१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एसियाडमा रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीलाई जनही ५ लाख दिने


१६ भदौ,काठमाडौँ । इण्डोनेसियामा जारी १८ आैँ एशियाली खेलकूदमा रजत पदक जित्न सफल प्याराग्लाइडिङका खेलाडीले जनही रु पाँच/पाँच लाख पाउने भएका छन् ।

राष्ट्रिय खेलकूद परिषद को २०६८ साल चैत २१ गतेको सञ्चालक समिति बैठकले एशियाडमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण जिते रु २५ लाख, रजत जिते १५ लाख र कास्य जिते रु १० लाख तथा समूहगत स्पर्धातर्फ स्वर्ण जिते प्रतिखेलाडी रु १०, रजत जिते रु पाँच र कास्य जिते रु दुई लाख दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार नेपाली प्याराग्लाइडिङ टोलीले अब जनही रु पाँच लाख पाउने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले जानकारी दिनुभयो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको नेपाली टोलीले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिएको थियो ।

यस्तै प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले जनही रु तीन लाख पाउने छन् । त्यसैगरी पदक दिलाएबापत प्रशिक्षक र खेल सङ्घलाई समेत पुरस्कार दिने निर्णय भएको थियो । सोही निर्णयअनुसार प्याराग्लाइडिङ सङ्घले पनि रु छ लाख पाउने भएको छ । इण्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली आइतबार बेलुका नेपाल आइपुग्ने महासचिव रावतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार १४:२९