१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

७ कम्पनीले घोषणा गरे लाभांश


६ असाेज, काठमाडौं । चालु आर्थिक वर्ष लागेसँगै विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि असोजसम्ममा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये विभिन्न ७ कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा कम्पनी, २ वटा हाइड्रो कम्पनी र १ उत्पादनमूलक क्षेत्रको कम्पनी रहेको छ । यी कम्पनीहरुले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

कुन कम्पनीको कति छ लाभांश ?

१) एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ ।

२) नेशनल लाईफ इन्स्योरेन्स

नेशनल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभां वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।

३) नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले जनाएको छ ।

४) गुराँस लाइफ

गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ७.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ७.४४ प्रतिशत बोनस र कर वापत ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

५) अरुण काबेली पावर

अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ ।

६) सानिमा माई हाइड्रोपावर

सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

७) नेपाल ल्युब आयल

नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाइ चुक्ता पुँजीको ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार १२:१९