१४ आश्विन २०७९, शुक्रबार | Fri Sep 30 2022

सोझो हिमाललाई कतिन्जेलसम्म कुल्चिरहने ?

– लक्ष्मण सिटौला

तेन्जिङहिलारीले सगरमाथामाको चुचुरोमा प्रथम पाइला टेकेको मे २९ १९५३ अर्थात आजभन्दा ६६ बर्ष अगाडि । यो ६६ बर्षको अवधीमा हामीले सगरमाथालाई शान्ति र आरामले बस्न कहिले दिएका छौ त? । फलामबाट निर्मित सबै यन्त्रहरुलाइ पनि आराम दिइन्छ। श्वास नभएको चिजलाइ के को आराम भनिदैन किनकि यो इन्जिनियरिङ सुत्र हो । बिगत पचासौं बर्षसम्म हामीले सगरमाथालाई निरन्तर कुल्चिरह्यौ । सगरमाथामा हजारौं टन फोहोर छन । यदि तापक्रम माइनस डिग्री नहुने हो भने सगरमाथामा यी फोहोर सडेर गन्हाएर बसिनसक्नु भैसक्थ्यो ।

मानिसका लासहरुदेखि अन्य फोहोरका थुप्राहरुले सगरमाथा दिनदिनै कुरुप हुँदै गइरहेको छ । हिमालयरेन्जहरुका हिउँ पग्लिनुमा हामी आफै जिम्मेवार छौ । कहि नभएको हिमाली सौन्दर्य छ हामीसग । भौतिक रूपमा हामी नेपालीहरु गरीब हौला तर हामी प्राकृतिक सौर्न्दर्यले धेरै धनी छौ । पश्चिमाहरुसग पैसा छ तर पैसाले हिमालय उभिदैन । पैसाले पहाड जन्मिदैन । पैसाले झर्ना र सिमसारहरु निर्माण गर्न सकिदैन त्यसैले उनीहरू ती चिजहरु हेरेर छामेर नजिकिएर रमाउन हाम्रोमा आउछन ।

ग्लोबल वार्मिङ त एउटा हाउगुजी मात्रै हो । यो एउटा पश्चिमी रास्ट्रहरुको चलखेल हो । सबैभन्दा धोखेबाज हामी आफै हौ प्रकृतिलाई किन दोष दिनु । सगरमाथामा रोगी भिरुङ्गी चौसट्ठी योगिनी भुत पिचास डाकिनी साकिनी बलात्कारी हत्यारा लुटाहा फटाहा भ्रष्टाचारी सुन्डा मुसुन्डा भुसतिघ्रे पनि चढे। यतिसम्म अत्याचार हुदैगयो कि सगरमाथामाको शिरमा गएर कुनै एक नरपशुले हस्तमैथुन गर्यो भन्ने कुरासम्म मिडियामा भाइरल भए । सगरमाथालाई हामी आफैले सस्तो बनाइदियौ । सबैसँग हिमालय छैन । सबैसग हिमाल भएको भए हाम्रोमा किन आउथे र? चढ्नु रमाइलो कुरा हो । शिरमा पुग्नु रमाइलो कुरा हो । शिरमा पुग्नेहरुले कीर्तिमान कायम गरेर आउछन । तर हामीले सगरमाथा रोएको कहिले देखेनौ । सगरमाथा बिश्वको शिर हो । सन्सारको सबैभन्दा अग्लो यो भुतलको स्वर्ग ।

सगरमाथा हाम्रोमा नभएर अरु कुनै देशमा परेको भए शायद त्यो देशले सगरमाथालाई लात्ती हान्न दिदैनथे होलान । हामीलाई सगरमाथाको नाम बेचेर चामलको जोहो गर्नु छ । पछिल्लो समय सगरमाथा चढ्नुलाइ अति सामान्य रूपमा लिइन थालियो । सगरमाथा चढ्नु पहिला अन्तर्राष्ट्रिय गौरवको बिषय मानिन्थ्यो । गिनिजबुकमा नाम लेखिन्थ्यो । अहिले फलानाले सगरमाथा चढ्यो भन्दा कुनै महत्त्वपूर्ण बिषय बन्दैन ।

