१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कोरोना बीमाको १ अर्ब ८१ करोड भुक्तानी गरिँदै, कसले पाउँदैछन् पहिला ?


१८ कार्तिक, काठमाडाैं । बीमा समितिले कोरोना बीमा बापतको दावी भुक्तानी रकम वितरण गर्ने भएकाे छ । अर्थ मन्त्रालयले दाबी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकास गरेपछि बीमा समितिले दाबी भुक्तानी रकम वितरण गर्न लागेकाे हाे ।

अर्थ मन्त्रालयले पठाएको एक अर्ब र त्यसमा बीमा समिति, बीमा कम्पनीहरु र नेपाल पुनर्बीमा कम्पनीले ८१ करोड रुपैयाँ थपेर कुल एक अर्ब ८१ करोड रुपैयाँ बराबरको भुक्तानी गर्न लागेकाे हाे ।

सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर थप ४५ प्रतिशत रकम बीमा समिति, पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुबाट जुटाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले पहिला नै अर्थमन्त्रालयमा पठाएको प्रस्ताव अनुसार सरकारले दिएको रकमलाई ५५ प्रतिशत मानिएको उनको भनाइ छ । कोरोना बीमाको दाबी भुक्तानीको लागि पर्याप्त रकम नभएकोले अहिले पनि सबैलाई भुक्तानी गर्न पुग्दैन ।

भुक्तानी गर्नुपर्ने रकम थोरै भएकोले बीमा समितिले पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी दिने निर्णय भएको छ । पीसीआर परीक्षण मितिको आधारमा भुक्तानी गर्दा एक अर्ब ८१ करोड रुपैयाँ एक लाख दरका भुक्तानी गर्दा १८ हजार १०० जना बीमितले मात्रै पाउने देखिन्छ ।

कोरोना बीमाको दावी भुक्तानी विगत एक वर्षभन्दा लामो समयदेखि रोकिएको अवस्थामा छ। बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ ।

त्यसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । कुल दाबी रकम मध्ये ११ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ सरकारले भुक्तानी गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १५:०४