१९ मंसिर २०७९, सोमबार | Mon Dec 5 2022

राजनीति, दृष्टिकोण र नेपाली कांग्रेस

-अर्जुन पाण्डे

ज्ञान, शीप र दृष्टिकोण । अंग्रेजीमा नलेज, स्किल र एटिच्युड (के एस ए) शिक्षा शास्त्रमा यी तीन शब्दलाई बिशेष महत्वका साथ ब्याख्या गरिन्छ । शिक्षा त्यस्तो होस जसले ज्ञान अभिबृद्धि गराओस, शिप सिकाओस र सही दृृष्टिकोण राख्न सक्षम बनाओस् । उपरोक्त तीन मध्ये पछिल्लो भए पनि दृष्टिकोण सबैभन्दा महत्वको छ किनकी ज्ञान, शीपले भरिपूर्ण भएर पनि दृष्टिकोण गलत भैदियो भने त्यो उल्टै घातक भैदिन्छ । त्यो भष्माशुर बन्दछ । आफै सकिन्छ , अरुलाइ सक्काउँछ । उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । हाम्रै आँखा अगाडी छन् जति भने पनि । बरु ज्ञान र शीप केही कमि भए पनि दृृष्टिकोण सही भैदेओस् । मानव कल्याणको निम्ति बरु त्यो श्रेयष्कर छ ।

बेलायतको राजनीतिमा भारतीय मूलका ऋषि सुनाकको प्रवेश संगै नेपालमा पनि यसबारे बहसहरु भैरहेछन् । अक्सफोर्ड, स्ट्यान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालय पढेका, विश्वका ठूला गनिएका बैंकमा काम गरेर आफ्नो क्षमता र शीप देखाएका, विश्व अर्थतन्त्र बुझेका मात्र नभएर कोभिडको महामारीबाट प्रभावित बेलायतको अर्थतन्त्रलाइ सहज ट्याकमा ल्याउन सक्षम युवा अर्थमन्त्रीको रुपमा पनि परिचय बनाएका हुन सुनाक । तर उनी कुनै पार्टीका अनुभवी नेता वा कार्यकर्ता थिएनन् । उनको क्षमता र दक्षतालाइ पार्टीले सम्मान गर्यो । पार्टीले गरेको यो निर्र्णयले पार्टीलाइ मात्र नभएर देशकै कल्याण भयो ।

यता नेपालमा अर्थशास्त्री स्वर्णिम वाग्लेको नेपाली राजनीतिमा प्रवेशलाइ यसै प्रशंगमा जोडेर चर्चा गरिएको छ । एउटा लामै लेखोट पनि सन्जालमा पढ्न उपलब्ध गराइएको छ । नेपालमा भएको के थियो ? यहाँ चुनावको माहौल शुरु हुनु अघि नै युवा अर्थशास्त्री वाग्ले चितवन जिल्लाबाट प्रतिनिधी सभामा चुनाव लड्ने भनि तैयारीमा होमिए । उनी नेपालको निम्ति अब्बल अर्थशास्त्री हुन् भन्नेमा दुइ मत छैन । खासमा नेपालको अर्थतन्त्र उकास्न र देशलाइ समृद्ध बनाउन उनी जस्ता शिपालु जनशक्तिको सख्त खाँचो छ हालको नेपालको विकासका निम्ति । पार्टीको टिकट लिएर चुनावमा जान उनले नेपाली कांग्रेसको मुख ताके । तर कांग्रेसले उनलाइ टिकट दिएन । तब उनि नराम्ररी रन्थनिए । दुनियाँ जिल खायो ।

यो दृष्य देखिरहेका नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले उनको राजनैतिक, बैयक्तिक पृष्ठभूमि प्रति कुनै पूर्वाग्रह नराखी, नेकपा एमालेको सहयोगमा चुनाव लड्न आग्रह गरे । वास्तवमा यो स्वयं स्वर्णिम वाग्लेले चाहेको, नेपालको संघिय संसदमा पुग्ने र देशको अर्थतन्त्र सम्हाल्ने ढुक्कको अवसर थियो । तर अफशोच, उनले यो अफरलाइ ठुकराइ दिए । अझ उनले त भनेः मेरो हजुरबुबा कांग्रेस, हजुरआमा कांग्रेस, बा आमा कांग्रेस, म जेनेटिकल्ली नै कांग्रेस हुँ । तब कम्युनिष्टको अफर कसरी स्विकार्न सक्छु ?

डाक्टर वाग्ले ज्ञान र शिपले भरिपूर्ण त छन् तर उनको दृष्टिकोण, उपरोक्त भनाइ सुनेर र निर्णय देखेर नेपालीहरु एक पटक मज्जाले हाँसे । यो वहाँको दृष्टिकोण हो । वहाँलाइ नेपालको संघिय संसदमा जाने मन त थियो तर त्यो भन्दा बढी नेपाली कांगे्रस, वा हालको गठबन्धनको लकेट छातिमा टाँस्नमा बढी ध्यान देखियो । यो लकेट नटाँसी त्यहाँ जान उनलाई मजा लागेन । वहाँ आफूलाइ तीन पुस्ते कांग्रेस भन्न गर्व गर्नु हुन्छ । तर उहाँले बुझ्नुभएन कि दलगत राजनीति कुनै पुस्तैनि वा स्थायी बस्तु हुँदै होइन ।

आज कांग्रेस २०१७ सालको जस्तो दुई तिहाइ वा ०४८ सालको जस्तो सामान्य बहुमतले पत्याउने हैसियतमा छैन, नत आफैँ साधारण बहुमत लिन सक्ने अवस्थामा छ । अझ भनौं आज देशमा झण्डै आधा उधि मात्र उसको उम्मेदवारी छ । आज आधा देशबाट कांग्रेस उखेल्लिइसक्यो । अर्को पाँच बर्ष सम्ममा भारतीय कांग्रेस झैं नेपाली कांग्रेस इतिहासमा सीमित हुनेछ वा अस्तित्व रक्षा गर्न अरु साना दलसंग गठजोड गरिरहेको हुनेछ । तब के गर्ने ?

आज देउवाको नेतृत्वमा नेपाली कांग्रेस अरू चार दल बैशाखीमा धर्मराउँदै हिँडिरहेको छ जसको न कुनै गन्तब्य छ न त भविष्यको योजना नै । कुनै पनि राजनैतिक दल आफ्नो नीति, नेतृत्व र कार्यक्रमका आधारमा अघि बढ्ने वा पतन हुने हुन्छ । गलत नीति, र नेतृत्व भयो भने त्यसले जनता समक्ष अपेक्षित कार्यक्रम ल्याउन सक्दैन र त्यसले विस्तारै पतनको दिशा लिन्छ ।

आज कांग्रेस यही नियति भोग्न बाध्य छ । धेरै कांग्रेसीजनहरुले यो बुिझसकेका छन्, आफ्नो बाटो लागिसकेका छन् । तर अफसोच, डा वाग्ले जस्ता विद्धानहरुका अँखामा कांग्रेस उही छ । कांग्रेस बदलिइसक्यो, उहाँहरूको दृष्टिकोण बदलिएको छैन । के गर्ने ? ज्ञान र शीप भएर ? दृष्टिकोण महत्वपूर्ण भनेर त्यत्तिकै भनेको होइन रहेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार ०७:१५