८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मुलुकी संहिताबारे सूर्य थापाको टिप्पणी ‘उहिले मरिन् सासु, अहिले आए आँशु’


 २४ भदाै, काठमाडाैँ । नेकपाका नेता सूर्य थापाले मुलुकी संहिता (देवानी र फौजदारी ) २०७४ बारे टिप्पणी गर्दै  ‘उहिले मरिन् सासु, अहिले आए आँशु’ जस्तो भएको बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा एउटा टिप्पणी राख्दै नेता थापाले लेखेका छन

‘उहिले मरिन् सासु, अहिले आए आँशु : मुलुकी संहिता (देवानी र फौजदारी ) २०७४ – रूपान्तरित व्यवस्थापिका संसदले पारित गरेको हो र राष्ट्रपतिबाट २०७४ असोज ६ गते नै प्रमाणिकरण गरिएको थियो । पारित अवस्थाको कानुनमै २०७५ भदौ १ गतेबाट लागू हुने स्पष्ट उल्लेख थियो । तेतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री, मोहनबहादुर बस्नेत संचारमन्त्री र यज्ञबहादुर थापा कानुनमन्त्री हुनुहुन्थ्यो ।

मैले जानेबुझेसम्म तिनैजना महाशयहरू नेपाली काँग्रेसका सभापति र जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो र हुनुहुन्छ नै । सभामुख ओनसरी घर्तीमगर तत्कालीन माओवादी केन्द्रबाट चुनिएको तथा हाल नेकपाको केन्द्रीय सदस्य बहालै हुनुहुन्छ । नेपाल पत्रकार महासंघमा नेपाली काँग्रेस(प्रेस युनियन)को सहयोगमा माओवादी केन्द्र(सेन्टर) बाट गोविन्द आचार्य अध्यक्ष भएर नेतृत्व सम्हालिसक्नु भएकोमा कहाँनेर भूलचूक भयो र प्रेस स्वतन्त्रता विरोधी मुलुकी संहिता संसदबाट पारित हुँदासमेत थाहापत्तै हुनसकेन वा भएन ?

अनि, लागू भएपछि मात्र उताउलो रोइलो चलिरहेको छ ? संसदबाट रातारात त कुनै कानुन पारित हुदैनन्; त्यसको निकै लामो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । अनि महासंघमा विराजमान नेतृत्व कहाँ बेखबर भएको त ? यो त जवाफदेही कार्यसम्पादन तरिका होइन र मानिदैन । महासंघका शाखा, एसोसिएट र प्रतिष्ठानका नेतृत्वकर्ता र आम सदस्यहरुले आफ्नो कुम्भकर्ण निद्रामा सुकुला केन्द्रीय नेतृत्वसँग सिधासिधा जवाफ खोज्नुपर्ने देखियो । जहाँसम्म जंगबहादुर राणा र राजा महेन्द्रको पालामा जारी मुलुकी ऐन त संशोधन भएका थिए ।

यो संहिता त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम संसदले बनाएको हो र औचित्यका आधारमा पत्रकारमैत्री संशोधन गर्न नसकिने हुनसक्दैन र छैन । आश्चर्यको कुरा त सबैभन्दा बढी सुसूचित हुने, गर्ने र गराउने पत्रकार जगतको नेतृत्व र कडा मेहनत गरी पढेर मात्रै उत्तिर्ण हुने डाक्टरहरूको संघले नबुझेको हो कि बुझ पचाइरहेको होला ? एउटा कानुन लागू हुनासाथै कोकोहोलो मच्चाउने तरिका अस्थिरतालाई जारी राख्न त्यस्ता तत्वहरूलाई मलजल गर्नु मात्रै हो । विषयबस्तु र सन्दर्भलाई तोडमरोड र ढाकछोप गरी दिउसै रात पार्नखोज्नु त भएन नि ! सबैलाई चेतना भया !!!’

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १२:३३