११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

लमजुङमा ८१ प्रतिशत रोपाइँ


१ साउन, लमजुङ । लमजुङमा हालसम्म ८१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदिप खतिवडाले बताए ।

लमजुङमा बर्खे र चैतेधान गरी १३ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिवेला बर्खेधान रोप्ने काम भइरहेको छ । लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला खेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ सुरु भएको थियो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्‍न बाँकी छ ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्स लमजुङमा धान रोपाइँ चाँडै सुरु गरिएको थियो । लमजुङको ठूला-ठूला फाँटहरू राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानामा मकै पाकेसँगै धान रोपाइँ भइरहेको छ ।

लमजुङका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या– २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आईतवार १८:२९