१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमसीसी, नागरिकता विधेयक र प्रचण्डको दोहोरो चरित्र


-सरोजकुमार तामाङ

शोषक सामन्तीवर्गको रक्षा किल्लाको रुपमा उभिएको राजतन्त्रलाई जरैबाट उखेलेर फ्याँक्दै जनताको शासन भनिने लोकतन्त्रको स्थापना गर्नु राज्य जनमतको मुल्य र मान्यताको आधारमा चल्नुपर्छ भन्ने ध्येय थियो । त्यसैले जनताको त्याग र बलिदानले ल्याइएको यो ब्यवस्थालाई चलायमान बनाउन ठेक्केदारको भूमिका निर्वाह गर्ने दलहरुले कति खरोसँग आफूले आफैंलाई जनजिविकाका सवालहरुमा समर्पित गर्छ भन्ने हो ।

मंसिरको निर्वाचनमा जनमतको लागि तछाँडमछाँड गर्दै टेन्डर हाल्ने दलहरुको उद्देश्य जनतामाझ सुस्पष्ट हुनुपर्छ । निम्नकोटीको दलगत स्वार्थले भरिएको मुद्दाहरुलाई उठान गर्दै जनमतलाई धन र डनले खरिद गर्छु भन्दै फेरि पनि जनप्रतिनिधिको मुखुन्डोले राज्यको स्रोत साधनमाथि वैधानिक तवरबाट लुटपाट गर्छु भन्ने सोचको बिजारोपण नगरे हुन्छ ।

जनतालाई थाहा भैसक्यो कि जनपक्षीय नेताहरू को हुन र कसले सडकदेखि सदनसम्म जनजिविकाका सवालहरुलाई बुलन्दकासाथ आवाज उठाउँदै छ भन्ने । आगामी मंसीर ४ मा हुन गईरहेको संघीय र प्रादेशिक निर्वाचनमा आ-आफ्नो दलबाट टिकट पाउन गरिएको बिद्रोहले जनतामाझ के कुरा प्रष्ट भएको छ भने जनताको मतले सत्ताको स्वाद चाख्न माहिरहरू आफ्नो ब्यक्तिगत र पारिवारिक स्वार्थलाई पूरा गर्न दलगत नीति र विधिलाई कुचल्न पनि तयार भएका छन ।

यदि यो विद्रोह टिकटको लागि मात्र सीमित नरहेर जनजिविकाका सवालहरुलाई लिएर भएको भए आउँदो निर्वाचनमा जनमतले साथ दिन्थ्यो होला । लोकतन्त्रमा विद्रोह र अवज्ञा के को लागि गरिन्छ ? `मैले पाएँ ठिक उसले पाए बेठिक´ भन्ने चिन्तनबाटै गुज्रने हो भने यो ब्यवस्था ल्याउन जनताको छोराछोरीहरुले आफ्नो ज्यानको आहूती दिनु, आन्दोलनको क्रममा घाईते र अपांग हुनु बेकार सावित हुँदैन र ?

जनताले ल्याईएको ब्यवस्थामा जनता नै उपेक्षा हुने हो भने कसरी यो शासन ब्यवस्था जनताको निम्ति, जनताद्धारा जनतामै ? विद्रोह हुनुपर्छ तर कुन धरातलमा उभिएर गर्दैछ; त्यो विषय प्रधान हो । चुनावको पूर्वसन्ध्यामा आएर टिकटको लागि गरिएको यो विद्रोह पक्कै पनि जनहितको निम्ति हैन । विद्रोहमा जनताका मुद्दाहरु हामीले सुन्न पाएका छैनौं । मात्र उम्मेदवारीको टिकट नपाएको गुनासो सुनिन्छ । सामन्ती प्रथा शैलीको टिकट बितरण प्रणालीको विरोध गर्न नै थियो भने अरु बेला किन चुपचाप ?

