८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

गिरिजाको योजना र माधव नेपालको सहयोगमा मदन भण्डारीको हत्या भएको गिरीको खुलासा (भिडियो)


७ असोज, काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता एवं गिरिजाप्रसाद कोइरालाका निकट सहयोगी उमेश गिरीले तत्कालीन एमाले महासचिव मदन भण्डारीको हत्या भएको दाबीसहित घटना विवरण सुनाएका छन । ७० वर्ष उमेर पुगेका गिरीले हिमशिखर टेलिभिजनको अन्तर्वार्तामा मदन भण्डारीको हत्या योजना र घटना विवरण सार्वजनिक गरेका हुन ।

उनले उक्त हत्यामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं तत्कालीन एमाले नेता माधवकुमार नेपाल, समाजवादीकै नेता तत्कालीन एमाले नेता झलनाथ खनाल र अहिले नयाँ अभियानमा लागेका तत्कालीन एमाले नेता बामदेव गौतमले सहयोग गरेको जानकारी दिए । गिरीले माधव नेपाल लगायतले मदन भण्डारी हत्याको प्रमाण नष्ट गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराइहरूले भण्डारीलइ खोलामा हाल्ने चालक अमर लामाको हत्या गरेको बताए ।

विराटनगरको कोइराला निवासमा मदनभण्डारीको हत्या योजना बनाइएको र त्यसमा गिरिजाप्रसादका भाउजु नोना कोइरालाको समेत संलग्नता रहेको उनले बताएका छन । गिरीले हत्याको बारेमा आफूले जानकारी र क्लुहरू पाएर पनि आफ्नो पनि हत्या हुने डरले यसअघि यस विषय बाहिर ल्याउन नसकेको बताए ।

उनले आफ्नो जीवनको उत्तरार्द्धमा सत्य बताउन चाहेको भन्दै उक्त विषय र घटनाको फेहरिस्त नै प्रस्तुत गरेका छन । मदन भण्डारी बाँचिरहँदा नेपालमा कांग्रेस सिद्धिने भएले गिरिजाले हत्या गराएको उनको दाबी छ । गिरी कोइारालका अत्यन्तै निकटमा व्यक्ति मानिन्छन भने कोइराला परिवारकै नातेदार सदस्य हुन ।

को हुन उमेश गिरी ?

सानैदेखिको लडाकू र उग्र प्रकारको स्वाभावका गिरी कांग्रेसभित्रका पनि विद्रोही स्वभावका नेता हुन । गिरी २०२८ सालमै जेल परेका नेता हुन । २०३० सालमा गिरीसहितको टोलीले हवाई अपहरणको योजना बनाएर अपहरणको काम समेत गरेको थियो । त्यसपछि कहिले भारत र कहिले नेपालको भूभागका लुकुछिपी हिडेँका उनी तत्कालीन राजा वीरेन्द्रले राजबन्दी र निर्वासित कार्यकर्तालाई आममाफी दिएपछि २०३७ वैशाख १ गते गिरिजाप्रसाद कोइरालासहित नेपाल फर्किएका थिए ।

गिरी काङ्ग्रेस नेतृ स्वर्गीय नोना कोइरालाका भाइ अम्बुप्रसाद उपाध्यायका छोरी–ज्वाइँ हुन्। विराटनगरका प्रसिद्ध उद्योगपति तुलसीराम अग्रवाललाई २०५८ सालमा अपहरण गराउने मुख्य योजनाकार पनि गिरी नै थिए। गिरीको हत्याको पटक पटक प्रयास भएको उनी निकटकाहरूले बताउँदै आएका छन ।

ज्ञानेन्द्रको शासनमा उनको हत्याको प्रयास भएको थियो । त्यतिखेरका पूर्वाञ्चलका डिआइजीले गिरीलाई जहाँ भेटे पनि गोली हान्नु भत्रे आदेश दिएको र काङ्ग्रेस पृष्ठभूमिका सई सञ्जीव सापकोटाले गिरीलाइ पटक पटकको इन्काउन्टरको प्रयासबाट बचाएको यसअघि नै सार्वजनिक समेत भएको थियो ।

दासढुङ्गा दुर्घटनापछि २०५० मा काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा आफ्नै पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमेश गिरीलाई नै मुख्य जिम्मा दिएका थिए। उनले यो कुरा पटक पटकको अन्तरवार्तामा भन्दै आएका छन । तिनै गिरीले अहिले ७० वर्षको उमेरमा मदनभण्डारीको हत्याको बारेमा केही रहस्यमी खुलास गरेका हुन । गिरीले दिएको वयानका आधारमा हत्याको अनुसन्धान भए हत्याको सत्यतथ्य बाहिर आउनेमा कुनै शंका छैन ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १४:०४