१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गठबन्धनको छैटाैँ दल एमालेका निम्ति भारी पर्न सक्छ


-महेश थापा

मिडिया म्यानेजमेन्टमा एमाले कमजोर देखियो । एमालेभन्दा झन्डै डेढ दशकपछि खुला राजनीतिमा आएको माओवादीले बरू मिडियामा राम्रो होल्ड जमाएको देखिन्छ । एक समय सर्कुलेसनका हिसाबले पहिलो नम्बरमा पुगेको एउटा दैनिक, राम्रो चलेका दुईवटा टेलिभिजन च्यानल र सर्वाधिक खोलिनेमध्येको एउटा अनलाइन न्यूज पोर्टलले माओवादीलाई सघाइरहेको स्पष्ट देख्न सकिन्छ ।

केहीअघि एक सुपरिचित निजी प्रतिष्ठानको माथिल्लै तहमा काम गर्ने भाइले बताएअनुसार आफ्नो संस्थाबारे एउटा टेलिभिजन च्यानलले धारावाहिक खेदान् खेद्न थालेपछि उक्त समाचारका विषयमा ‘डिल’ गर्न उनी च्यानलका अध्यक्ष भेट्न पुगेछन् । ‘डिल’का क्रममा अध्यक्षले उनलाई मिडिया लगानीकर्ताका रूपमा परिचित एक माओवादी नेताको दैलोमा पुर्याएछन् । उक्त च्यानलको माओवादीसँग निकटताबारे त्यसअघि मैलेचाहिँ सुनेको थिइनँ । नेपालमा सुरुवाती दौरमा खुलेका न्यूज च्यानलमध्येको एक उक्त टेलिभिजनमा पनि माओवादीले निर्णायक लगानी पुर्याइसकेको रहेछ ।

मिडिया भनेर यहाँ ‘स्वतन्त्र’ नामको एउटा टालो झुन्ड्याएर कनिकुथी इजेत धान्न सफल समाचार एजेन्सीहरूलाई भन्न खोजिएको हो । पार्टीको एकोहोरो भजन गाउने, मिठामिठा कुरा मात्रै गरिदिने र डामिएर एउटा ट्याग लागिसकेका मिडियामा आएका खबरलाई आफ्नै कार्यकर्ताले पनि सिरियस्ली लिँदैनन् । त्यस्ता ट्वाक थापेर बसेका जस्ता मिडिया जति खोले पनि तात्विक फरक पार्न सक्दैनन् ।

०४६ पछिको नेपाली मिडिया आधारभूतरूपमा प्रो-कांग्रेस हो । उसको विकल्पका रूपमा कम्युनिष्ट भएपछि यो विश्वव्यवस्थाको लाभ कांग्रेसले पाउनु स्वभाविक थियो । कांग्रेसले धेरै प्रयत्न नगर्दा पनि यो विश्वव्यवस्थाले सूचना नियन्त्रणका लागि खडा गरेका मेकानिज्महरूको लाभ उसले स्वत: पाई नै हाल्छ । कांग्रेसले सरह मिडियामा पकड जमाउन एमालेका निम्ति सम्भव नभए पनि त्यसलाई एउटा लेभलमा न्युट्रलाइज गर्ने हदको सूचना संजाल यो तीन दशकमा एमालेले खडा गर्न नसक्नु उदेकलाग्दो छ ।

‘मिडिया त स्वतन्त्र पो हुनुपर्छ, यस्ता कुरा नि गर्दै हिंड्नी’ भन्दै डुक्रनु मन्दिरमा बसेर घण्ट बजाउन्जेल मनमा उत्पन्न हुने आदर्शसिवाय केही होइन । मिडिया प्रो-कांग्रेस मात्रै भएर बस्ने एरा नभई यो त गोदीयुग पर्यो ! यहाँ कसैले यसो कुलधर्म सम्झेला भनी चिताउनै परेन ।

उपलब्ध वातावरणमै सर्भाइव गर्न सक्नुपर्ने कुरा डार्विनले विकासवादमा बताएका छन् क्यारे ! कि त केजरिवालले झैँ मिडियातन्त्रलाई नै काउन्टर गर्न सक्नुपर्यो, कि त यूपीमा अखिलेशले ‘आप तो बडे ही इमान्दार पत्रकार है’ भन्दै अखडामा उत्रेझैँ लंगोट कस्न सक्नुपर्यो । विगत दुई वर्षमा जस्तै एक प्रकारको मिडिया कू झेलेर ढाड थपिरहने हो भने गठबन्धनको छैंठो दलचाहिँ एमालेका निम्ति भारी पर्ने निश्चित देखिन्छ ।

(लेखक थापाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार सन्दर्भिक भएकाले यहाँ साभार गरिएको हो- सम्पादक)

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०९:४७