७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिकित्सा शिक्षाको विकासमा सिपिएसपीको भूमिका महत्वपूर्ण : स्वास्थ्यमन्त्री खापुङ


८ असाेज, काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विकासमा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तान (सिपिएसपी)ले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन् । कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको ५५औँ दीक्षान्त समारोहमा मन्त्री खापुङले नेपाली चिकित्सक र सिपिएसपीको सुमधुर सम्बन्ध कायम रहेको बताए ।

उनले भने, “सिपिएसपीले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सेवा प्रदान गरेको छ, जसले गर्दा विदेश जाँदा हुने खर्च र आवासीय खर्चको बचत भएको छ । सिपिएसपीद्वारा प्रशिक्षित धेरै नेपाली चिकित्सकहरूसँग भेट गर्दा उहाँहरू सकारात्मक रहेको र सिपिएसपी फेलोसिप कार्यक्रमको गुणस्तरीय प्रशिक्षण र परीक्षाको सेवाप्रति प्रशिक्षार्थी सन्तुष्ट रहेको पाएको छु ।”

मन्त्री खापुङले विशेषगरी नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षालयको प्रवद्र्धनका लागि प्रदान गरिएका सेवाप्रति पाकिस्तानका चिकित्सक र शल्य चिकित्सकलाई आभार प्रकट गरेका थिए । नेपालमा स्नातकोत्तर मेडिकल तालिम र शिक्षालाई व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी थपिएको भन्दै उनले यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सिपिएसपीका अध्यक्ष प्रोफेसर मुहम्मद सोएब सफीले उच्च चिकित्सा शिक्षाको उत्कृष्टतामा ध्यान दिँदै प्रशिक्षणमार्फत पारदर्शी परीक्षा सञ्चालन गर्दै विश्वमा गुणस्तरीय वैज्ञानिक शिक्षा प्रदान गर्ने बताए । सिपिएसपीलाई विश्वमा अन्तर्राष्ट्रिय तालिम र सल्लाहकार केन्द्रका रूपमा मान्यता दिइने शैक्षिक संस्था बनाउने योजना रहेको जनाएका थिए । देशभित्र र विदेशमा स्नातकोत्तर चिकित्सा शिक्षाको अग्रगामी संरक्षक भएको दाबी गरे ।

दीक्षान्त समारोहमा ४५ नेपाली प्रशिक्षार्थी उपस्थित भएका थिए । जसमा डा दीनुज श्रेष्ठ, डा राजेशबहादुर लाखे र टुके काजी गोल्डमेडलबाट सम्मानित भएका थिए । सिपिएसपी कलेज पाकिस्तानी संसद्को एक अधिनियममार्फत र वाजिद अली खान बुर्की, तत्कालीन सङ्घीय स्वास्थ्यमन्त्रीको नेतृत्वमा पाकिस्तानमा ५० प्रख्यात चिकित्सकको अथक प्रयासद्वारा सन् १९६२ मा स्थापित भएको हो ।

सन् १९६५ मा कलेज अफ फिजिसियन्स एण्ड सर्जन्स पाकिस्तानको पुस्तकालय स्थापना भएको थियो । यसको स्थापनादेखि नै नवीनतम् चिकित्सा साहित्यहरू प्राप्त गरेको छ र स्नातकोत्तर चिकित्सा शिक्षालाई समर्थन गर्ने केन्द्रबिन्दुका रूपमा सेवा प्रदान गर्दै आएको शैक्षिक संस्था हो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १८:१४