१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राजनीतिक परिवर्तन र पत्रकारको संघर्ष बोल्ने उपन्यास ‘मध्याह्न, झुल्के घाम र गोधूली’


-किरण देउजा 

१० भदाै, काठमाडाैँ । लेखक तथा पत्रकार ईश्वर दाहालको उपन्यास ‘‘मध्याह्न, झुल्के घाम र गोधूली’ लोकार्पण भएको छ ।  शुक्रबार काठमाडौको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा भएको एक कार्यक्रममा उपन्यास लोकार्पण गरिएको हो ।

आख्यानकार बुद्धिसागर, लेखक तथा पत्रकार वसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र उपन्यासका लेखक ईश्वर दाहालले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरे । उक्त पुस्तक सार्वजनिक पश्चात् उपन्यासमाथि अन्तरक्रिया समेत गरिएको थियो ।

आख्यानकार बुद्धिसागरले उपन्यासमा लेखकले नयाँ शैली प्रयोग गरेको जसले गर्दा पाठकले पढ्न रुचाउने बताए । ‘उपन्यास सुरु कसरी भएको छ, त्यसपछि म पूरा पढ्ने कि नपढ्ने निर्धारण गर्छु । सुरूवात प्रभावकारी ढङ्गले गर्नुभएको छ । पुस्तकको कथा भन्ने शैली राम्रो लाग्यो,’ बुद्धिसागरले भने ।

लेखक तथा पत्रकार बसन्त बस्नेतले ईश्वरको उपन्यासले पत्रकारको इतिहास लेख्न सकेको बताए ।‌ ‘इतिहासको ड्राफ्ट पत्रकारिताले कोर्ला । पत्रककारको इतिहास भने ईश्वर जीको उपन्यासले लेखेको छ,’ वसन्तले भने, ‘उहाँले पत्रकारिता जीवनमा आफू र आफूले भोगेको संघर्षलाई उपन्यासमा कथा बनाउनुभएको छ ।’

उनले भने, ‘पत्रकारले पत्रकारिता बाहेक सबै थोक गर्छन्, सम्पादक-सम्पादक जस्तो छैन्, रिपोर्टरले जे गर्नुपर्ने हो, त्यो गरेका छैनन्। आफू सम्पादक तहको जिम्मेवारी भए पनि खासै सुधार्न सकिएको छैन ।“

“न्युजरुमा हुने कुरा पत्रकारहरु सबै जानकार छन्। कसैले बाहिर ल्याउन सक्दैनन् । तर ईश्वर जी ले आँट गर्नु भएको छ, वहाँ धन्यवादको पात्र हुनुहुन्छ ” बस्नेतले भने । विसं २०४६ सालयता नेपालमा भएका राजनीतिक परिवर्तनलाई आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखिएको बताए ।

समाजशास्त्री नारायणी देवकोटाले देशको राजनीतिक परिवर्तनलाई रोचक ढङ्गले लेखकले उपन्यासमा प्रस्तुत गरेको बताइन् । ‘पत्रकारको खास जिन्दगी, भोगाइ, संघर्ष आदि बारे मिहिन ढंगले लेखेको पाए । उहाँको उपन्यासले पात्रको जिन्दगीबाट इतिहास भन्छ । किनारामा बसेर साक्षीले भन्दा ऐतिहासिक कुरा आउँछु,’ नारायणीले भनिन् ।

उपन्यासका लेखक ईश्वरले आफूले देखेको र भोगेको परिवर्तनलाई उपन्यासका रुपमा लेखेको बताए । “केही लेखौ भन्ने, हुटहुटी, अहमता अनि जोशले लेख्न थालियो। काठमाडौ आएपछि, कताबाट उच्छिटिएर पत्रकारिता आइपुगे, पत्यो पाईन ” उनले भने ।

पत्रकारितामा ट्योबलाईट साप्ताहिक देखि यात्रा सुरि गर्दै, टेलिभिजन हुँदै अहिले अनलाइन काम गरेको अनुभव बाँडे । २०६७/६८”सालतिर पत्रकारले ३/४ महिनाको तलब पाउदा समाचार बनेको रोचक प्रसंग समेत सेयर गरे ।

‘समाजमा एउटा वर्गलाई अर्को‌ वर्गले सधैं प्रश्न उठाउँछ । जसले बढी प्रश्न उठाउँछ, ऊ बढी जवाफदेही हुनुपर्छ । तर, कालान्तरमा प्रश्न गर्ने मान्छे जवाफदेही नभएको पाएँ,’ ईश्वरले भने, ‘देशमा परिवर्तन भए पनि सामान्य मानिसको आँखाले कसरी हेरिरहेको छ त ? त्यही आम मान्छेको आँखाबाट हेरेर उपन्यास लेखेँ ।’

धेरैपटक पढे, केहि मित्रहरू पढ्न दिए ! बल्ल उपन्यास भएको जस्तो अनुभुती लागेर प्रकाशित गरेको बताए । तर आफ्नो उपन्यासमा आफू पाठक बन्न हर कोसिस गरेर पनि नसकेको उनले बताए ।

अन्तरक्रियाको मध्यस्तकर्ता पत्रकार स्वेता सिन्हाले गरेकी थिईन । यस अघि दाहालका दुई पुस्तक प्रकाशित भैसकेका छन । ‘महाकाब्य’ र ‘मेरो महान चित्रकारिता’ नामक कथा संग्रह प्रकाशित छ। शुक्रबार लोकार्पण भएको ‘मध्याह्न, झुल्के घाम र गोधूली’ उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो । यसको मूल्य रु ८८८ रहेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार २२:१३