१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कार्तिक २४ गते ‘मार्च फर साइन्स’ आयोजना हुने


२२ कार्तिक, काठमाडौँ । रिभोसाइन्स मिडियाको अगुवाइमा नेपालका विज्ञानसँगसम्बन्धित गैरसरकारी तथा विभिन्न शैक्षिक संस्थाहरूको ऐक्यवद्धतामा ‘मार्च फर साइन्स’ आयोजना हुने भएको छ । नोभेन्बर १० अर्थात् कात्र्तिक २४ गते ‘विश्व विज्ञान दिवस’को अवसरमा ‘अवको एजेण्डा विज्ञान संस्कृति र रोजगारी’ मूल नारासहित मार्च गर्नेछन् ।

‘मार्च फर साइन्स’ शान्तिपूर्ण प्रभातफेरी हो । ‘विज्ञानका लागि आवाज’ उठानका लागि विद्यार्थी तथा शिक्षकहरू त्रिचन्द्र क्याम्पस घण्टाघरमा भेला भएर ¥याली पुरानो बसपार्क–भद्रकाली–शहिदगेट–महाँकाल–भोटाहिटी–जमल–त्रिचन्द्र र रत्नपार्क पुगेर कोणसभा गरिने आयोजकले जनाएको छ ।

मार्चमा वैज्ञानिक संस्थाहरूमा थप रोजगारी, अनुसन्धान तथा विकास, जलवायु परिवर्तनका असर र आधारभूत विज्ञान शिक्षाको एजेण्डा उठान गर्ने मार्च फर साइन्सका संयोजक लक्ष्मण डंगोलले बताए ।

‘राज्यले आधारभूत विज्ञानलाई वेवास्था गर्दा मुलुक वैज्ञानिक अनुसन्धान तथा विकासमा पछाडि परेको छ,’ रिभोसाइन्सका सम्पादकसमेत रहेका डंगोलले भने, ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तिमा कूल ग्राहस्त उत्पादनको १ प्रतिशत लगानी गर्नु पर्ने देखिन्छ ।’

सन्दर्भः विश्व विज्ञान दिवस

अंग्रेजी महिनाको नोभेम्वर १० मा विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइने गरिन्छ । सन् २००१ देखि संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोले मनाउन थालेदेखि नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व विज्ञान दिवस मनाइन्छ ।

आजको अवस्थामा विज्ञान तथा प्रविधि विकासको आधार तथा मानिसको सारथी बनेको छ । तथापी, अधिक विज्ञानको विकासले राम्रा मात्रै नभई कतिपय समस्याहरु पनि आएका छन् । त्यस्ता समस्याहरुको जनमानसमा लैजान दिवसले भूमिका खेल्नेछ । यस वर्ष ‘दीगो विकासका लागि आधारभूत विज्ञान ’ प्रसङ्गमा विश्व विज्ञान दिवस मनाइरहेको छ ।

संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन, युनेस्कोका अनुसार नेपालले कूल ग्राहस्थ उत्पादनको ०.३ प्रतिशत बजेट अनुसन्धान तथा विकासमा खर्च गरेको उल्लेख छ । तथ्यांकअनुसार दश लाख मानिसमा नगन्य ‘शून्य मानिस’ अनुसन्धानकर्ता छन्, नेपालमा ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान, नास्टले वि.सं ०६६÷०६७ मा प्रकाशन गरेको विज्ञान र प्रविधिको अवस्था सर्भेक्षण अनुसार नेपालमा ३ सय ३० वटा वैज्ञानिक संस्था छन् । ति संस्थाहरूको स्तरउन्नती तथा विकासका लागि सरकारले प्राथमिकता नदिएको विज्ञहरूले गुनासो गर्छन् ।

तथ्यांकअनुसार अधिकतम रोजगारी २४ हजार ५ सय ८० सरकारी संस्थामा कार्यरत छन् । उच्च शैक्षिक संस्थामा ६ हजार ८ सय ५२ र त्यसलाई पछ्याउँदै नीजि तथा गैरसरकारी संस्था ६ हजार ६ सय ३९ जना छन् । कूल ४१ हजार ९ सय ११ ले रोजगारी पाएको उल्लेख छ ।

शान्तिपूर्ण मार्चका लागि फिजिक्स इनिसेटिभ्स् इन नेपाल, वायोटेक्नोलजी सोसाइटी अफ नेपाल, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, साउथ वेस्टन स्टेट कलेज, त्रिचन्द्र बहुमुखी क्याम्पस, बृहस्पति विद्या सदन, रिसोर्सेस हिमालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान (नास्ट), साइन्स टिचर एशोसियसन अफ् नेपाल, जैविकप्रविधि केन्द्रिय विभाग (त्रिवि), नेपाल भौतिक विज्ञान समाज, न्यूज एजेन्सी नेपाल(न्यान), नेपाल गणित समाज, नेपाल भूगर्भ समाज, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, नेपाल पोलिमर इन्स्टिट्यूट, एस्ट्रोनोमर विथवाउट वोडर्स, जगत सुन्दर वोनेकोटी, गणेश इङ्लिस् मावि, गोदावरी रेसिडेन्टल स्कूल, ग्राण्ट एकेडेमी, भिएस निकेतन, ललितपुर मावि, अरुणी स्कूल, युरेका एकेडेमी, कान्तिपुर भ्याली कलेज, तक्षशिला एकेडेमी, रोबोटिक्स क्लब, रेनबो इन्टरनेशनल बोडिङ् स्कूल, जेभियर्स एकेडेमी, ग्रामिण आर्दश क्याम्पस, मेगा कलेज, रोबोटिक्स एसोसियसन अफ नेपाल, हिमालय ह्वाइटहाउस इन्टरनेशनल कलेज, सान इन्टिरनेशनल कलेज, वागेश्वरी कलेज, उच्च माध्यामिक विद्यालय संघ नेपाल, हिसान, भौतिकशास्त्र विभाग(केयु), डिएभी कलेज, सेलिब्रेसन कोएड कलेज, एस्ट्रोवायोटक, इनिसेटिभ्स इन नेपाल फाउण्डेसन र साउथवेस्टनस्कूललगायत करीब चार दर्शन संस्थाले ऐक्यवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १९:३७