हिजोआज अब सगरमाथा जो पनि चढ्न सक्छ । मानिसहरूमा उसग प्रसस्त धन भैसकेपछी अनेक सोच अनेक सोख आउँछ र केही नयाँ गरु भन्ने संकल्प आउँछ त्यसैको लहैलहैमा हाम्रो सगरमाथाले अनाहकमा दुख पाइरहेको छ । हिमालयको सौर्न्दर्य मात्रै बेच्नुस नकि यस्को शरीरमा कसैलाई चढ्न दिएर यस्को अस्मिता बिक्री गर्नु । हामीले हिमालयको उज्यालो मुनि त्याहाका स्थानीय शेर्पा समुदायको उत्थानका लागि खोइ के कति काम गर्न सक्यौं त ? जति तराईलाई महत्त्व दिन्छौ हिमालय काखमा बसेकाहरुलाइ वास्ता गरेनौ हामीले । अति भएपछि निर्जीवलाई पनि दुख्छ । अब केही समयलाई सगरमाथामा मान्छे चढ्न प्रतिबन्ध लगाउनुपर्छ ।

हाम्रा हिमालहरु निर्जीव होइनन । यस्लाइ निर्जीव त हामीले बनाउदै छौ । यी त सजीव छन । यी त सजल छन । यी आफै सम्मोहित र आनन्दित छन । हामी हरेक दिन सम्बाद गर्छौ हिमाल सग । यस्को असीम आनन्दमा पुलकित हुन्छौ हामी र हामीलाई हिमाल सधैं प्रिय लाग्छ । प्रिय चिज कहिले निर्जीव लाग्दैन । सगरमाथा सजीव भए रै हो यस्को बुइ चढ्ने गर्छन हरेक बर्ष।

हिमाल निर्जीव सम्झने त हामी जिवित मानव पो हौ। अब हाम्रा हिमालको सौन्दर्य यति सस्तो छैन ताकी हजारौं चढुन मनलाग्दी गरून्। अब हिमाल हेर्नको लागि मात्र हो चढ्नको लागि होइन भन्ने नारा बिकास गरु । अबका दिनमा हिमाल चढ्न जो कोहिले हिम्मत नगरोस । चढ्नै दिने हो भने पनि उस्ले राम्रै मूल्य चुकाउनु परोस ताकि त्यो रकमले नेपालको हिमाली सौन्दर्य अक्षुन्ड कायम राख्न पुगोस् । मध्यपुर्वका देशहरुलाइ जसरी तेलका प्राकृतिक कुवाहरु वरदान साबित भए त्यसैगरी हामीलाई पनि हाम्रो हिमाल बरदान साबित होस र हामीले उन्नति गर्न सकौ ।

हिजोआज एउटा नाराको बिकास भएको छ – ” हिमाल पहाड तराई कोहि छैन पराइ ” समावेशी नेपालको नव प्रध्वनी हो यो ।तर यो नारा भित्र के साच्चिकै कोहि काखा र कोहि पाखा छैनन होला त पक्कै ! सबैले भन्नेगर्छन तराईमा सुन फल्छ । तर हिमालको नाउँ हम्मेसी कसैले पनि लिदैनन । हिमालको नाम वा हिमालय क्षेत्रको चर्चा त्यतिबेला मात्रै चुलिन्छ जब बसन्त ऋतु सुरुहुन्छ । तराई र पहाडमा जब गर्मी सुरु हुन्छ अनि सबैलाई हिमाल प्यारो लाग्न थाल्छ । आजको यो लेखमा म हिमालय शौन्दर्यको कुरा वा पर्वतीय श्रृङ्गारको कुरा गर्न गैरहेको छैन । यो लेखमा हिमाल मुनिको अध्यारोको बारेमा केही कुरा भन्न गैरहेको छु ।

