१९ मंसिर २०७९, सोमबार | Tue Dec 6 2022

शेरबहादुर, माधव र प्रचण्ड मुलुकको निकास र विकासका बाधक !

-सरोजकुमार तामाङ

नेपालको संघीय संविधानको प्रस्तावनामा अंकित पहिलो वाक्य हो ‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता’। जनताको त्याग र बलिदानबाट प्राप्त यो जनताको शासन ब्यवस्थामा राज्यको प्रत्येक निकाय र अंगहरुको निर्णायक ठाउँहरुमा जनप्रतिनिधिको ब्यवस्था जनमतको आधारमा हुनुपर्छ भन्ने मान्यता हो, लोकतन्त्र । यसरी राज्यको विगतको विभेदकारी नीतिबाट जन्मिएको वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, भाषिक, लैंगिक विभेद लगायत सम्पूर्ण सामाजिक छूवाछूतको अन्त्य गर्दै र असमानतालाई चिर्दै समानुपातिक समावेशीको जगमा समतामूलक समाजको निर्माण गर्नु नै यो ब्यवस्थाको मूल मर्म हो । यसलाई मलजल गर्दै अझ विकसित र परिष्कृत रूपमा ढाल्दै जानु यो ब्यवस्थालाई हाँक्ने राजनीतिक दलहरुको कर्तब्य हुन आउँछ ।

जनतालाई आफ्नो मतको दान गर्ने अधिकार संविधानले सुरक्षित गर्दागर्दै पनि आज परमादेशी सरकारका दलहरुले यो या त्यो नामको उम्मेदवारलाई मतदान गर्न बाध्य तुल्याउनु भनेको त्यो जनमताधिकारको उल्लंघन हो । स्वतन्त्रपूर्वक मतदान गर्न पाउँदैन भने, र प्रचन्ड, माकुने र शेरबहादुर देउवाले भनेकै उम्मेदवारलाई मात्र मतदान गर्नुपर्छ भने के त्यो जनताले आफ्नो प्रतिनिधि चुन्ने अधिकारबाट बन्चित हुनु हैन र ? यो राजनीतिक सिन्डिकेट हैन र ? २४० बर्षदेखी सामन्तवादको किल्लाको रूपमा उभिएको राजतन्त्र फ्याँकेर ल्याइएको यो लोकतान्त्रिक ब्यवस्थाभित्र एकाँध ब्यक्तिहरुको सत्ता स्वार्थको निम्ति चालिएको यो कदम सामन्तवादी सोच भन्दा फरक भयो र ? अरूलाई संविधान मास्न खोज्यो भन्नेहरुले जनताले आफूलाई मन पर्ने उम्मेदवार र दल रोज्न पाउँदैन भने त्यो कसरी संविधान अनुकूल भयो ?

जनताको मताधिकारलाई आफूमा निहित गरेर प्रचन्ड, शेरबहादुर र माकुनेले संविधानको रक्षा हामीले गरेका हौं भन्नु केराको बोटमा स्याउ फलाउने कुचेष्टा गर्नु हो । तसर्थ, विचार र सिद्धान्तको हिसाबले फरक भएपनि हामी जनताले के बुझ्न जरूरी देखिन्छ भने जबसम्म हाम्रो जनमतको कदर गर्न हाम्रै दलहरु जागरुक हुँदैन तबसम्म हामी सार्वभौमसत्तासम्पन्न हुनसक्दैनौं । अब सम्पूर्ण न्यायप्रेमी, देशप्रेमी, विकासप्रेमी जनताहरुले आफ्नो स्वविवेक प्रयोग गर्दै आगामी मंसीर चारको निर्वाचनबाट सामन्तवादका आधार र अवशेषहरुलाई बढवा दिने गठबन्धनका शेयरहोल्डहरूलाई पराजित गरौं, र आफ्नो सुनौलो भाग्य र भविष्यको निम्ति सूर्य चिन्हमा मतदान गरौं । जनताको त्याग र तपत्याबाट ल्याइएको यो ब्यवस्थामा जनमतको अधिकार जनतामै निहित हुनुपर्छ ।

