६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

वन्यजन्तुको बढदो अवैध व्यापार


२४ फागुन, वीरगंज । वीरगंज स्थित पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–शिकारी अवैध व्यापार बढ्दै गइरहेको छ ।
जैविक विविधताले भरिपूर्ण, मनोरम दृश्य र प्राकृतिक सौन्दर्यको कारण पर्यटकीय गन्तव्यको रुपमा विस्तार हुँदै गएको पर्सा राष्ट्रिय निकुञ्जमा जिब जन्तुको तस्करी प्रमुख समस्या तथा चुनौतीका रुपमा थपिँदै गएको छ ।

निकुञ्ज प्रशासनले निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्तुको संरक्षणको निरन्तर प्रयास गरे पनि जरायो, चितल, बँदेलजस्ता आहाराजन्य प्रजातिको छिटफुट रुपमा चोरी–शिकारी हुने गरेको छ भने बेला बखत दुर्लभ रेडपाण्डा, गौरी गाई, हात्तीका आखेतोपहार लगायतका चीजवस्तुको अवैद्य व्यापार हुने गरेको पाइएको छ ।

यसैगरी निकुञ्जमा रहेको साल र सतिसाल लगायतको महत्वपूर्ण काष्ठजन वनपैदावार अवैद्य रुपमा चोरी–निकासी हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । आव ०७३÷७४ मा पर्सा राष्ट्रिय निकुञ्जमा रहेको दुर्लभ पाटेबाघ, हात्ती, गैँडा, गौरीगाई लगायतका दुर्लभ वन्यजन्तुको कुनै पनि कारणले मृत्यु नभए तापनि वन डढेलोमा परी दुई वटा दुर्लभ अजिंगरको मृत्यु भएको छ भने यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको ५९ किलोमिटर लम्बाइ भएको राजर्मागमा १३ चितल, दुई जरायो, चार बँदेल, एक अजिंगर तथा एक वटा सुनगोहीको मृत्यु भएको छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हुने यस्ता अवैध क्रियाकलाप नियन्त्रण गरी समग्र जैविक विविधताको संरक्षण, संवद्र्धन र व्यवस्थापनका लागि निकुञ्ज प्रशासनले १५ स्थानमा निकुञ्ज पोष्ट तथा सुरक्षा पोष्ट स्थापना गरिएको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार १३:३४