१९ मंसिर २०७९, सोमबार | Tue Dec 6 2022

यसकारण सिन्धुमा सरेशले जित्छन् र जित्नैपर्छ

-विमल नेपाल

मंसिर चार गते हुने संसदीय निर्वाचनको रन्को उत्कर्षोन्मुख छ । देशैभर उम्मेदवारसँगै कार्यकर्ताहरु मत माग्न मतदाताको दैलोमा देउसी खेलिरहेका छन् । मतदाता पनि नेताले आफूलाई भाउ दिएकोमा मख्ख छन् । र, गम खाँदै सबैलाई मत दिने आश्वासन दिइरहेका छन् ।

यसैपनि चुनावी सरगर्मी रोचक र घम्साघम्सीपूर्ण हुन्छ । अझ यसपालिको चुनावी प्रतिस्पर्धा त अस्वभाविक पनि छ । अस्वभाविक चाहिँ यसअर्थमा कि– एउटा प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध सत्ताघटक दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रसहित चार दलको घोषित गठबन्धन छ । उनीहरुको एक मात्रै उद्देश्य वा एजेण्डा छ– एमाले हराउने !

एउटा दलविरुद्ध भएभरका अरु दलले सिटको भागबण्डा मिलाएर चुनाव गर्नु भनेको संसदीय एवम् बहुदलीय व्यवस्थाको खिल्ली उडाउनु हो । स्थान विशेष चुनावी तालमेल हुनु वा चुनावी परिणामका आधारमा दलहरु मिलेर सरकार बनाउनु स्वभाविक भए पनि पहिल्यै सिटको हिसाब मिलाएर चुनावी नाटक गर्नु नागरिक मतको अपमान नै हो ।

राजनीतिक सिद्दान्तसँगै कुनै पनि कार्यक्रम नमिल्ने दक्षिणपन्थी कांग्रेस र कथित वामपन्थी माओवादीको चुनावी तालमेल अस्वभाविक मात्रै होइन, हास्यास्पद छ । कम्तिमा आफ्नो अर्गानिक जनमत कति छ भनेर परीक्षण गर्नेसमेत हुत्ति नभएका दलले नागरिकलाई भुलाउनका लागि दिने कुनै पनि गफ पत्याउन जरुरी छैन ।

कुनैबेला संसदीय व्यवस्थालाई ‘फोहोरी र दलाली’को संज्ञा दिने माओवादीले सबैभन्दा तल्लोस्तरमा झरेर यहीं खेल खेलिरहेको छ । कांग्रेस र एमालेसँग बिचौलियाको भूमिका खेलेर अघिल्लो संसदको पाँचै वर्ष सरकारमा टाँसिन सफल माओवादीको महान् सपना भनेको पार्टी जोगाउने र अर्कोपालि पनि सरकारमा जानेबाहेक केही छैन । यसका लागि माओवादीले सजिलै ‘नेपाली कांग्रेस–जिन्दावाद’ भन्छ । भनिरहेकै छ । कांग्रेसलाई घोरसामन्ती देखेर ‘जनयुद्ध’ गरेको माओवादीले आज यो दिन देखाएर रमिता नगरेको भए हुने थियो ।

संसदीय राजनीतिमा सबैभन्दा घृणित खेल खेलिरहेको छ, माओवादी । यस्तै निकृष्ट दलाली संसदीय राजनीतिको दलदलमा फस्नु थियो भने जनवादको सपना देखाएर दशौं हजार मान्छे किन मारेको ? प्रश्न छ ।

कतिपय माओवादी कार्यकर्ता ‘हाम्रा नेताले ढाँट्न पाउनु पर्छ, जस्तोसुकै फोहोरी खेल खेले पनि क्रान्तिका ठूला कुरा गर्न छाड्नु हुँदैन’ भनेर बुरुक्क उफ्रिरहेका हुन्छन् । उनीहरुको ‘दास चेतना’ देख्दा दयाबाहेक केही लाग्दैन ।

अघिल्लो संसदीय निर्वाचनमा पनि कांग्रेसविरुद्ध एमाले र माओवादीको गठबन्धन थियो । अहिलेको तुलनामा त्यो गठबन्धन स्वभाविक थियो । यसअर्थमा कि, त्यतिबेला दुईवटा कम्युनिस्ट नाम भएका दलले पार्टी एकताको उद्घोष गरेर चुनावी तालमेल गरेका थिए । कतिपयले अहिले एमालेले राप्रपा वा जसपासँग गरेको चुनावी तालमेललाई गठबन्धन भन्दै प्रतितर्क गरेर आनन्द लिइरहेका छन् । तर यो कुनै घोषित गठबन्धन नभएर चुनावी तालमेल मात्रै भएको प्रष्ट छ ।

देशभरझै सिन्धुपाल्चोकको चुनावी प्रतिस्पर्धा पनि रोचकसँगै अस्वभाविक छ । टिकट बाँटफाँटकै विषयमा राष्ट्रिय चर्चा पाएको सिन्धुपाल्चोकमा पनि एमालेविरुद्ध सबै दल घुँडा धसेर चुनावी अभियानमा छन् । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक छ ।

