१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

त्रिविमा स्वतन्त्र उमेद्वारीको सन्देश

-नोदनाथ त्रिताल र प्रदिप प्रसाद सापकोटा

देशैभर स्थानीय तहमा राजनीतिक दलहरुको सिफारिसभन्दा फरक स्वतन्त्र रुपमा उमेद्वार भएर स्थानीय सरकार निर्माणमा सहभागिता खोजी गर्ने धेरै युवाहरुले राजनीतिक दलका उमेद्वारहरुलाई पछि पार्दै निर्वाचन जितेर जिम्मेवारी पाएका छन् । काठमाडौ महानगरपालिका, धनगढी र धरान उपमहानगरपालिकाको मेयर पदमा जित्ने युवा पुस्ताको निकै चर्चा भएको छ । काठमाडौ र धरानमा लौरो चुनाव चिन्ह लिएर मेयर पद जितेकोले लौरोको चर्चा पनि निकै भइरहेको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय सरकारको निर्वाचन लगत्तै गत आषाढ १० गते सम्पन्न त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचनमा पनि स्वतन्त्र उमेद्वारीले चर्चा पायो । केन्द्रीय समितिको २५ सदस्यीय कार्य समितिको निर्वाचनमा महासचिव र सदस्य पदमा दुई जनाको स्वतन्त्र उमेद्वारी परेको थियो । संयोगवशः स्थानीय तहको निर्वाचनमा चर्चामा रहेको चुनाव चिन्ह लौरो नै दुवै स्वतन्त्र उमेद्वारहरुको चुनाव चिन्ह रहेको थियो । त्रिभुवन विश्वविद्यालयमा पनि लौरोको प्रवेश भयो र लौरोले स्वतन्त्र उमेद्वारीको सन्देश प्रवाह गरेको छ । हामी दुवै जना स्वतन्त्र उमेद्वार रहेको कारण हामीले यो लेखमार्फत हाम्रो अनुभव शेयर गर्न खोजेका छौं ।

कसरी जन्मियो त्रिविमा स्वतन्त्र उमेद्वारी ?

संघ संगठनहरु निर्वाचनमा उमेद्वार उठाउन आफ्ना समर्थक कर्मचारीहरुको सूची तयार गर्न व्यस्त थिए । समूहहरुको आन्तरिक समिकरण मिलाउने र प्यानल खडा गर्ने एउटा कुरा थियो भने गठबन्धन गरेर निर्वाचनमा जाने छलफल अर्कोतिर चलिरहेको थियो । एउटा समूह भने चुनाव नै नगरी सबै पक्ष मिलाएर स्वःघोषित रुपमा भागबण्डाका आधारमा नयाँ नेतृत्व चयन गरौं भन्ने एजेण्डा अगाडि सार्दै थिए । यी सबै प्रयासहरु दलगत रुपमा पदीय भागबण्डामा केन्द्रीत थिए । कर्मचारी हक हितका लागि के गर्न सकिन्छ? भन्ने दृष्टिकोणहरु शुरुदेखि नै छलफलका एजेण्डा बनेको देखिएन ।

संघ संगठनहरुभित्र भने पदहरु भागबण्डा मिलेपछि मात्र घोषणा पत्रको रुपमा केहि एजेण्डाहरु ल्याइएका थिए । अन्ततः प्रगतिशिल समूह एकल प्यानलमा उमेद्वारी दिएर गयो भने प्रजातन्त्रवादी समूह, राष्ट्रिय कर्मचारी संगठन, एकीकृत कर्मचारी संगठन लगायत मिलेर संयुक्त गठबन्धन गरी चुनावी मैदानमा उत्रियो । यसै बीचमा एघार प्रतिबद्धताका एजेण्डा लिएर हाम्रो तर्फबाट एउटा स्वतन्त्र विचार अगाडि सारियो । यी एघार प्रतिबद्धताहरु कर्मचारीहरुलाई झुठा आश्वासन बाँड्ने खालका नभएर कर्मचारीहरुको शिष्टता, शिष्ट व्यवहार, विश्वविद्यालयको सुशासन, पारदर्शीता, जवाफदेहिता प्रवद्र्धनका लागि उठाइएका सवालहरु रहेका थिए ।