हिमालय पर्वतलाई आफ्नो काधमा बोकेका जिल्लाहरु जुम्ला मुगु डोल्पा मुस्ताङ मनाङ्ग गोरखा रसुवा सिन्धुपाल्चोक दोलखा सोलुखुम्बु सन्खुवासभा र ताप्लेजुङ् हुन । सातै प्रदेश अन्तर्गत पर्ने यी जिल्लाहरुको पहाडी भेग सम्म बिकासको पुर्वाधार खडा भए पनि पहाडी भेगबाट जब उत्तर तिरको हिमालय रेन्ज नजिकका स्थानीय क्षेत्र, जहाँ हिमालयको उज्यालो आउँछ त्याहाका स्थानीय जनताको समग्र बिकासको लागि सरकारको कहिले पनि ध्यानाकर्षण हुन सकेको छैन ।

नेपाल सरकार चाहे पन्चायतकालिन हुन, चाहे लोकतान्त्रिक र गणतन्त्रकालिन हुन वा प्रजातान्त्रकालिन हुन ती सबको ध्यान केवल तराई र तराइवासीले दिएको दुख सम्बोधन गर्दैमा पचासौं बर्ष बितिरहेको छ । एउटा सिङ्गो शरीरको मुटुको घाउ हो तराई तर शीर ( हिमाल ) मा फुलेको रोगी कपाल र भित्र दुखेको पिनास तर्फ हाम्रो ध्यान गएको छैन। सत्ताको लुछाचुडिमा केवल तराई मात्रैको आवाजलाई सुनियो तर हिमाल पेन किलर खाएर बाचिरहेको छ ।

नेपाल सधैं तराईको राजनीतिक समस्या समाधानमा अलमलिएको छ । हिमालय शृङ्खलाका शेर्पा समुदायको आर्थिक, सामाजिक ,सास्कृतिक ,शैक्षिक, भौतिक र धार्मिक उन्नतिका लागि हामीले कहिले पनि ध्यान दिएको देखिएन । तराईको साम्सदले सम्सद भवन भित्र मेच कुर्सी भाचिरहदा हिमालय भेगका साम्सदहरु कुन ढोकाबाट बाहिर निस्कने भनेर हातमा धुपीको माला जपिरहेका हुन्छन । खोइ किन होला हिमाल कहिले पनि सम्बोधनमा परेन वा महत्वमा परेन ।
बर्षको पचासौं करोड भन्दा बढी राजस्व हिमाल चढ्नेहरुले मात्रै नेपाल सरकारललाइ बुझाउछन । त्यस्को तीस प्रतिशत आम्दानी स्थानीय तहमा खर्च गरिएको दावी सरकारले गरेपनी त्यस्को अलिकति पनि छनक स्थानीय तहले अनुभुत गर्न पाएका छैनन । आज पनि त्याहा एक पोका चाउचाउको साठि रुपैयाँ छ । चामल लगायत अरु खाद्य पदार्थ ढुवानीमा सरकारले दिएको अनुदान पनि प्रभावहिन छ । ढुवानीमा अनुदान दिए पनि महगाइ उस्तै छ । एकातिर अनुदान दिएको बहाना गर्ने अर्को तिर महङाइमा नियन्त्रण र नियमन गर्ने निकायले रिमिते भएर बसिदिएपछी त्यस्को असर केही पनि पर्दैन ।

यातायात अभाव र भौगोलिक बिकटताका कारण हिमाली भेगका महिलाहरु प्रसुती सेवा लिन चार लाखको हेलिकप्टर चढेर कि काठमाडौं आउनु पर्यो कि एक हप्ता लगाएर खच्चडमा बोकिएर सदरमुकाम झर्नु पर्यो । खोइ कहाँ छ राज्यको उपस्तिथि त्याहा ? हिमालयको धाक लगाउन हिमालको उन्नतिका लागि खै के गर्यौ हामीले ?

केवल तराई मात्रै प्राथमिकतामा परेको छ । हिमालय कहिले प्राथमिकतामा परेन । यार्सागुम्बा हुने भेगका स्थानीयले त भलै अलिकति जीवन धान्लान तर सबै ठाँउमा यार्सागुम्बा हुदैन । केवल भोको पेटले हिमाल हेरेर के गर्नु । हिमाल हेर्नु र त्यस्को सौन्दर्य शास्त्र आफ्नो ठाँउमा होला तर हिमाल मुनि बाचिरहेका नेपालीहरुको अनुहारको अँध्यारो कसरी उज्यालो होला यो कुरामा नेपाल सरकारले कहिले ध्यान दिएन ।

