४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

४८ करोड रूपैयाँ बैंकिङ कसुरको मुद्दा लागेका नुवाकोटका अमित श्रेष्ठ जेल चलान


-निराजन आत्रेय

२५ साउन, काठमाडाैँ । विशाल सिमेन्टका पूर्व सञ्चालक समेत रहेका व्यवसायी अमित श्रेष्ठ जेल चलान भएका छन् । क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोग लागेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले  मंगलबार पूर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ । श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ । नेपालमा अवैध रहेको क्रिफ्टो कारोबार गर्ने गरेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको विदुर नगरपालिका–२ स्थायी घर भइ काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई पानीपोखरीबाट पक्राउ गरेको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाहीका गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो । शुरुमा अभद्र व्यवहारमा मुद्दाको प्रक्रिया अगाडी बढाएकोमा पछि अनुसन्धानमा क्रिप्टो करेन्सीमा समेत संलग्न देखिएको जनाएको छ ।

श्रेष्ठबाट बरामद भएका मोबाइल, ल्याटपलगायतका डिभाइसहरु जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो । फरेन्सिक ल्याबले बरामद ती डिभाइसहरुबाट क्रिफ्टो करेन्सीको कारोबार हुने तथ्य फेला परेको रिपोर्ट दिएपछि सोही आधारमा उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

शंकास्पद रकम श्रेष्ठ समेत सदस्य रहेको भाइबर ग्रुप ‘फिटबेला एक्सचेन्ज’ बाट क्रिफ्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ । साथै श्रेष्ठसँग रहेको विभिन्न बैंकमा जम्मा भएको रकमको विषयमा पनि प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम हरको पाइएको छ । सन् २०१९ जुलाई २ देखि सन् २०१९ अगस्ट ८ सम्मको एक महिनाकै अवधिमा रोयल बैंक अफ क्यानडामा १ करोड ९५ लाख ४६ हजार २५२ रुपैयाँ बराबरको डलर श्रेष्ठले जम्मा गरेको खुलेको छ ।

त्यस्तै, सन् २०१९ जनवरी ७ देखि सन् २०१९ अप्रिल २४ सम्मको अवधिमा कमनवेल्थ बैंक अस्ट्रेलियाको खातामा १ करोड ५० लाख ६२ हजार २७९ रुपैयाँ बराबरको डलर जम्मा भएको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले श्रेष्ठलाई मुद्दा दायर गरेको हो ।

श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ) अनुसारको कसुर गरेको ठहर गरिएको छ । अनुसन्धान प्रतिवेदनमा सोही कसुरअनुसार सजाय मागदाबी गर्न सिफारिस गरिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को देहाय (घ) मा इजाजत विना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । सोही ऐनको दफा १०४ को उपदफा (१) को देहाय (ग) मा इजाजत विना विदेशी विनिमयसम्बन्धी कारोबार गर्नेलाई बिगो भए बिगो जफत गरी बिगो बराबरको जरिवाना र १ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ । श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो ।

नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरुका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो । श्रेष्ठ नेपाली कांग्रेस निकटका व्यवसायी हुन ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १९:३८