८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पदक विजेता पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने


१८ भदाै, कास्की । इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ ।

सो एशियन खेलकूदमा पोखराबाट पाराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका साथै सम्मान गर्ने भएको हो ।

para

सो अवसरमा खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराई पोखरा रङ्गशाला पुगेर सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराउनुभयो ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्टकोसमेत सहभागिता रहने बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार १३:५१