यहि स्वतन्त्र विचारलाई आफ्नो प्रतिबद्धता पत्रको मुल सार मानेर हाम्रो तर्फबाट स्वतन्त्र उमेद्वारी दिइएको थियो । दुई जना स्वतन्त्र उमेद्वारलाई फरक फरक पदमा उमेद्वारी दिए पनि निर्वाचन समितिले एउटै चुनाव चिन्ह लौरो प्रदान गरेपछि लौरोको सहकार्य भयो र स्वतन्त्र विचार लिएर हामी पनि स्वतन्त्र उमेद्वार खडा भयौं ।

के संघ संगठनहरुको विकल्प हो त स्वतन्त्र उमेद्वारी ?

निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिनु भनेको आस्थाशुन्य भएर उभिनु होइन । आस्था जहाँ जता रहे पनि स्वतन्त्र एजेण्डा लिएर निर्वाचनमा जान पाउनु प्रत्येक कर्मचारीको अधिकार हो । स्वतन्त्र उमेद्वारी दिएपछि हामीले आस्थाभन्दा संस्था माथि भन्ने मुल नारा नै बनायौं । आस्थाका आधारमा विश्वविद्यालयमा क्रियाशिल संघ संगठन र समूहहरुको विकल्पको रुपमा हामीले स्वतन्त्र उमेद्वारी दिएको भने होइन । स्वतन्त्र उमेद्वारी संघ संगठनहरुको विकल्प होइन भन्ने कुरामा हामी प्रष्ट थियौं र निर्वाचन परिणामले पनि त्यहि सन्देश दिएको छ । स्वतन्त्र उमेद्वारी संघ संगठनहरुलाई खबरदारी हो ।

विश्वविद्यालयमा क्रियाशिल संघ संगठन र समूहहरुलाई हामी सम्मान गर्दछौं । असल कर्म गर्नको लागि विश्वविद्यालय हाम्रो कर्म थलो हो । यहि कर्म थलोभित्र हुने गलत क्रियाकलापको विरोध गर्न, बेथिति, विसंगति, गलत कार्य, प्रवृत्ति र संस्कारको विरुद्धमा सबैले आवाज उठाउनु पर्छ भन्ने उद्देश्यले हाम्रो साँकेतिक विरोध भने अवश्य हो । त्यसैले हामीले हाम्रो प्रतिबद्धता पत्रमा विश्वविद्यालय नेतृत्व र कर्मचारी संघको नेतृत्वमाथि ४८ वटा प्रश्नहरु तेर्साएका छौं, जसले लौरोको साँकेतिक खबरदारी झैं भविष्यमा नेतृत्वलाई निरन्तर खबरदारी गर्नेछ ।

-नोदनाथ त्रिताल र प्रदिप प्रसाद सापकोटा ।

हामीले आम कर्मचारीमाझ आफुलाई चित्त नबुझेको कुरामा नेतृत्वसमक्ष प्रश्न उठाउन उत्प्रेरित गर्ने प्रयास गरेका हाैँ । कर्मचारीहरुमा गलत कार्यलाई गलत भन्न सक्ने, सहि कार्यलाई सही भन्न सक्ने आँट र आत्मविश्वास वृद्धि गर्न खबरदारीको लागि हामीले स्वतन्त्र उमेद्वारी दिएका थियौं । हामीले निर्वाचनमा जुन जनमत प्राप्त गरेका छौं, त्यसले अब हामीलाई म्यान्डेट दिएको छ कि तीन वर्षसम्म नेतृत्व गर्ने अवसर पाएको निर्वाचित कर्मचारी संघको कामकारवाहीमा निरन्तर खबरदारी गर्ने । कर्मचारी संघले गर्ने कामको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने र आम कर्मचारीहरुलाई सुसुचित गराउने हाम्रो प्रयत्न निरन्तर रहिरहनेछ । संघ संगठनहरुले पनि यो कुराको मनन् गरेकै हुनुपर्छ ।

