१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मोहमद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा तीन पक्राउ


१४ असोज, काठमाडाैँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित एडभेञ्चर इन्टरप्राइजेज गार्मेन्ट उद्योगका सञ्चालक सर्लाहीका ५८ वर्षीय मोहम्मद दर्जीको हत्यामा सङ्लग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । यही असोज ३ गते राति मोटरसाइकलमा आएका एक समुहले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए ।

उक्त घटनाका सम्बन्धमा प्रहरीको विशेष टोलीद्वारा अनुसन्धानका विधि र प्रविधि प्रयोग गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनामा सङ्लग्न रहेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतकुमार बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जका २१ वर्षीय महोरम मिया, सोही जिल्लाका १९ वर्षीय रेहान मिया र मकवानपुरको बकैया घर भइ काठमाडौँ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्तान छन् । उनीहरुमध्ये महोरम र रेहान भने सो घट्नाका योजनाकार र हतियार व्यवस्थापक रहेको खुल्न आएको छ । स्याङतान भने दर्जीको गतिविधि निगरानी गर्ने कार्यमा सङ्लग्न रहेको पाइएको छ । उनीहरु यसअघि चोरी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरेका व्यक्ति खुलेको छ । उनीहरु विरुद्ध ‘मुलुकी अपराधसहिता २०७४को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूर’ मा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार २१:३५