाई चाहिएको छ । त्यसैले तमाम गुल्मेली जनता गोकर्ण बिष्टलाई नै मत दिने दिन कहिले आउला भनेर कुरिरहेका छन् ।

८. स्वच्छता , पारदर्शिता, निजीलाभबाट मुक्त र निजी पारिवारिक व्यवस्थापनको मोहजालमा नफसी देशहितको काम गर्ने उनी देशकै एक सादगी र मृदुभाषी नेता हुन् । विपक्षी काङ्ग्रेसले पनि अहिले आफ्नो उमेदवार नभएका बेला गोकर्णलाई मत दिँदा उनीहरूको गौरव बढ्नेछ । काङ्ग्रेसी सफाया पारेर मुलुकमा नौलो जनवाद ल।याउँछु भनेर ध्वंश गर्नेसँग एकीकरण गर्ने घोषणा गरेको समाजवादी नामको ठिमाहालाई मत दिएर काङ्ग्रेसले आफ्नो खुट्टामा बन्चरो हान्ने छैनन् । आफूले आफना हातबाट एउटा स्वस्तिक छाप नेकपा एमालेको सूर्य चिन्हमा लगाउँदा मुलुकमा स्थिरता आउनेछ भने परमादेशी र कम्फर्टेबल दलालको सिन्डिकेट पनि तोडिने छ ।

९. यो भोट गोकर्ण विष्टका लागि मात्र होइन, यो भोट नेकपा एमाले पार्टीले औपचारिक निर्णय गरिसकेको कमरेड केपी ओलीको भावी प्रधानमन्त्रीका लागि दिइने प्रतिनिधि मत हो । यो भोट चुच्चे नक्सा नै मेट्न खोज्नेका विरुद्ध नक्सामा समाविष्ट जमिन भौतिक रूपमै नेपाली भूमिमा समावेश गर्न पहलकदमी लिने मत हो । यो देशको मूल नेतालाई विदेशीका रिमोटमा चलाउन नदिई राष्ट्रिय हितमा चलाउन दिने मत हो । यो मत मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने मत हो । हामीले दिएको मतका प्रतिनिधि हाम्रा यी भावनाहरूको सम्मान गर्न कदापि चुक्ने छैनन् । केपी ओलीको सुखी नेपाली समृद्ध नेपाल अभियानका एक सशक्त सारथि बनाउने मत हो । त्यसैले आम गुल्मेलीहरू गोकर्ण विष्टलाई मत दिन र मुलुकमा स्थिरता कायम गर्न आतुर छन् ।

अन्त्यमा संघीय निर्वाचनमा नेकपा एमालेका उमेदवार गोकर्ण विष्ट र प्रदेश निर्वाचनमा उहाँकै टीमका डिल्लीराज भुसाल तथा दिनेश पन्थीलाई अत्यधिक मतले विजयी बनाउन हार्दिक अनुरोध गर्दछौँ । गोकर्ण सुकिला छन् ! सफा छन् र आफनो क्षेत्र र सिङ्गो राष्ट्रको अहित हुने कुनै पदीय निर्णय वा निजी काम उनीबाट भएको छैन । त्यसैले आफ्नो क्षेत्रको विकासमा समर्पण र राष्ट्रिय आत्मसम्मानको पथमा अडिग गोकर्ण बिष्ट गुल्मेली जनताको मतका एकमात्र हकदार हुन् । किनकि गोकर्ण बिष्ट गुल्मीका गौरव हुन् र सिङ्गो देशको गहना हुन् ।

लेखक शर्मा गुल्मी क्षेत्र नं २ प्रगतिशील बौद्धिक मञ्च काठमाडौँका अध्यक्ष हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १८:००