७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नगरकोटका होटल स्तरीकरण, अनुगमनमा परेका ३० मध्ये दुई होटलमा अति उत्तम स्टिकर


५ साउन, काभ्रे । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलको स्तरीकरण गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले होटल स्तरीकरणसँगै लोगोसमेत वितरण गरेको छ ।

स्थलगत अनुगमन निरीक्षणका क्रममा ३० होटलमध्ये दुई होटल हरियो स्टिकर (अति उत्तम ‘क’) तथा एक होटल (उत्तम ‘ख’) मा परेका छन् । यस्तै चार होटलले हरियो स्टिकर (मध्यम ‘ग’) र २३ होटलले पहेँलो स्टिकर (सन्तोषजनक ‘घ’) प्राप्त गरेका छन् । खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४ अनुसूची–१ बमोजिम प्राप्त निवेदनका आधारमा स्तरीकरण गरिएको खाद्य निरीक्षक अतिस घिमिरेले जानकारी दिनुभयो ।

खाद्य निरीक्षक घिमिरेका अनुसार सरसफाइ, सेवा प्रदानलगायत ५० सूचकका आधारमा कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी सम्मिलित टोलीद्वारा नगरकोटका होटलको अनुगमन गरिएको थियो ।

स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई सार्वजनिकरूपमा फ्लेक्स बनाएर टाँस्न अनुरोध गर्दै प्रमाणपत्रसमेत प्रदान गरिएको छ । स्तरीकरण गरिएका होटललाई ६ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए स्तरीकरण लोगोमा एक तह घटाइने उहाँले बताउनुभयो । विभागले खाद्य स्वच्छताका आधारमा स्तरीकरण लोगो र स्टिकर प्रदान गर्दैआएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १०:१०