१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

‘गन्तव्य जुगल’ को प्रवद्र्धनमा जुट्दै सिन्धुवासी


१० असोज, काठमाडौँ । काठमाडौँ उपत्यकाबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको प्रचारप्रसार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो पुस्तक ‘गन्तव्य जुगल’ आज सार्वजनिक भएको छ । आज यहाँ आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले त्यस हिमाल र आसपासका क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य समेटिएको पुस्तक सार्वजनिक गरे ।

काठमाडौँ उपत्यकाबाट कूल एक सय ५० किलोमिटरको दूरी तय गरेपछि जुगल हिमालको आधार शिविर पुग्न सकिन्छ । सोही हिमालका आरोही मिलन तामाङले पुस्तकको संयोजन एवं लेखन गरेका हुन् ।

जुगल गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा त्यस हिमाल र आसपासका क्षेत्रका बारेमा सविस्तार जानकारी दिइएको छ । जुगल क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बि.स. २०७५ चैतमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो ।

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टको कार्यकालयमा नै सो हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहणको अनुमति पाउने वित्तिकै यस पुस्तकका लेखक तमाङलगायतले सफल आरोहण गर्नुभएको थियो । हाल आधार शिविरतर्फ सहज रुपमा पुग्नका लागि बलेफी–कात्तिके–पेम्बाथान सडक निर्माण भइरहेको छ । केही दिन पहिले मात्रै सभामुख सापकोटाले सो सडक निर्माणलाई गति दिन सम्बन्धित निकायलाई आयोजनास्थलमा नै पुगेर निर्देशन दिएका थिए । सभामुख सापकोटाको पहलमा नै सो सडक निर्माण भइरहेको छ । सडक निर्माणका लागि रु एक अर्ब बराबरको लगानी भएको छ ।

राजधानी नजिक भएर पनि प्रचारप्रसार हुन नसकेको सो हिमाललाई मूल प्रवाहमा ल्याउने र धेरै धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धिको दिशामा ध्यान केन्द्रीत गर्न आफुहरु लागिपरेको पुस्तकका लेखक तामाङको भनाइ छ ।

आर्थिक विकासका लागि पर्यटन क्षेत्रको प्रवद्र्धन र त्यसलाई विस्तारित उद्योगका रुपमा लैजानका लागि पुस्तक महत्वपूर्ण हुने त्यस अवसरमा जानकारी दिइएको थियो । एउटै आधार शिविरबाट आठ वटा हिमाल आरोह गर्न सकिने भएकाले पनि पर्यटकको विशेष आर्कषणमा पर्ने विश्वास लिइएको छ ।

सभामुख सापकोटाका अनुसार जुगल क्षेत्रको पर्यटन विकासका सम्भावनालाई पुस्तकले अझ विस्तार गरेको तथा आन्तरिक र बाह्य पर्यटकको चासो बढाउनेछ । जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार जुगल हिमशृङ्खलालगायत यस पालिकाभित्र रहेका अन्य धार्मिक, सांस्कृतिक, प्राकृतिक र अन्य पर्यटकीय क्षेत्रहरुलगायत समग्र क्षेत्रको यर्थाथ चित्रण गर्न पुस्तक महत्वपूर्ण छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये जुगल गाउँपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रवल सम्भावना रहेको पालिका हो ।

नेपालकै विभिन्न पासमध्ये तिलमान पास, धार्मिक र प्राकृतिक महत्व रहेको भैरवकुण्ड क्षेत्र, धार्मिक महत्व रहेको नेपेमासाल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हुन् । जलस्रोतको धनी रहेको यो गाँउपालिकामा साना तथा ठूला गरी १० वटा जलविद्युत् आयोजना छन् ।

सो हिमशृङ्खलामा कूल छ हजार मिटर माथिका ११ वटा हिमाल छन् । भैरव टाकुरा छ हजार सात सय ८८ मिटर, दोर्जेलाक्पा छ हजार आठ सय ६६, गङछेम्बु छ हजार तीन सय ७८, गुरकर्पो ह्री छ हजार आठ सय ८८ मिटर, ग्याल्चेन पिक छ हजार एक सय ५१ मिटर, लाङशिसा ह्री छ हजार चार सय १२ मिटर उचाईका हिमाल छन् ।

सन् १९४६ मा बेलायती आरोही बिल तिलमानले नेपालको विभिन्न हिमालको अध्ययन तथा आरोहण गर्ने क्रममा यस हिमशृृङ्खलाका पिक र हिकालको आधार क्षेत्र र पाँच पोखरी हुँदै नेपालकै सबैभन्दा लामो पास तिलमान पास यात्रा गरेको इतिहास छ । अत्यत्नै साहसिक र चुनौतीपूर्ण पास भएकाले त्यस स्थानलाई आफ्नै नाम दिएर ‘तिलमान पास’ नामाकरण गरिएको हो । सो बारेमा ‘ नेपाल हिमालय’ नाम पुस्तक पनि प्रकाशन भएको छ ।

सिन्धु पर्यटन परिषद्को समन्वयमा बागमती प्रदेश र जुगल गाउँपालिकाको आयोजनामा २०७५ साल चैत २६ गते जुगल हिमालका ११ वटा चुचुरामध्ये कूल छ हजार एक सय ५१ मिटर उचाईको ग्याल्जेन पिकको सफल आरोहण गरिएको थियो । सो आरोहण दलमा पुस्तकका लेखक तामाङ, सर्मिला थापा, सुभाष कर्माचार्य, माधव सापकोटा र प्रेम गुरुङ सहभागी थिए ।

आरोहण दलका सदस्य समेत रहनुभएका नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासका लागि पनि जुगल क्षेत्रको प्रचारप्रसार जरुरी रहेको बताए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १७:१६