१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ब्याजदरमा भएको वृद्धिले उत्पादनमूलक उद्योग प्रभावित पार्छ : अर्थमन्त्री


६ असाेज, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याज लिने संस्कारका कारण देशभित्र उत्पादनमूलक उद्योग स्थापनामा समस्या देखिएको बताए ।

आजदेखि यहाँ शुरु भएको नाडा इभी अटो प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरका कारण उत्पादनमूलक उद्योगको विकास र विस्तारमा समस्या देखा परेको बताए ।

उनले भने, “जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहाँ समस्या छ । यो समस्या हल गर्नुपर्छ ।”

उनले बिना लगानी सहजै रूपमा ब्याज आउँछ भने किन उत्पादनमा लगाउने ? भन्ने प्रवृत्तिको विकास हुन जाने भएकाले त्यसको निराकरणका लागि मन्त्रालयले पहल गरिरहेको उल्लेख गरे।

उनले पछिल्ला दिनमा देखिएको यस्ता समस्याको निरुपणका लागि गम्भीर किसिमको निष्कर्ष निकालिने र केही न केही हल आवश्यक रहेको स्पष्ट पारे । उनले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने र सबैले जिम्मेवारी लिने हो भने यस्ता समस्याहरु हल हुने विश्वास व्यक्त गरे ।

उनले अर्थतन्त्र बलियो बनाउनका सबै तह र तप्काका बीचमा साझा सहकार्यको जरुरी रहेको र निर्यात बढाउँदै आयात प्रतिस्थापन गर्ने सन्दर्भ नै उत्तम विकल्प भएको धारणा राखे । उनले भने, “हामी सबै लागौँ । निजी क्षेत्रलाई काम गर्न थप सहज पार्ने हो । जुनसुकै अवस्थामा पनि हामी नेपाली आफैँ आफ्नो उत्पादनमा बाँच्न सक्ने हुनुपर्छ ।”

उनले विद्युतीय सवारी साधन सँगसँगै हाइड्रोजनबाट चल्ने सवारी साधनका बारेमा पनि सोच्नुपर्नेमा जोड दिनुभयो । उनले भने, “धेरैको ध्यान अहिले त्यसतर्फ गइरहेको पनि छ । तर, यसलाई व्यावसायिकरूपले कसरी उत्पादन गर्ने भनेर सोच्न आग्रह गर्छु ।”

उनले अबको समय भनेको ग्रिन हाइड्रोजनको भएकाले हामीले पनि त्यतातिर जानुपर्ने बताए । अर्थमन्त्री शर्माले जुनसुकै चुनौती आए पनि हामी आफैँ बाच्न सक्छौँ र थेग्न सक्छौँ भन्ने स्तरमा मुलुकलाई पुर्याउनुपर्नेमा जोड दिए ।

उहाँले हाल बढी भएको बिजुली निर्यात भइरहेको सन्दर्भ जोड्दै त्यसलाई उत्पादनमा लगाउनुपर्ने उल्लेख गरे । उनले भने, “हामीले विद्युत् निर्यात गर्ने नभएर विद्यत्बाट उत्पादित वस्तुहरुको निर्यात गर्ने हो । अब विद्युत्बाट उत्पादित हाइड्रोजनको निर्यात गर्ने हो ।”

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १९:११