१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मैले प्रचण्ड र माधवलाई भेटेको छैन, भ्रमको खेती बन्द गर्नुस्ः डा भीमबहादुर रावल


१७ असोज, काठमाडौँ । नेकपा एमालेका नेता प्रभावशाली नेता डा भीमबहादुर रावलले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको भनेर भ्रमको खेती गरिएको बताएका छन ।

सामाजिक सञ्जाल मार्फत नेता रावलले आफ्नो बारेमा सुनियोजित प्रचार भएको भन्दै दुःख प्रकट गरेका छन । एमाले नेता कर्ण थापा लगायतले योजनावद्ध ढंगले विभिन्न गलत प्रचार गराएर तेजोवध गर्न खोजेपछि रावलले सामाजिक सञ्जालबाट त्यसको खण्डन गरेका हुन ।

उनले भ्रमको खेती बन्द गर्न अनुरोध गर्दै भनेका छन, ‘एक समय मैले चुनाउ नलड्ने भन्ने सुनियोजित प्रचार गरियो । मैले अछामको कार्यकर्ता भेलामा त्यसको खण्डन गरेपछि मलाई उम्मेदवार नबनाइने कुरा केन्द्रमा गरियो । त्यसप्रति जनता र कार्यकर्ताको विरोध देखिन थालेपछि मैले खुमलटारमा प्रचण्ड र कोटेश्वरमा माधव नेपालसंग भेटेको कथा प्रचार गर्न थालिएको छ । मैले ती नेतासंग भेटेको छैन र चुनाउबारे कुरा गरेको छैन । मैले साँच्चै कुरा गर्न चाहेमा गोप्य होइन, पत्रकारहरुलाई जानकारी गराएर तथा भएका कुरा सार्वजनिक गरेर अगाडि बढ्ने सामर्थ्य राख्दछु । अतः भ्रमको खेती गरेर अरुको तेजोवध गरी आत्मरति नगर्नु नै उचित हुनेछ ।’

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०४:३६