१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेकपा (एमाले)का तीन पदाधिकारीले प्रत्यक्ष चुनाव नलड्ने, अन्य कहाँबाट लड्दैछन ?


१५ भदाै, काठमाडाैँ । प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर निर्वाचनको तयारीमा लागेको संसदको सबैभन्दा ठूलो तर प्रमुख प्रतिपक्षी पार्टी नेकपा (एमाले)का १९ मध्ये तीन पदाधिकारीले प्रत्यक्ष चुनाव नलड्ने भएका छन । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन पदाधिकारी अग्रसर नहुने भएका हुन ।

उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव विष्णु रिमाल रहेका छन । तीन मध्ये ज्ञवाली र रिमालको अहिलेसम्म निर्वाचन क्षेत्र छैन् । उनीहरूले यसअघि प्रत्यक्ष चुनाव नलडेका कारण अन्य नेताको जस्तो निश्चित निर्वाचन क्षेत्र छैन भने थापाको माओवादीमा हुँदा निर्वाचन क्षेत्र भए पनि एमाले भएपछि राष्ट्रियसभामा चुनाव लड्दा पराजित भएका थिए । थापाको माओवादीमा हुँदाको निर्वाचन क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल हाल सांसद नै रहेका छन ।

बादल पछिल्लो निर्वाचनमा पराजित भएका कारण र पोखरेलले आफ्नो क्षेत्र नछोड्ने भएका कारण प्रत्यक्ष निर्वाचनमा सहभागी हुने सम्भावना कम छ । उनी एमालेको पछिल्लो केन्द्रीय कमिटीले बनाएको मापदण्ड अनुसार पनि उम्मेदवार हुन योग्य छैनन् । त्यसकारण उनी समानुपातिकको सूचीमा बस्ने वा पुनः अर्को पटक राष्ट्रियसभामा जाने भन्ने विकल्प रहेको छ । थापाले आफू निकटकाहरूसँग कुराकानीमा चुनावमा जाने सम्भावना कम भएको बताउँदै आएका छन ।

त्यस्तै ज्ञवालीको जोड समानुपातिकमा रहेको छ । समानुपातिक भए सुरक्षित हुने उनको बुझाइ छ । ज्ञवालीको अहिलेसम्म कुनै विशेष खालको निर्वाचन क्षेत्र छैन् । उनी बढीजसो पार्टी काममै रमाउने नेतामा पर्छन ।

उपमहासचिव विष्णु रिमाले पार्टी नेतृत्वको तर्फबाट निर्वाचनको मुख्य कमाण्ड सम्हाल्ने भएका कारण उनी प्रत्यक्ष चुनावमा जाँदैनन् भन्ने प्रष्टै देखिएको छ । रिमाल केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिव रहेका छन । रिमाल अहिलेसम्म प्रत्यक्ष चुनावमा लडेका छैनन् । कतिपयले नुवाकोट २ को सन्दर्भमा रिमालको चर्चा गर्ने गरेको भए पनि उनको रूची त्यता जाने देखिएको छैन । रिमाल पनि समानुपातिकमा बस्ने सम्भावना देखिएको छ ।

अन्य १६ जना पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव लड्ने छन भने, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँबाट चुनाव लड्नेछन । त्यस्तै अन्य उपाध्यक्षहरू विष्णु पौडेल रूपन्देहीबाट,  सुवासचन्द्र नेम्बाङ इलामबाट र सुरेन्द्र पाण्डे चितवनबाट  चुनाव लड्नेछन । त्यस्तै महासचिव शंकर पोखरेल दाङबाट चुनाव लड्नेछन ।

उपमहासचिवद्धय प्रदीप ज्ञवाली गुल्मीबाट र पृथ्वीसुब्बा गुरूङ लमजुङबाट चुनाव लड्नेछन । त्यस्तै सचिवहरूमा गोकर्ण विष्ट गुल्मीबाट, योगेश भट्टराई ताप्लेजुङबाट, टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, लेखराज भट्ट कैलालीबाट, छविलाल विश्वकर्मा रूपन्देहीबाट, पद्मा अर्याल स्याङ्जाबाट र रघुबीर महासेठ धनुषाबाट चुनाव लड्नेछन ।

(नोटः यसअघिको समाचारमा समानुपातिक हुनुपर्नेमा ‘टाइप मिस्टेक’का कारण अन्यथा हुन गएकोमा क्षमायाचनासहित सुधार गरिएको छ । -प्रधानसम्पादक)

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १०:०९