१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बेलायतमा वल्र्ड टुरिजम मार्केट २०२२ सम्पन्न, नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने विश्वास


२५ कार्तिक, काठमाडाैं ।  विश्वकै ठूलो पर्यटन मेला मानिने ‘वल्र्ड टुरिजम मार्केट  (World Travel Market WTM) २०२२’ बेलायतमा सम्पन्न भएको छ । कोभिड—१९ को महामारीपछि आयोजना गरिएको यो डब्युटीएममा नेपालको सहभागिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास गरिएको छ । डब्युटीएममा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका नेपालका विभिन्न २४ वटा पर्यटन कम्पनीको सहभागिता रहेको थियो ।

डब्युटीएममा रहेको नेपालको स्टलको कार्तिक २१ गते (०७ नोभेम्बर २०२२) बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले उद्घाटन गरेका थिए । राजदूत आचार्यले नेपाल स्टलमा रहेको प्रत्येक सहभागी कम्पनीको निरक्षिण भ्रमण गर्नुका साथै सहभागी सबै कम्पनीहरूलाई नेपालको प्रवद्र्धनमा आफ्नो प्रयास गर्न प्रोत्साहित गरे ।

 यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मेला उत्साहपूर्वक सम्पन्न भएको र यसले कोभिडपछिको नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक भूमिका खेल्ने बताए । ‘नेपाल कोभिडपछि पनि विभिन्न खालका कार्यक्रमहरुमा सहभागी भएको छ ।

यद्यपी यो मार्ट अरुभन्दा फरक भएको अवस्थामा नेपालको सहभागीताले नेपाली व्यवसायीहरुले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएका छन् । यसले नेपालको पर्यटनलाई पुनःलयमा फर्काउन सहयोग पुग्ने विश्वास छ । ’उनले भने ।

डब्युटीएममा विश्वभरका सबै प्रकारका पर्यटन आपूर्तिकर्ता र राष्ट्रिय अन्तरराष्ट्रिय पर्यटन संगठनहरू,पर्यटन मन्त्रालयहरू, प्राधिकरणहरू, ट्राभल एजेन्टहरू, टुर अपरेटरहरू, होटल व्यवसायीहरू, ट्राभल टेक कम्पनीहरू, यातायात अपरेटरहरू, एयरलाइनरहरू, साहसिक खेलकुद कम्पनीहरू, सञ्चारमाध्यमहरू, ट्राभल इन्फ्लुएन्सरहरू, ब्लगरहरू, पर्यटन बजारपरामर्शदाताहरू, पर्यटन विज्ञहरू, शिक्षाविद्हरू, व्यवसायीहरूले आ–आफ्ना पर्यटन उत्पादनहरू प्रदर्शन गरी शोमा उत्साहपूर्वक भाग लिएका थिए ।

यस्तै डब्युटीएमको अवसरमा आयोजित नेपाल स्टलमा बेलायत र अन्य विभिन्न देशका पर्यटन व्यवसायी, मार्केटिङ परामर्शदाता, मिडिया, टुर अपरेटरहरू, निजी कम्पनीहरू, ट्राभल लेखकहरू, प्रभावकारहरू, मिडिया, फोटोग्राफरहरू, ब्लगरहरू र सामग्री निर्माताहरूको सहभागिता थियो ।

कार्यक्रमकै अवसरमा लण्डनस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा कार्तिक २२ (८ नोभेम्बर २०२२) मा लण्डनस्थित नेपाली दूतावासमा नेपाल साँझ विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रख्यात बेलायती पर्वतारोही तथा साहसिक कार्यकर्ता सर क्रिस बोनिङटन र एलन हिङ्क्सले नेपालमा आफनो आरोहण तथा अनुभव स्मरण गर्दै सम्पूर्ण बेलायती जनतालाई जीवनभरको अनुभवका लागि नेपाल भ्रमण गर्न आह्वान गरेका थिए । कार्यक्रममा १ सय भन्दा बढी बेलायती ट्राभल टुर अपरेटरहरू, बेलायती पर्वतारोहीहरू, सञ्चारमाध्यम या र अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रमा सहभागी नेपाल पर्यटन बोर्डका प्रवन्धक गोविन्द ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १२:५६