११ आश्विन २०८०, बिहीबार | Thu Sep 28 2023

प्रतिनिधिसभा र प्रदेशसभाका लागि नुवाकोटमा एमालेका यी हुन सम्भावित उम्मेदवार

५ असोज, नुवाकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटबाट एमालेले प्रत्यक्षमा चुनावी प्रतिस्पर्धामा जाने उम्मेदवारहरूको करिब टुंगो लगाएको छ । क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीसम्म केही क्षेत्रमा उम्मेदवारको सिफारिस धेरै जनाको भएको भए पनि सम्भावित उम्मेदवारहरूले संकेत पाएका छन ।

जस अनुसार नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एमालेबाट जिल्ला अध्यक्ष बद्री मैनाली उम्मेदवार हुनेछन । त्यस्तै प्रदेशसभा ‘क’ मा बागमती प्रदेश कमिटी सदस्य बलराम आचार्य उम्मेदवार हुनेछन । ‘क’ मा सुशील खड्काको नामका विषयमा पनि नेताहरूले चर्चा गरिरहेको भए पनि सम्पूर्ण सन्तुलन मिलाउँदा बलरामको विकल्प नहुने बताएका छन ।

यद्यपी केन्द्रीय सचिवालयले निर्णय गरेर टिकट नदिँदासम्म यो अनुमानमात्रै हुनेछ । त्यस्तै प्रदेशसभा ‘ख’मा एमालेको उम्मेदवार बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठ हुने भएका छन । उनको क्षेत्रीय कमिटीबाट सिफारिस नै एकल भएको थियो ।

एमालेबाट क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि निवर्तमान सांसद नारायणप्रसाद खतिवडा उम्मेदवार हुने सम्भावना देखिएको छ । प्रतिनिधिसभाका लागि प्रदेश अध्यक्ष केशवराज पाण्डेसहित विष्णु लोहनी र माधव तिवारी पनि प्रतिस्पर्धामा रहेका थिए ।

खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गराइ पाउँ भन्दै सर्वोच्च अदालत र राष्ट्रपति कार्यालय जाने मध्येका एक हुन । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नुवाकोट जाँदा कालोझण्डा र ढुंगामुढाको नेतृत्वको गरेको आरोप पनि उनी माथि लाग्ने गरेको छ । १० बुँदेसँगै एमालेमा फर्किएका कारण उनी २ को उम्मेदवार हुने सम्भावना रहेको नेताहरूले बताएका छन ।

त्यस्तै प्रदेशभा ‘क’मा बामगती प्रदेशको मुख्यमन्त्रीको तयारीसहित पार्टीको प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डे उम्मेदवार हुने सम्भावना रहेको छ । उनी मुख्यमन्त्रीको उम्मेदवार बन्न नपाउने अवस्थामा प्रतिनिधिसभामै जाने सम्भावना पनि रहेको बुझिएको छ । एमालेभित्रको थोरै बौद्धिक युवा नेताको अग्रपंक्तिमा रहेका पाण्डेले यसपटक मुख्यमन्त्रीका लागि निशाना बनाएका छन । प्रदेशसभा उम्मेदवार हुन ठाकुर गजुरेल, बुद्धि प्रधान, नारायण घिमिरे लगायतले इन्छा व्यक्त गरेका थिए ।

त्यस्तै प्रदेशसभा ‘ख’मा निवर्तमान सांसद समेत रहेकी आशामाया तामाङ उम्मेदवार हुने सम्भावना छ । उनी जनजाति समूहकी त्यसमा पनि महिला भएका कारण उनको उम्मेदवारी कायम हुने सम्भावना अझै बलियो रहेको छ । प्रदेशमा उम्मेदवार हुने केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना, जिल्ला कमिटी सदस्य हरि अधिकारीसहितले इन्छा जाहेर गरेका थिए ।

नुवाकोटमा एमालेको समानुपातिक सूचीमा पार्टीको जिल्ला इन्चार्ज विन्दा ढुंगाना, पार्टीको जिल्लाका संस्थापक मध्येका एक रामशरण प्याकुरेल, त्यस्तै प्रदेश कमिटीका सदस्य गणेशकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य श्रीमाया लामा, जिल्ला कमिटी सदस्य सुरज शेर्पा, जिल्ला कमिटी सदस्य कल्पना न्याैपाने र विदुर नगरकमिटीका सचिव चर्चित युवा नेता अनुजकुमार श्रेष्ठ लगायत समानुपातिकको बन्द सूचीमा परिसकेका छन । यद्यपी असोज १६ गतेसम्ममा कतिपय परेकाहरूको नाम काटिने र नपरेकाहरूको प्रवेश हुने सम्भावना भने जिवितै रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १८:३०

UniversityCollege.com