१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मन्त्री फेरबदलबारे प्रचण्डले भने ‘प्रधानमन्त्रीले जे भन्नुभयो त्यही हुन्छ’


२४ भदाै, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार पुनर्गठनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै कुरा आधिकारिक भएको बताएका छन् ।

आफ्ने तीन दिने भारत भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले ‘प्रधानमन्त्रीले जे भन्नुभयो, त्यही आधिकारिक हो,’ भनेका हुन् । ‘मन्त्रीहरूले गल्ती गर्छन् भने कारवाही हुन्छ भन्ने अर्थमा मैले मन्त्रीहरू हेरफेर पनि हुनसक्छन्, भनेको हो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीज्यूले जे हुँदैन भन्नुभएको छ भने उहाँले जे भन्नुभयो त्यही आधिकारिक हो ।’

केही दिनअघि सम्पादकहरूसँगको कुराकानीमा प्रचण्डले मन्त्रीहरू हेरफेर हुनसक्ने संकेत गरेका थिए । त्यसपछि शनिबार काठमाडौंमा ओयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीहरू हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई आफूले मन्त्रीहरूले राम्रो काम गर्न थालेछन् भन्ने अर्थमा बुझ्ने प्रचण्डको प्रतिक्रिया छ ।

साथै उनले आफ्नो भारत भ्रमण सफल भएको पनि बताए । नेपालमा स्थिरता, शान्ति र समृद्धि होस्, भन्ने भारतीय चाहना आफूले पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १६:१७