१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भौतिक संरचना अपाङ्गतामैत्री बनाउने विषयमा सराेकारवालासँग छलफल


-शर्मिला विश्वकर्मा

१३ असार, काठमाडाैं । “बाटोमा छोरीलाई ह्वीलचियरमा लिएर हिँड्दा हिँड्दै एक्कासी ह्वीलचियर भाँचिएर पछि सार्वजनिक यातायातलाई लागेको भाडा तिर्छु भन्दा हामी यसमा चढाउदैनौँ अर्कोमा आउनु भनेर सार्वजनिक यातायातमा चढन् दिँदैनन ” यो भनाई ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएकी एक छोरीकी आमा सेतीमाया मगरको हो ।

काठमाडौंका सार्वजनिक यातायातले उनीहरुलाई मात्रै होइन अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि रोक्दैनन् । सार्वजनिक सवारी साधनले ह्वीलचियर प्रयोगकर्ता अपाङ्गता भएकी छोरीलाई चढाउन नमाने पछि डेढ घण्टा ह्वीलचियर धकेलेर दिनहुँ छोरीलाई पुर्याउँछिन् सेतीमाया मगरले ।

राष्ट्रिय शारीरिक अपाङ्ग संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यन्वयनको अवस्था सम्बन्धि सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो गुनासो व्यक्त गरेकी हुन् ।

सोही कार्यक्रममा यस्तै गुनासो गरेकी थिइन् राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघकी अध्यक्ष तथा बहिरा अपाङ्गता भएकी महिला लक्ष्मी महर्जन देवकोटाले । उनको गुनासो छ, “सवारी साधनमा चढ्यो धेरै मान्छे चढाउछ पछाडी जानु भन्छ ओर्लने ठाँउ कटिसकेको हुन्छ आफु बोल्न सकिदैन जसले गर्दा धेरै समस्या हुन्छ, सहचालकको अपमान पनि उत्तिनै सहनु पर्छ । “

यसै क्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रवि रिमालले सार्वजनिक यातायातलाई अपाङ्गता मैत्री बनाउन नसिकएको स्वीकार्दै अबका दिनमा सार्वजनिक यातायातका साधनहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग नगर्ने चालक तथा सहचालकहरुलाई अपाङ्गता सम्बन्धि शिक्षा दिने बताए ।

यस्तै उपत्यका ट्राफिक कार्यलयका प्रहरी निरिक्षक दामोदर भट्टले अपाङ्गता भएका व्यक्तिहरु नचढाउने सार्वजनिक सवारी साधनको नम्बर टिपेर १०३ मा फोन गरेर जानकारी गराउन आग्रह गर्दै आफ्नो तर्फबाट अपाङ्गता मैत्री संरचना बनाउने कार्यमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासन कार्यक्रम प्रवन्धक मनिष प्रसाईले पहुँचयुक्त संरचनाको नीति र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै सबै ठाँउमा अपाङ्गता मैत्री भौतिक संरचना निर्माणका लागि पहल गर्नु पर्ने, राष्ट्रिय भवन आंचा संहिताको पूर्ण रुपमा कार्यन्वयन हुनु पर्ने कुरामा जोड दिए ।

यस्तै आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले पहुँचयुक्त भौतिक संरचनाका लागि यस संस्थाले स्थापनाकाल देखि नै काम गर्दै आएको भन्दै Glimpse of NAPD Nepal and Accessibility /code को विषयमा कार्यपत्र प्रस्तुत गर्दै अबका दिनमा सरकारी कार्यलयहरु तथा भवनहरु अपाङ्गता मैत्री हुनु पर्ने, ती निकायले दिनु पर्ने सेवा सुविधाहरु पनि अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा हुनु पर्ने र यसको लागि आफ्नो संस्था मार्फत निरन्तर रुपमा वकालत गर्दै आएको बताए ।

कार्यक्रममा कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्द्धन शाखा प्रमुख तथा उपसिचव जमुना मिश्रले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ को कार्यन्वयनका सवालमा कार्य पत्र प्रस्तुत गर्दै यो निर्देशिका परिमार्जन गर्नका लागि प्रारम्भिक मस्यौदा तयार गर्ने कार्य भैरहेको भन्दै यस कार्यमा सबै सरोकारवाला निकायहरुले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले कुनै पनि निकायमा भौतिक संरचनाहरु पहुँचयुक्त भएमा अपाङ्गता भएका व्यक्तिहरुलाई मात्र नभएर सब नागरिकहरुलाई सहजता हुने भन्दै राष्ट्रिय योजना आयोगमा अब यस विषयमा कार्य योजना बनाएर अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीता गराई उनीहरुको सल्लाह सुझाबका आधारमा अपाङ्गतामैत्री संरचना निर्माणका लागि काम गर्ने बताइ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १९:४९