१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

सरकारी जागिर छाडेर बाख्रापालन

५ असोज, मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाए । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन् रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।

इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फार्ममै बित्ने गर्दछ । उनको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन् । व्यावसायिकरुपमा सञ्चालित फार्ममा उनले केही सहयोगीहरु राखेका छन् । तर पनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेट्न सकिन्छ ।

सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडेका हुन् । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे । उनलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाएनन् । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उनले भने ।

वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे । सामाजिक सञ्जालमा बढी चाख राख्ने उनले त्यहीँबाट बाख्रापालनका बारेमा सिके ।

गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे । उनको फार्ममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा भैँसी र एउटा गाई पनि पालेका छन् । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उनको भनाइ छ ।

करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फार्ममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उनले रु २४ लाख लगानी गरिसकेका छन् । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उनले भने । कतिपय आफैँले गर्नसक्ने कामहरु उनी आफैँ पनि गर्छन् ।

जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन् । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् ।

उनले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन् । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउछन् । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उनले थपे । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनको भनाइ छ ।

स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनी बताउछन् । बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन् । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उनले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसकेका छन् । उनले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् ।

बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनी बताउछन् । उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उनी बताउछन् । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उनले बताए ।

कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उनले लगाएका छन् । आफूलाई खान पुग्ने तरकारी आफैँ लगाएका छन् । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उनले च्याउखेतीसमेत गरेका थिए । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएको उनी बताउछन् । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उनले भने ।

मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छाैं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उनले भने, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गरेका छन् । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गरेका छन् । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।

सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनले बताए । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताए । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उनको भनाइ छ ।

“कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उनको तर्क छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १६:०२