कसैले यो या त्यो नामको उम्मेदवारलाई मतदान गर्नुपर्छ भन्नु जनताको मताधिकारमाथि दमन, थिचोमिचो, उत्पीडन, अन्याय र अत्याचार गर्नु हो । क्रस भोटिङ्ग गर भन्नु लोकतन्त्रको बिरुद्ध हो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै अब हामी जनतन्त्रको चरणमा प्रवेश गर्नुपर्नेमा उल्टै हिजोको सामन्तवाद फर्काउने कुचेष्टा गर्छ भन्ने त्यस्ता घरेलु प्रतिक्रियावादी शक्तिको बिरुद्ध सारा नेपाली जनता एकमत हुँदै जमानत जफतको अवस्थामा पुर्याउने तागत राख्नुपर्छ । यो परमादेशी सरकारका नाईकेद्धय शेरबहादुर, माकुने र प्रचन्डको गति र मति हेर्दा यो मुलुकको निकास र विकास सम्भव छैन् । हेलिकप्टर चढेर आउनेलाई भोट माग्ने, पृथ्वीनारायण शाहको सालिक बनाउँछु भन्ने र फ्रि-भिसा फ्रि-टिकटको ब्यवस्था गर्छु भन्नेहरु वास्तवमा जनताका दुश्मनहरु हुन् ।

जुन चीजको बिरुद्ध लडाई लडेर ब्यवस्था परिवर्तन गरेऔं आज यिनीहरु उनी पुरानो ब्यवस्थालाई फर्काउन चाहन्छ भन्ने अबको मंसीर चार पश्चात यिनीहरुले बिदा लिनै पर्छ । राजनीतिक अस्थिरताका जड नै यिनीहरु र यिनीहरुद्धारा संचालित दलहरु हुन् । जनताको छोराछोरीले आफ्नो ज्यानको बाजी थापेर ल्याइएको यो ब्यवस्था जनजिविकाका सवालहरुलाई राज्यको निर्णायक तहहरुमा दस्तावेजीकरण गर्न थियो या नेतालाई हेलिकप्टरमा सवार भएको देख्न ? विगतमा त्यही पृथ्वीनारायणको सालिक सामन्तवादको प्रतिक भन्दै भत्काउने, पृथ्वीजयन्ती बिदा हटाउने अवसरवादका नाईके प्रचन्ड नै अहिले फेरी सालिक बनाउँछु भन्दै मत माग्दै हिड्नु प्रतिगामी तत्व कि अग्रगामी ? यदि सालिक नै बनाउन मन छ भने जनमत किन चाहियो ? सालिक त गिटी, बालुवा, सिमेन्ट, ढुँगाले बन्ने हो । त्यसैले बरु गोरखाली जनतालाई मैले विगतमा गल्ती गरेछु भन्दै जनश्नमदानको अपील गरे भै गो नि ।

जनमतको सार्वभौमसत्ता पक्कै पनि हिजो भत्काएको सालिकलाई पुन:स्थापित गर्न हैन होला ? त्यसैले प्रचन्डको अक्षम्य गल्तीलाई अब जनमतको साबुनले जति नै धोएपनि पवित्र हुनेवाला छैन् । फ्रि-भिसा, फ्रि-टिकटद्धारा युवालाई वैदेशिक रोजगारीमा आकर्षित गर्ने काम वैदेशिक रोजगार कम्पनीहरुको हो । यसरी वैदेशिक रोजगार कम्पनी खोल्न माकुने र देउवा रानीलाई किन जनमतको आवश्यकता पर्यो ? म्यानपावर कम्पनी खोल्न कम्पनीको रजिष्टार कार्यालयमा जनमतको आवश्यकता नै पर्दैन् ।

जनतालाई दासत्वबाट उन्मुक्ति दिलाउँछु भन्दै आन्दोलनमा होमाउने दलहरु नै यसरी जनतालाई सस्तो नाराको इसारामा नचाउन चाहन्छ भने त्यो कदापी स्वीकार्य हुने छैन् । अबको कार्याभार भनेको प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण नै हो । त्यसका लागि जनताको निर्णायक शक्ति नेकपा एमालेलाई आगामी मंसीर चारको निर्वाचनबाट पुन:नवीकरण गर्दै ‘समृद्ध नेपाल: सुखी नेपाली’ को आकांक्षा पुरा गरौं । शोषण, दमन र उत्पीडन रहित समाजको निर्माणमा नेकपा एमालेसँग काँधमा काँध मिलाऔं । अन्त्यमा, जनताको सार्वभौमिकतासँग बाझिएको कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १०:२१