१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२७ साउन, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो ।

भैरहवाबाट तौलिहवा तर्फ जाँदै गरेको लु १ ख ४५१६ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको यादवले चलाएको लु ७६ प १४१२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

हिजो बेलुकी ८ बजे भएको सवारी दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय पकडीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार १२:०८