संघ संगठनप्रतिको निराशा

स्वतन्त्र उमेद्वारहरुलाई भोट दिनु विगतदेखि नै संघ संगठनप्रति कर्मचारीहरुमा देखिएको चरम निराशा र असन्तुष्टि पनि हो । विगतमा नेतृत्वमा पुगेकाहरुबाट कर्मचारीले कस्तो अनुभुति गरेका रहेछन् भन्ने समिक्षा पनि हो निर्वाचन । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई दलीय आस्थाका आधारमा संघ संगठनहरुले गर्ने राजनीतिको साक्षी बस्नुपर्ने, जो नेतृत्वमा छ, उसको अन्धभक्त भएर आफ्ना असन्तुष्टिका स्वरहरु दवाएर राख्नुपर्ने बाध्यता विगतमा रहेछ । संघ संगठनका नेतृत्वहरु पनि आम कर्मचारीहरुबाट भनसुन, सोर्सफोर्सका लागि आफ्नो वरिपरि चाकरी शैलीमा घुमिदिए हुन्थ्यो भन्ने साँघुरो सोचाईबाट माथि उठ्न नसकेको आभाष कर्मचारीहरुमा रहेको पाइयो ।

संघ संगठनका नेतृत्वमा पुगेका कर्मचारीहरु आम कर्मचारीको हक अधिकार स्थापित गर्न भन्दा पनि रजिष्ट्रारले बढुवा हुँदाका बखत कार्य सम्पादन मुल्याँकन बापत दिने नम्बरलाई देखाएर स्वार्थको राजनीति गर्दा रहेछन् भन्ने कुरा असन्तुष्ट कर्मचारी साथीहरुको आवाजले बताइरहेको देखिन्थ्यो । यो सबैको भुक्तभोगी अधिकाँश कर्मचारीहरु नेताहरुले गर्न सक्ने भेदभावपूर्ण व्यवहारबाट पीडित हुने मानसिक डर पालेर राजनीतिक संघ संगठनप्रति निराश देखिएको पनि पाइयो । भविष्यको चिन्ता गर्ने कर्मचारीहरुको यहि कमजोरीको फाइदा उठाएर संघ संगठनहरुले स्वार्थको राजनीति गर्ने गरेको गुनासो पनि सुनियो । आखिर त्रिविमा सेवा गर्नेहरु मनमा डर राखेर अन्धभक्त हुनुपर्ने अवस्था कहिलेसम्म? किन संस्कृतिको विकास गराउने सन्देश पनि थियो स्वतन्त्र उमेद्वारी ।

अर्कोतर्फ सेवा आयोगबाट हुने खुल्ला प्रतिष्पर्धाको परीक्षा तथा आन्तरिक बढुवासम्बन्धी विज्ञापनमा आफुहरुको सिफारिस नै अन्तिम हुन्छ भन्ने भ्रम संघ संगठनहरुले छरेका हुँदा रहेछन् । त्यसैले कसैकसैले त सेवा आयोगले जाँच लिनासाथ आफु निकट कर्मचारीहरुको सिम्बोल नम्बरहरु संकलन गरेर प्रक्रियागत हुने नतीजालाई समेत आफुहरुको सिफारिसमा भएको भनी झुठा आश्वासन बाँडेका समेत हुँदा रहेछन् । पछिल्लो समय सेवा आयोगभित्र हुने अनियमितता मिडियामार्फत सार्बजनिक भएपछि र करिब एक दर्जन कर्मचारीमाथि अख्तियारले कारवाही थालेपछि भने सेवा आयोगले आफ्नो गरिमालाई बचाउन हिँजोका गल्ती दोहो¥याउँदैन भन्ने विश्वास बढ्न थालेको देखिएको छ ।

सेवा आयोगले उत्तरपुस्तिका प्रयोगसम्बन्धि कार्यविधिमा भएका त्रुटी, कमी कमजोरीहरुलाई हटाएर कार्यविधि संशोधन र सुधारमाफृत भविष्यमा अझै निष्पक्ष काम कारवाही गर्दै जाने विश्वास कर्मचारीहरुले लिएका छन् । कर्मचारी अभावका कारण दिनरात काममा जोतिनु परेका कर्मचारीहरुबाट कठोर पाठ्यक्रममा सेवा आयोगको परीक्षा दिनुपर्दाको पीडा शुन्य नतीजामा पोखिएको आभाष कर्मचारीले गरेका छन् । लोक सेवा आयोगको पाठ्यक्रममा उत्तीण प्रतिशत चालिस रहेको र त्रिवि सेवा आयोगमा पचास प्रतिशत रहेको कारण परीक्षाको नतीजा प्रभावित भएको गुनासो पनि निर्वाचनको क्रममा सुनिएको छ ।

के थिए एघार प्रतिबद्धताका एजेण्डा ?

