१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रदीप खड्कालाई भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड


२८ कार्तिक, काठमाडाैँ । अभिनेता प्रदीप खड्काले चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबबाट भारतमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका छन् । यही नोभेम्बर १० देखि १३ तारिखसम्म भारतको आग्रामा भएको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उनले डेब्यू अभिनेताको अवार्ड जित्न सफल भएका हुन् । अवार्ड प्राप्त गरेपछि खिचिएको तस्विरमा उनी खुसी भावमा देखिएका छन् ।

यो फेस्टिभलमा ‘प्रेमगीत ३’को हिन्दी डबसहित भारत, रुस, डेनमार्क, अमेरिका, यूके, इजिप्ट लगायतका देशका दर्जन बढी फिल्म प्रतिस्पर्धामा थिए । केही हप्तादेखि भारतमा रहेका प्रदीपको ‘प्रेमगीत ३’को हिन्दी डब प्रदर्शन भएसँगै बलिउडकर्मीसँग निकटता बढेको छ । उनी हालसालै मुम्बईमा भएको बलिउड चलचित्र ‘डबल एक्सएल’को प्रिमियरमा समेत सहभागी भएका थिए ।

‘प्रेमगीत ३’को भारत प्रदर्शनले प्रदीपलाई बलिउड प्रवेश गर्नका लागि ठूलो ढोका खोलेको छ । प्राप्त जानकारी अनुसार, चाँडै उनले एक बलिउड चलचित्र साइन गर्न सक्नेछन् । उनी यसैका लागि निर्माता सन्तोष सेनको साथमा दुई/तीन हप्तादेखि मुम्बईमा छन् । भारतमा ‘प्रेमगीत ३’ले खासै राम्रो कमाई नगरे पनि प्रदीपको लुक्स र वाककलाले बलिउडकर्मीको ध्यान तानेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १५:११