१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, के भयो कुराकानी ?


१४ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो । प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन् । उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले बाढी–पहिरोका खबर आउन लागेको भन्दै सबै सरकारको तयारीबारे जिज्ञासा राखेकी थिइन् । जवाफमा देउवाले सरकारका निकायहरू अलर्ट अवस्थामा रहेको बताए । यस्तै, राष्ट्रपतिले काठमाडौं उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कतामा जोड दिइन् ।

काठमाडौंका सार्वजनिक तथा निजी सबै स्वास्थ्य संस्था र स्थानीय तहहरूबिच समन्वय गरेर जान उनले सुझाव दिएकी थिइन् । प्रधानमन्त्रीले यसमा सबैसँग सरसल्लाह गर्ने भन्दै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखिने प्रत्याभूति गराएका छन् । राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए।

प्रकाशित मिति : १४ असार २०७९, मंगलवार २१:२७