१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

राष्ट्रिय मुद्दामा सही र तथ्यपरक विश्लेषण हुनै सकेनः उपमहासचिव गुरूङ


२२ साउन, पोखरा । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय स्तरमा उठेका मुद्दा र सवालहरुमा सही र तथ्यपरक विश्लेषण आवश्यक भएको बताएका छन । नेपाल प्रगतिशील प्राध्यापक संगठनको गण्डकी प्रदेश सम्मेलनको पोखरामा उद्घाटन गर्दै उपमहासिचव गुरुङले सही र तथ्यपरक विश्लेषण अहिलेको आवश्यकता रहेको बताए ।

उपमहाचिव गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किन्छ भन्दै प्राध्यापकहरुले अनुसन्धान गरेर वास्तविकतालाई उजागर गरी सही जनमत निर्माणको आधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बर्हिगमन प्रतिनिधिसभाबाट मात्र हुनेभन्दै वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो संगति बिनाको भएको बताए ।

नेपालमा एमसीसी, एसपीपी, आर्थिक संकट, शिक्षा र स्वास्थ्यको सवाल लगायत धेरै सवालहरू आएका र यस्ता सवालहरुमा अझै सही विश्लेषणको आवश्यकता रहेको उपमहासचिव गुरूङले बताए ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको संचालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिए ।

अधिकारीले इमान्दार र असल नागरिकले संगठनलाई सही रुपमा नेतृत्व दिनसक्छ भन्दै प्रगतिशील प्राध्यापक संगठनले अग्रगामी विचार निर्माणका लागि भूमिका खेल्नु पर्ने बताए । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले संगठनले राष्ट्रियस्तरमा उठेका विभिन्न सवालहरुमा देशव्यापी रुपमा विषयगत बहस संचालन गर्दै आएको जानकारी दिए ।

उनले संगठनले पेशागत हकहितको सवालदेखि लिएर प्रगतिशील प्राध्यापक संगठनले उच्चशिक्षाको सुधारका लागि पनि विभिन्न पहल गर्दै आएको जानकारी दिए । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. पदमप्रसाद खतिवडाले सत्ताको आडमा विभिन्न विश्वविद्यालयहरुमा तालाबन्दी भएको बताउँदै विश्वविद्यालयहरुको स्वायत्तताको रक्षाका लागि संगठन जोडदार रुपमा लाग्ने बताए ।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी, नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव कृष्णराज अधिकारी र देवराज अर्यालले पनि मन्तव्य राखेका थिए । त्यसअधि डा. श्रीकान्त खतिवडाले आर्थिक समृद्धिका लागि पर्यटन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका क्याम्पसका प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त सम्मेलनले विष्णुप्रसाद अधिकारीलाई प्रदेश समितिको अध्यक्षमा निर्वाचित गरेको छ । २१ सदस्यीय उक्त समितिको उपाध्यक्षमा विजयराज पन्त, सचिवमा हेमचन्द्र चौलागाई, सचिवमा होमनाथ तिवारी र कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन ।

कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य अनिश दाहाल, विनोद जोशी जीवनाथ तिम्सिना, गिरधारी दाहाल, धनेश्वर रखालको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार ०८:१६