निर्वाचन क्षेत्र नम्बर– १ मा माओवादीका माधव सापकोटा सुबोधले टिकट खोसेपछि चुनाव लड्न २ नम्बर क्षेत्र पुगेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले एमालेका लोकप्रिय एवम् प्रभावशाली नेता शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

अहिलेसम्म कांग्रेसले चुनाव नजितेको उक्त क्षेत्रमा बस्नेतलाई तामाङको सामना गर्न मुस्किल छ । खासै माओवादीको प्रभाव नभएको उक्त क्षेत्रमा कांग्रेसको पनि ‘एन्टीमोहन’ समूहको बिगबिगी छ । र तामाङ समुदायको बर्चश्व रहेको उक्त क्षेत्रबाट आफूले चुनाव जित्नेमा शेरबहादुर ढुक्क छन् ।

प्रतिनिधिसभा– १ मा सरेश कि सुबोध ?

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुईभन्दा पनि एकको प्रतिस्पर्धा रोचक छ । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र हो यो । तर चरम बिबादका कारण यहाँबाट दुवैले टिकट पाएनन् ।

आफ्ना भतिजा माधव सापकोटा सुबोधलाई टिकट छाड्नैपर्ने दबाब बढेपछि अग्नि सापकोटा निर्वाचनको रिङबाटै आउट भए । उनले खुसीसाथ भतिजालाई टिकट छाडे कि दबाबमा भन्ने खुलेको छैन । तर, कुनै पनि चुनावी कार्यक्रममा देखा नपर्नुले कतै चित्त दुखाएका त छैनन् भन्ने शंका छ ।

त्यस्तै कांग्रेस नेता मोहनबहादुर बस्नेत नराम्ररी चिढिएका छन् । बिगतमा यहीं क्षेत्रबाट चुनाव जितेर दुई–दुईपटक मन्त्री भएका बस्नेत यसपालि अन्तै गएका छन् । सुबोधले छापामार शैलीमा जबरजस्त टिकट खोजेर अर्को क्षेत्रबाट चुनाव लड्न बाध्य पारेकोप्रति उनी निकै रुष्ट छन् ।

जे होस्, आफ्ना काका अग्नि सापकोटा र कांग्रेस नेता बस्नेतलाई पाखा पारेर भएपनि टिकट पाउन सुबोध सफल भए । टिकट त पाए तर एमाले नेता सरेश नेपालसँग प्रतिस्पर्धा गर्न उनलाई निकै मुस्किल भइरहेको छ ।

यहाँ झट्ट हेर्दा गठबन्धनका उम्मेदवार सुबोधले सजिलै जित्ने हिसाब देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीका वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा एमालेकोभन्दा दोब्बर जस्तो हुन्छ । यो क्षेत्रमा कांग्रेसले करिब ३४ हजार मत पाएको थियो भने माओवादीले १९ हजार मात्रै मत पाएको थियो । त्यस्तै एमालेले करिब २७ हजार मत पाएको तथ्यांक छ ।

सबै भोटको हिसाब हेर्दा माओवादीलाई चुनाव जित्न कांग्रेसको २० हजारभन्दा बढी भोट चाहिन्छ भने एमालेलाई १० हजारभन्दा कम मत भए पुग्छ । यहाँ प्रदेशसभा ‘ख’ र केन्द्रमा नै कांग्रेसका उम्मेदवार छैनन् । यो स्थितिमा सबै कांग्रेसीले दुवै भोट माओवादीलाई हाल्दैनन् । दुवैमा आफ्नो उम्मेदवार नपाएर निराश धेरै कांग्रेसी भोट हाल्नै नजाने मनस्थितिमा छन् । गाउँमै भएका र भोट हाल्न जाने तयारी गरेकाहरुले पनि खुलेयाम भनिरहेका छन्, ‘गठबन्धन मान्दैनौं, विचार गरेर भोट हाल्छौं ।’

यहीं हिसाबमा यो क्षेत्रमा माओवादी निकै कमजोर र तेस्रो शक्ति शक्ति हो । यहाँ माओवादीले जबरजस्त टिकट हत्याएसँगै कांग्रेस नेता बस्नेत मात्रै होइनन्, आम कांग्रेस कांर्यकता रिसाएका छन् । यहाँका केही ‘एन्टीमोहन कांग्रेस’को सेन्टिमेन्ट सुबोधलाई भए पनि आम कांग्रेसी कार्यकर्ता सरेशकै पक्षमा खुलेका छन् ।

सधैं जनताको घरदैलौमा रहेर, जनताको दुख, सुखसँग साक्षात्कार गरेका पुराना नेता सरेश नेपालप्रति अधिकांश कांग्रेसले सहानुभूति राख्न थालेपछि सुबोध आत्तिएका छन् ।

जुनकुनै चुनावी कार्यक्रममा सुबोधले ‘हाम्रा आरणीय दाइ मोहन बस्नेतको पथमा इमानदार भएर हिँड्नेछु’ भनेर फकाउन खोजेपनि मोहन दाइ फकिएका छैनन् । र फकिने पक्षमा पनि छैनन् । सुबोध र सरलले अहिले माओवादीको भन्दा बढी कांग्रेसको गुणगान गाउँछन् । छातीमा रुख चिह्न टाँसेर हिँड्छन् । र भन्छन्, ‘नेपाली कांग्रेस– जिन्दावाद !’