हिउँ पगालेर पानी पिउनु पर्ने बाध्यता छ होला भन्ने कुरा कतिपयले अनुमान पनि लगाउन सक्तैनन् । सबै नदीहरुको मुलश्रोत हिमाल हो तर नदी छेउमा घर कतिको हुन्छ र? हिउँको सिरक बनाएर ओढ्नत सकिँदैन वा हिमनदी बगेको किनारमा घर पनि त हुदैनन् ।हिमालमा पिउने पानीको अभाव छ त्यो कुरा शायद हामीले बुझेका छैनौ । हिमालमा प्रसस्त जडिबुटी छ तर उपचार गर्न सदरमुकाम नै झर्नुपर्छ । हिमालमा अलिकति आलु अलिकति जौ अलिकति जुनेलो अलिकति कागुनो अलिकति हिउसिमी फलेर के गर्नु उब्जेको अन्नले दुई महिना पनि खान पुग्दैन ।

तराईका नेपालीको त भारत ससुराली होला ठाँउ समथर छ यता नपुगे उता बाट उता नपुगे यताबाट लैजालान तर हिमाली भेगमा बस्ने नेपाली तिब्बत वा चीन जानलाइ हिउको पर्वत नाघ्नपर्छ । हिमालय आफै पर्खाल हो । त्यो पर्खाल यति दुर्लङ्य छ कि कसैले पनि नाघेर जान सक्तैनन् । तराईले जस्तो रोटी बेटिको सम्बन्ध राख्दैनन चीन सग हिमालका वासिन्दाले ।

भौगोलिक बिकटताको आँसु धेरै पिएर बाचे हिमाली भेगका जनताले। आज पनि कर्णाली मुगु जुम्ला डोल्पा पाँचथर सोलु पाँचथरका जनता बुद्ध जस्तै शान्त बाचेका छन । तिन्का आवाज किन मौन छन बुझ्न सकिएको छैन । दिनदिनै तराईको चीत्कार सुनिरहेका यी कानले हिमालय पर्वतको गीता सुन्न पाएको छैन । बोल्नु चिच्याउनु वा आवाज निकाल्नु मात्रै ठुलो कुरा होइन ।

आवाज त पाहाडमा पहिरो खस्ता पनि आउँछ ,आवाजत नदीमा भेल बग्दा पनि आउँछ। आवाज त मेघ गर्जिदा पनि आउँछ। आवाज त निरीह हरिणलाइ बाघले झम्टदा पनि आउँछ । तर मौन बस्नु भित्र कति ठुलो आवाज हुन्छ त्यो कुरा पनि सरकारले बुझ्नुपर्छ । तराईले जस्तो बिकास खोसेर लिएन हिमालले । तराईमा जस्तो सधैं आँखा पुगेन सरकारको तर हिमालको दुख कहिले पनि सम्बोधन भएन । सम्बिधान संसोधनको प्रस्ताव कहिले राखेन हिमालले ।

हिमाललाई त हामीले बेच्यौ मात्रै सालिन्दा । त्यस्को आनन्द ताप्न दियौ अरुलाइ, त्यस्को स्पर्शले अरुलाइ पुलकित बनायौ तर उनै रोएको खोइ त हामीले देखेको वा तिन्को आँसु पुछेको । हिमाल रोएको आँसु तराई पुगेको छ । त्यही आसुमा तराइ पौडी खेल्छ । त्यही आसुलाइ तराई बाध बाधेर सिंचाइ गर्छ र सुन फलाउछ । तर कहिले सोधेन तराईले हिमाललाइ के छ तिम्रो दुख भनेर । तराई सधैं आफ्नो बिहेको रत्यौलीमा रङबङ्गी रह्यो । उस्ले कहिले सोधेन हिमालको चिसोको पीडा । तराई सधैं आफ्नै मधुमासमा राज्यलाई मेरो मधुमास हेर भनेर घचघच्याइ रह्यो। उस्ले शिरतिर फर्किएर कहिले हेरेन त्यो लेकको कालो घनघटा ।

