८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पर्यटकको ध्यान तान्दै बहुबलीको उपमा पाएको रसुवाको भाङ्गे झरना


१५ साउन, नुवाकोट । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २ मा रहेको बहुबलीको उपमा पाएको भाङ्गे झरना अहिले फेरि चर्चामा छ । त्रिदेशीय मार्गको ट्रयाक खुलेपछि आवतजावतमा सहज भएको र सामाजिक सञ्जालहरूका कारण चर्चित बनेको प्राकृतिक मनोरमयुक्त झरनामा आन्तरिक पर्यटकको भीड नै देखिन्छ ।

अझ विदाका दिनमा त एक हजार भन्दा बढी मानिसहरू झरनामा पुग्ने गरेका छन । हामीले साउन १४ को शनिबारका दिन झरनाको अवलोकनामा पुगेका वेत्रावतीका शशिकुमार डङ्गोलले देखेको कुरा उनकै शब्दमा यहाँ प्रस्तुत गरेका छौँ ।

रसुवाको उतरगया गाउँपालिका वडा नं-२ स्थित डाडागाउंमा अवस्थित “भाङ्गे झरना” आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चाडपर्व तथा बिदाको दिन र फुर्सदहुनेहरु दिनहुुँ जसो यो झरनाको सुन्दरता हेर्न हिजोआज रसुवा नुवाकोट धादिङ चितवन गोर्खा मकवानपुर तथा काठमाडौ आसपासका क्षेत्रबाट मानिसहरु झरनामा पुग्न थालेका छन ।

शनिबारको दिन अन्य दिनको तुलनामा धेरै मान्छेको भीड लाग्ने गरेको छ । बाटोमा आउने जानेहरुको लर्को, पौडी खेल्ने, छाङामा रमाउने, टिकटक, फोटो, भिडियो बनाउनेहरुको बाक्लै उपस्थिति देखियो । लाग्य्थो, त्यहा कुनै उत्सब, जात्रा भैरहेको छ ।

बर्षातको समय भएपनि अबको दिनहरूमा छोटो समय छुट्टी मनाउन, पारिवारिक जमघटमा रमाउन यो थलो जनमानस बिच उपयुक्त बनेको देखिन्छ ।

यो झरना बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक खण्डको नयाँ अन्तर्राष्ट्रिय केरुङ गल्छी बिरगंज राजमार्गमा पर्दछ । यो सडक खण्ड खुलेपछि यो झरना मानिसहरूले देख्न थाले र त्यहाँ रमाउन थाले । यो बेत्रावतिबाट जम्मा ५ किमि उत्तरतर्फ पर्दछ । आधाजसो सडक अहिले पिच भैसकेको छ भने बाँकी ग्राबेल छ । जान आउन भने त्यति समस्या छैन । बेत्रावती मैलुङ स्याफ्रुबेसी सडक पुरा सम्पन्न भैसकेपछी यो स्थानको अझै  रौनकता थपिने छ ।

गाउँपालिकाले थप आकर्षक योजनाको कार्यक्रम ल्याइ स्थानीयको आर्थिक जिबिकोपार्जन तर्फ दिगो पर्यटनलाई टेवा पुग्ने गरि काम गर्नुपर्ने देखिन्छ । यसतर्फ सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरुले बिशेष चासो लिनुपर्छ । असारदेखि असोजसम्म झरनाको बाताबरण निकै राम्रो देखिन्छ । तपाईं पनि आफ्नो आफन्त,साथीभाइ,परिवारका साथमा यो झरनाको सौन्दर्यता नियाल्न र आनन्दित महसुस गर्न रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर २ को डाडागाउँ- भाङ्गे झरनामा पाल्नुहोला । -शशिकुमार डङ्गोल

तस्बीरहरू दैनिकी

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १५:२१