हिजो जनताले राष्ट्रघाती एमसीसी सार्वभौमसत्ता सम्पन्न जनताको गरिमामय सदनबाट पास गर्नु हुँदैन भन्दा कानमा तेल हालेर बस्नेहरु आज एक्कासी विद्रोहको आवाजमा देखिन्छ भने त्यो आगामी मंसिरको निर्वाचनबाट सत्ताको भाग खोज्दै राज्यस्रोतमाथि लुटपाट मच्चाउँन हो । चौतर्फी बिरोध हुँदा पनि विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गर्न खोज्नेहरु विदेशी शक्तिहरुको दलालहरु स्यालको भेषमा हुँईया गर्दैछ ।

एकले अर्काको अस्थित्व नस्वीकार्ने हो भने बहुदलीय प्रतिस्पर्धाको राजनीति किन गर्नु पर्यो ? चुनावको मुखैमा आएर मौसमी जनवादको ढ्वाँग किन रच्नु पर्यो ? यसको तात्पर्य के हो भने अझैंपनि हामी जनतालाई झुक्याएर छक्याएर सत्ताको चावी आफ्नो हातमा लिदै राज्यको स्रोतसाधनहरु वैदेशिक एकाँधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवाद शक्तिको हातमा सुम्पदै यो मुलुकलाई अझ गरिब बनाउनु हो ।

हे मौसमी विकासवाद र राष्ट्रवादका पुलिन्दाहरु हो ! विद्रोह नै गर्न मन लाग्छ भने जनताको आधारभूत आवश्यकताका बिषयहरु गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी राज्यको तर्फबाट ग्यारेन्टी हुनुपर्छ भनि गर । यो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनतामाथि खलल पुग्ने खालका विवादस्पद नागरिकता विधेयक जस्ता अरु विधेयकहरु संसदमा प्रस्तुत नगर्न विद्रोह गर ।

महंगी, वेथिति र भ्रष्टाचारले नागेको सिमा बिरुद्ध विद्रोह गर तब तिमीहरुलाई जनताले आगामी निर्वाचनमा साथ दिनेछ । हैन भने, यो मुलुकको रक्षार्थ सदाको निम्ति समाप्त पार्ने भारतीय नाकाबन्दी; कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्शा जारी गर्ने केपी ओली नेतृत्वको जनसरकारलाई प्रतिगामीको ट्याँग लगाएर आज यो तमासा गर्न जनताले तिमीहरुलाई आगामी निर्वाचनबाट छुट्ट दिनेवाला छैन ।

परमादेशी सरकार बनेदेखि जनहितको पक्षमा के-के कामहरू भए ? त्यसको तथ्यांक जनतासामु प्रस्तुत गर । जनताको शासन ब्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उल्टै वेथितिको संस्कार बसाउन खोज्नेहरुलाई अबको निर्वाचनबाट जमानत जफतको अवस्थामा जनताले पुर्याउने छ । आफूले हारे व्यवस्थाले हारेको सम्झने तिम्रो मानसिकताको उपचार हुन जरूरी छ ।

निर्धक्कासाथ वेथितिको विरुद्ध बोल्न, लेख्न र संगठित हुन पाउने हाम्रो अधिकारलाई जब हामी प्रयोग गर्छौं तब लोकतन्त्र र गणतन्त्रको बिरुद्ध प्रतिगामी शक्तिहरु सलबलाउन थाले भन्ने भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलाली प्रचन्डले यो ब्यवस्था जोगाउन एमसीसीको पत्रमा गोप्य हस्ताक्षर गरेको हो ?

हिजो भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्ध सुरूङ्गयुद्ध गर्नुपर्छ भन्ने प्रचन्ड आज कुन मुखले त्यही भारतीय र अमेरिकी शासकहरुलाई रिझाउन बिना समयसीमाको अंगीकृत नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रप्रमुखलाई दबाब दिदैछ ? तिम्रो हिजोको रुप र आजको रुपमा आकाश-जमिनको फरक किन ? सत्ताच्युँत हुँदा मौसमी राष्ट्रवाद, विकासवाद र समाजवाद तर सत्तासीन हुँदा राष्ट्रघात, जनघात र पुँजीवाद किन ? जबसम्म यी तमाम सवालहरुको चित्त बुझ्दोँ जवाफ हामी जनताले पाउँदैनौं तबसम्म कल्पनासम्म पनि नगर कि चुनाव जितिन्छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ११:२४