१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस


४ असाेज, काठमाडाैं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।

प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, “हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।”

नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो ।

ट्यालेन्ट शो दोस्रो संस्करण घोषणा

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्यालेन्ट शो कम्पिटिसन’को दोस्रो संस्करण घोषणा गरिएको छ । विश्वभरका प्रतिभालाई ‘भर्चुअल’ माध्यमबाट छनोट गरी आयोजना हुन लागेको कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाका माध्यमद्वारा एकीकृत गराउने निर्माता पुष्प गजमेरले बताए ।

उनका अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । एकेडेमी अध्यक्ष गजमेरले नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो सुरुआत गर्न लागेको जानकारी दिए । “विदेशमा हुर्किएको नयाँपुस्तालाई यस खालको कार्यक्रमका माध्यमले नेपालसँग जोड्नेछौँ,” अध्यक्ष गजमेरले भने, “नेपालीपन उहाँहरुमा बढाउने हाम्रो उद्देश्य हो । यसले नेपालको सरलता पनि बुझाउनेछ ।”

विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य आकर्षक पुरस्कार पाउनेछन् । प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलवार १६:०७