८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोट २ मा सत्ता गठबन्धनमा भाँडभैलो, कांग्रेस र माओवादी भिड्दा समाजवादी च्यापियो


२४ असोज, नुवाकोट । नुवाकोटको क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनमा भाँडभैलो भएको छ । नेपाली कांग्रेस र माओवादीको लडाइँमा नेकपा एकीकृत समाजवादी च्यापिएको छ । केन्द्रीय स्तरमा भएको सहमतिको तोड्दै नेपाली कांग्रेसले प्रदेशसभामा पनि उम्मेदवारी दिएपछि माओवादीले पनि दुबैतर्फ उम्मेदवारी दिएको छ ।

माओवादीबाट प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका रामप्रसाद ढुंगाना र ‘ख’मा उम्मेदवारी दिएकी राममाया बोगटी ।

नेपाली कांग्रेसले केन्द्रीय सहमति अनुसार क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा मात्र उम्मेदवारी पाएको थियो । तर केन्द्रीय सदस्य बहादुरसिंह लामाले प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिए । केन्द्रीय सहमतिमा माओवादीको भागमा परेको प्रदेशमा कांग्रेसले उम्मेदवारी दिएपछि माओवादीले सो प्रदेश र समाजवादीको भागमा परेको प्रदेशसभा ‘क’मा उम्मेदवारी दियो । त्यसपछि समाजवादीले पनि उम्मेदवारी त दियो तर उसले गठबन्धनको साथ पाउने सम्भावना ज्यादै न्यून रहेको छ ।

माओवादीको भागमा परेको प्रदेशसभा ‘ख’ मा उम्मेदवारी दिएपछि कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा ।

नेपाली कांग्रेसले प्रतिनिधिसभामा २०७४ देखि अब चुनावमा भोट माग्न आउँदिन भनेका घोषणा गरेका अर्जुननरसिंह केसीलाई उम्मेदवार बनायो आइतबार उनैले उम्मेदवारी दर्ता गरे । प्रदेशसभा ‘क’मा गीता अमात्य र  ‘ख’मा बहादुरसिंह लामालाई उम्मेदवार बनायो उनीहरू दुबैले उम्मेदवारी दर्ता गरे ।

कांग्रेसले आफ्नो भाग खोसेपछि माओवादीले समाजवादीको भाग खोस्न च्याखेँ थाप्यो । उसले गठबन्धनको केन्द्रीय सहमति अुनसार प्रदेशसभा ‘ख’मा मात्र उम्मेदवारी दिनुपर्नेमा प्रदेशसभा ‘क’मा पनि उम्मेदवारी दियो । माओवादीले ‘क’मा रामप्रसाद ढुंगाना र ‘ख’मा राममाया बोगटीको नामममा उम्मेदवारी दिएको छ । त्यस्तै गठबन्धको केन्द्रमा भाग पाए अनुसार समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनीले पनि प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका छन ।

प्रदेशसभा ‘क’मा उम्मेदवारी दिएका समाजवादीका पोलिटब्यूरो सदस्य राजेन्द्रप्रकाश लोहनी ।

माओवादी र कांग्रेसको बीचमा सहमति बन्न नसकेमा लोहनीले गठबन्धनको उम्मेदवार बन्न पाउने सम्भावना ज्यादै न्यून देखिएको छ । कांग्रेसले खोस्न खोजेको माओवादीको सिट उसले छाडे गठबन्धन टिक्ने अवस्था पनि छ । अन्यथा उसले आफ्नो एक सिट जसरी पनि चाहिन्छ भन्नेमा पुग्यो भने कांग्रेस र माओवादीको बीचमा माओवादीलाई ‘क’ र कांग्रेसलाई ‘ख’ दिने सहमति भयोभने समाजवादी टुहुरो हुने अवस्था छ । उम्मेदवारी दर्ता र दलका नेताहरूको प्रस्तुती हेर्दा नुवाकोट २ मा अब केन्द्रीय सहमति पालना हुने सम्भावना छैन । हुनत बागमती प्रदेशभरी नै धादिङबाहेका जिल्लामा समाजवादीको भागहरू खोसिएका छन ।

एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनाएका नारायणप्रसाद खतिवडा, प्रदेशसभा ‘क’मा उम्मेदवार बनाएका केशवराज पाण्डे र ‘ख’मा उम्मेदवार बनाएका विजय सिंह लोप्चन ।

क्षेत्र नम्बर २ मा नेकपा एमालेले भने प्रतिनिधिसभामा नारायणप्रसाद खतिवडा, प्रदेशसभा ‘क’मा केशवराज पाण्डे र ‘ख’मा विजय सिंह लोप्चनलाई उम्मेदवार बनाएको छ । केन्द्रीय सहमति अनुसार सत्ता गठबन्धको उम्मेदवारी कायम भएको अवस्थामा एमालेका लागि सहज देखिएको चुनाव गठबन्धनको भाँडभैलोका करण थप सहज भएको नेताहरूले बताएका छन ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ०९:१७