हिजो सामन्ती भन्दै कांग्रेसको गर्दन छिनाल्दै हिँडेका माओवादीका लडाकूले अहिले चुनाव जित्ने स्वार्थका लागि ‘कांग्रेस– जिन्दावाद’ भन्दैमा कतिले विश्वास गर्लान् ? यो हिसाबमा माओवादीले लाज मान्नुपर्ने हो । तर मान्दैनन् ।

मोहन दाइले आजसम्म कुनै पनि चुनावीसभामा सुबोधका लागि भोट मागेका छैनन् । उनले ‘भोट साटासाट गर्ने हो’ हो भनेका छन् तर कांग्रेसले पनि माओवादीमा भोट हाल्नु पर्छ भनेका छैनन् । अझ सुबोधको त नामै लिएका छैनन् ।

यतिसम्म कि सुबोध र सरल मोहन दाइलाई फकाउन काठमाडौं गएका थिए । तर मोहन दाइले दर्शनभेट नदिएपछि निराश हुँदै प्रचण्ड गुहार्न पुगेका थिए । प्रचण्डले आग्रह गर्दासमेत बस्नेतले ‘फुच्चेहरुसँग भेट्दिनँ’ भनेको खुलेको छ ।

कांग्रेसको भोटले चुनाव जित्ने आशमा बसेका सुबोध र सरललाई यसपालिको चुनाव निकै महंगोपर्ने संकेत छ । जतिपनि पैसा खर्च गर्ने रणनीति बनाए पनि जनताको मत र माहोल सरेशको पक्षमा जाने देखेपछि उनीहरुमा अत्यास बढेको छ ।

यो निर्वाचन क्षेत्रमा माओवादीको ठिकै भएको बलेफी र लिसङ्खुपाखर गाउँपालिका मात्रै हो । स्थानीय चुनावमा बलेफी गाउँपालिका अध्यक्ष माओवादीले जिते पनि अधिकांश वडा कांग्रेसले नै जितेको हो । त्यस्तै लिसङ्खुको अवस्था पनि दयनीय नै छ । सबैभन्दा धेरै भोट भएको बाह्रबिसे र भोटेकोशीमा त माओवादी नील जस्तै छ । यहाँ माओवादीले वडा सदस्यसमेत जित्न नसकेको स्थिति हो ।

सुबोधका लागि सुनकोशीको स्थिति दर्दनाक छ । स्थानीय तह चुनावमा माओवादीले उपाध्यक्ष जित्न एमालेसँग मिलेर आफ्ना उम्मेदवार हराएको झोक फेर्न चाहन्छ, कांग्रेस । यहाँ गाउँपालिका अध्यक्ष उठेर थोरै भोटले हारेका, जिल्लाका प्रभावशाली नेता श्रवण जिसीका भाइ रामकुमार जिसीले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् । यसै पनि माओवादीको दयनीय स्थिति रहेको सुनकोशीका कांग्रेसले बागी उम्मेदवारलाई भोट हाल्ने भएपछि सुबोधलाई थप सकस परेको छ । एमाले उम्मेदवार सरेश नेपालको गृहपालिका पनि हो, सुनकोशी । एमालेको गढ मानिने यो पालिकाबाट गठबन्धनलाई धेरै भोट जाँदैन ।

खासमा मोहन दाइ कुनै पनि हालतमा सुबोधलाई चुनाव जित्न नदिने लाइनमा छन् । यसपालि माओवादीले चुनाव जित्नु भनेको आगामी बिसौं वर्ष कांग्रेसका लागि यो क्षेत्र खतरामा पर्नु हो भन्ने कुरा उनले बुझेका छन् । उनीसँगै आमकांग्रेसले बुझेका छन् ।

अहिले अर्को क्षेत्र जान बाध्य भए पनि अर्कोपालि मोहन बस्नेतले राजनीति गर्ने क्षेत्र यहीं हो । र, अहिलेको सत्तास्वार्थको गठबन्धन चुनावपछि नटिक्ने कुरा पनि बस्नेतले प्रष्ट बुझेका छन् । यसर्थ उनी आफ्नो क्षेत्रमा माओवादीका प्रदेश सांसदका उम्मेदवार युवराज दुलाल शरदसँग भने मिलेर चुनाव जित्न चाहन्छन् ।

यसर्थ यसपालि सिन्धुपाल्चोकबाट संघीय संसदका लागि एमालेबाट उम्मेदवार भएका सरेश नेपालले चुनाव जित्छन् र जित्नैपर्छ । सुबोध र शरदबीच कडा द्वन्द्व रहेको उनले बुझेका छन् । शरदका माओवादीसँग कांग्रेसको भोट साटेर सुधोबलाई हराएरै छाड्ने मामलामा बस्नेत र दुलाल सहमत भएको बुझिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १९:१२