हामीले विश्वविद्यालयमा कार्यरत आम कर्मचारीहरु शिष्ट बन्नुपर्छ भन्ने मुख्य एजेण्डा अगाडि सारेका हौं । । परिवर्तन हामीबाटै गर्नुपर्छ र हाम्रै पालामा सम्भव छ भन्ने यथार्थ कर्मचारीहरुमाझ बुझाउनु पर्ने अर्को एजेण्डा थियो । शिष्टता कर्मचारीको गहना हो र मुस्कानसहितको सेवा हाम्रो लक्ष्य हुनुपर्छ भन्ने हामीलाई लागेको हो । शिष्ट, सभ्य र सौम्य जीवन यापनका नौ शुत्रहरु त्रिविमा कार्यरत कर्मचारी बर्गको लागि अत्यन्त जीवनोपयोगी शिक्षा हुने देखेर नै हामीले शिष्टाचार अभियानलाई आत्मसात गरेका हौं । विश्वविद्यालयलाई धुम्रपान, मध्यपान र मदिरा सेवनबाट मुक्त क्षेत्र बनाउन व्यवस्थापन पक्षलाई घच्घच्याउनु पनि हाम्रो अर्को एजेण्डा थियो ।

सुशासन, पारदर्शीता, जवाफदेहिता, विधिको शासन, सूचनाको हकको कार्यान्वयनको लागि नेतृत्वलाई खबरदारी गर्नु पनि एजेण्डा रहेको थियो । कर्मचारी संघको संस्थागत आन्तरिक सुशासन सुदृढ गर्ने, कर्मचारीहरुको क्षमता विकास र व्यवहार परिवर्तन गराउने, संस्थागत शुद्धिकरण र किन संस्कृतिको विकास गर्ने, भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउने, कार्यसम्पादन मुल्याँकन र स्वःमुल्याँकनको संस्कृति एवम् प्रणाली विकास गर्ने, विश्वविद्यालयलाई सेवाग्राहीमैत्री बनाउन नागरिक वडापत्र र हेल्प डेस्क स्थापनाको लागि पहल गर्ने मुख्य एजेण्डाहरु उठाएको थियौं ।

मतगणनामा निगरानीको त्रास

निर्वाचन सम्पन्न भएपछि मतगणनाको समय केहि दिन ढिलो भयो । देशैभरबाट मत पेटिकाहरु केन्द्रमा संकलन गरेर परम्परागत ढँगले मतगणना गरिएको थियो । मतगणनाको क्रममा पनि संघ संगठनहरुले गोप्य मतदानको विषयलाई लिएर टिकाटिप्पणी गरेको सुनियो । फरक फरक क्याम्पस, कार्यालयको मतपेटिका खोलेर आफ्ना कार्यकर्ताहरुले भोट दिए कि दिएनन् भनेर निगरानी गर्ने र मतपरिणाम पछि भोट पाएको नपाएको विषयमा कर्मचारीप्रति आग्रह पूर्वाग्रह साँध्ने संभावनाले दुर दराजका क्याम्पस कार्यालयमा कार्यरत कर्मचारीहरुलाई त्रासको वातावरण बन्दो रहेछ । स्वतन्त्र उमेद्वारहरुलाई निर्धक्क भएर भोट क्रस गर्न कर्मचारीहरुको मुख्य त्रास नै यहि हुँदो रहेछ ।

समूहहरुले दुर दराजका क्याम्पस कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई आफुहरु मतगणनामा बस्ने र कहाँबाट कति प्यानल भोट आउँछ सबै एक एक थाहा हुने हुँदा निगरानीमा पर्न सक्ने मनोवैज्ञानिक त्रास दिइएको हुँदो रहेछ । गोप्य मतदान भएको मतपत्रको प्राप्त मतको आधारमा संघ संगठनहरुले कर्मचारीहरुलाई गर्नसक्ने भेदभावको संभावनालाई निर्वाचन समितिले पनि चिर्न सकेको पाइएन । निष्पक्ष र तटस्थ रहनु पर्ने निर्वाचन समितिमा बस्ने जिम्मेवार व्यक्तिहरु दिनमा निर्वाचन समितिमा काम गर्ने, साँझ बिहान संघ संगठनको पृष्ठपोषण गर्नमा एजेन्टको भुमिकामा व्यस्त रहने प्रथाको पनि अन्त्य हुन सकेको पाइएन । कम्तिमा तीन वा चार वटा निकायको मतपत्र एकै ठाउँमा मिसाएर मतगणना गर्न सके कर्मचारीहरुप्रति हुने भेदभावको वातावरण अन्त्य हुन सक्ने देखिन्छ । समग्र निर्वाचन प्रणाली नै सुधार र व्यवस्थित गर्नुपर्ने देखियो ।