हिमाली भेगको सम्पन्नताको बारेमा राज्यले कहिले चासो राखेन । वास्तवमा हिमालय पर्वत हेर्नलाइ मात्रै हो भन्ने हेतुमा हामी अलमलिएकै हो । त्याहाका स्थानीय जनताको समृद्धिको लागि राज्यले बनाउनु पर्ने निति अब निर्माण गर्नुपर्छ ।
हिमालय छैन भने नेपाल पनि छैन । हिमालयको सुरक्षा भनेको पर्वतको मात्रै सुरक्षा होइन । हिमालको फेद मुनि बाचिरहेको हुर्किरहेको त्याहाका जनता र तिन्को हिमाली सस्कृति पनि हो ।शेर्पा समुदायको उत्थान र संरक्षकत्वको लागि आज सम्म नेपाल सरकारले के काम गर्यो त्यस्को अभिलेख स्थानीय तथा पर्यटन मन्त्रालयमा होला तर त्यहाको अवस्था आज पनि पुरातन नै छ ।

केवल लुक्ला एयरपोटमा तारा एयरले दिनको पचास फ्लाईट उडान भरेर बिदेशीलाइ हिमाल देखाउन ओसारपसार गरेर मात्रै समस्त हिमाली जनताको आर्थिक उत्थान हुदैन । त्यही लुक्ला हो जहाँ एक पाकेट नुनको ७० रुपैया छ ,एक पाकेट वाइवाइको ६० रुपैयाँ छ , एक किलो चामलको ३०० छ, एउटा कुखुराको अन्डाको २५ रुपैया छ , एक पत्ता सिटामोलको २०० छ । एक छाक खानाको पाँच शय छ । पैसा हुनेले मात्रै बाच्न पाउने होर ?

सोलु सल्लेरी हुँदै लुक्ला सम्म मोटर बाटो पुर्याउने योजना बिचमै अलपत्र परेको छ । लुक्ला सम्म मोटर बाटो पुर्याउन सकिएको खण्डमा हवाई जहाज बाट बोकेर लगेको खाद्यान्नको महगाइ बाट स्थानीयले राहत पाउने थिए । हिमाल भनेको सगरमाथा मात्रै होइन । हिमाल भनेको अन्नपूर्ण र गौरीशंकर मात्रै होइन । सयौं हिमालय पर्वतले सुसज्जित छिन नेपाल आमा । हिमाल आफै मौन छ । चुपचापले बसेको छ । चुपचापले सहेको छ यस्ले बिदेसी बुटको चाप । शौन्दर्य बेचेर कमायको पैसा राजधानी भित्रीन्छ, त्याहात केवल फोहोरको थुप्रो लाग्छ । पन्ध्र दिन बिदेसीको हरक आउँछ त्याहा । केही आम्दानी होला स्थानीय जनतालाई पनि । केही भरिया भएर थोरै कमाउलान तर अर्को एघार महिना बेरोजगार भएर बस्नु परेको पीडा खोइ कस्ले बुझ्यो र आजसम्म ?

एन जि यो र आइ एन जि यो का हरीया झिंगाहरु खुब भन्किन्छ त्याहा पनि ! तर एक पाकेट जीवन जल बेच्दा पसलेले तारा एयरले बोकेको हवाई भाडाको चौबर दर कसेर लिन्छ अनि पाखाला लागेर थलिन्छन शेर्पा दाइहरु । शेर्पा दाइको ओठको उभारमा हिमालय हासेपनी खोइ किन हो शेर्पा दाइले कहिले पनि मेच कुर्सी भाचेनन प्रतिनिधि सभाहलमा । कहिले गुनासो सुनिन मैले तिन्को मुखबाट ।

समावेशी गणतन्त्र नेपालमा खोइ मेरो हिमालयका शेर्पा दाइ र शेर्पिनी दिदीको नाम र प्रतिनिधित्व कहाँनीर छ देखाउनुस्त ? केवल तराईको तातोले मथिङ्गल हल्लाउछ यहाँ तर हिमाल कहिले बोलेन । न उ दङ्स्यावो पिङ्गको कुरा गर्छ न उ मोदी आउदा चिच्याउछ । हिमाल बुद्द बनेर चुपचापले मौन छ तर हामीले कहिले बुझेनौ त्यो मौनता भित्रको आदिम लयलाइ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार ०९:४४