७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

झलनाथ खनाललाई २० लाख रूपैयाँ राहत दिने सरकारको निर्णय


१६ असोज, काठमाडौँ । पाँच दलीय परमादेशी गठबन्धनको सरकारले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई दसैँको लागि २० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ । यो समाचार आइतबारको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन ।

खनालको माग अनुसार सरकारले दसैँको पूर्व सन्ध्यामा खनाललाई २० लाख रूपैयाँ राहत दिने निर्णय गरेको हो । उपचार खर्च र राहतका नाममा पटक पटक पैसा लिँदै आएका खनालले आफ्नै नाममा सर्प प्रतिष्ठान खोल्न लगाएर त्यसमा पनि राज्यको ढुकुटीको दुरूपयोग गरेका छन ।

सरकारले खनाललाई दसैँको मुखमा दिएको २० लाख रूपैयाँको राहत मापदण्डविपरित रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन । सरकारले कांग्रेस, माओवादी र समाजवादीका अन्य सयौँ कार्यकर्तालाई ५० हजारदेखि २० लाख रुपैयाँसम्म राहतको नाममा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आफैँले पछिल्लो पटक ल्याएको मापदण्ड उलंघन गरेर राहतको नाममा राज्यको टुकुटीको दुरूपयोग गरेको हो । यसअघि सरकारले मापदण्ड विपरित हातमुख जोर्नै समस्या हुन लागेको भन्दै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।

चुनावको मुखमा सत्तागठबन्धनको सिट बाँडफाँडमा सहमति हुन नसकिरहेको र माधव नेपालको गतिबिधिबाट रूष्ट बनेका खनालका लागि मुख बन्द गराउन राहत उपलब्ध गराइएको समाजवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आईतवार ०८:३१