स्वतन्त्र उमेद्वारीको सन्देश के ?

हामीले कुनै पनि पदमा एउटा व्यक्ति हुँदा र नहुँदामा कति फरक पार्छ भन्ने हेर्न चाहेका थियौं । एउटा व्यक्तिले साहस र आँटका साथ दृढ इच्छाशक्ति देखाई स्वतन्त्र उमेद्वारी दिँदा एक सय पचास देखि तीन सयभन्दा बढी भोट प्राप्त गर्नु, कर्मचारी साथीहरुको भावनासंग हाम्रा एजेण्डा मेल खानु र निर्वाचनमा नैतिक साथ पाउनु गौरवको विषय ठानेका छौं । लोकतान्त्रिक प्रक्रियामा व्यक्ति पराजित हुन सक्छ तर व्यक्तिले उठाएका एजेण्डा र विचारले कहिल्यै हानु पर्दैन, हामीले पनि नैतिक रुपमा जित हासिल गरेका छौं, हाम्रा एजेण्डा र प्रतिबद्धताको जीत भएको छ । यो जनमतको हामी सधैं कदर गर्दछौं ।

निर्वाचनको बेला गोप्य मतदान गरेको विषयलाई निर्वाचन परिणामपछि आग्रह पूर्वाग्रहले हेर्ने संघ संगठनका नेतृत्वको व्यवहारको हामीले खुलेर आलोचना गरेका छौं । हामीले कर्मचारी हक हितका कुरा गर्न पनि संघ संगठनहरुमाथि परनिर्भर हुनुपर्ने बाध्यतालाई तोड्न र शुरुवात सानो ढँगले गरेर पनि संस्थाभित्र व्यवहारमा ठुलो परिवर्तन गर्न गराउन सकिन्छ भन्ने सन्देश छोड्न चाहेका थियौं । संसारमा दुनियाँलाई ढाँट्न सकिन्छ, तर आफुले आफैंलाई कहिल्यै ढाँट्न सकिन्दैन । त्यसैले इमान्दार र कर्तव्यनिष्ठ भएर विश्वविद्यालय सेवामा काम गर्ने सकारात्मक सोच गरौं भन्ने हाम्रो आग्रह थियो ।

हामी व्यवसायिक राजनीति गर्ने व्यक्ति होइनौं तर विश्वविद्यालयमा हुने राजनीतिक क्रियाकलापलाई नजिकबाट नियान्ने प्रयत्न गर्दैछौं । विश्वविद्यालयको वर्तमान नेतृत्वलाई समयानुकुल कार्य गर्न अहिले राम्रो अवसर देखिएको छ, यसको सदुपयोग गर्न नेतृत्वले सक्छ, सक्दैन त्यो भविष्यमा देखिने नै छ । हामीले देखेको एउटै कुरा के हो भने उचित ठाउँमा उचित व्यक्तिलाई जिम्मेवारी दिए संस्थाको लक्ष्य प्राप्त गर्न सकिन्छ । कि त क्षमताको विकास गरेर, कि त पहिचान गरेर कुनै रचनात्मक कामको जिम्मेवारी दिइन्छ भने हामी सहर्ष त्यस्तो जिम्मेवारी वहन गर्न तयार छौं । विश्वविद्यालयको हित, कर्मचारीको हक हित र त्रिविको गरिमा अभिवृद्धि हुने अवस्थामा हामीले योगदान गर्न सक्ने ठाउँमा हामी स्वतःस्फुर्त योगदान गर्दै जानेछौं । यो हाम्रो प्रतिबद्धता हो ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १२:१५