४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

काँग्रेस गठबन्धनबिना राजनीतिको नेतृत्व गर्न नसक्ने अवस्थामा पुग्याेः महासचिव पोखरेल


१२ असार, काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । ‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरु मिलेर व्यवस्था बदलेका छन् । तर, दलहरु मिलेर राष्ट्र बनाएको कतै पाइदैँन,’ उनले भने, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौ भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ । त्यसैले नेपाललाई विकास र समृछिको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रुविकरण आवश्यक छ ।’

उनले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गरे । ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजिवादतर्फको कित्ता र अर्को बामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता । अरु सबै विचार र श्रृखला भनेका त्यसैको वरीपरी छन्,’ पोखरेलले भने, ‘फरक विचारबिच धु्रविकरण गर्ने हो भने यी दुई शक्तिबिचको धु्रविकरण ऐतिहासिक आवश्यकता हो । जसले समृद्धिको नेतृत्व गर्न सक्छ ।’

यद्यपि, नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रुपमा रहेको भन्दै उनले आलोचना गरे । ‘ नेपाली काँग्रेस यति हतोत्साही र निरास छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,’ महासचिव पोखरेलले भने, ‘तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ । गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ ।’

उनले गठबन्धनले राजनीतिक अवसरवाद पैदा गर्ने र वैदेशिक हस्तक्षेप र चलखेललाई आमन्त्रण गर्ने पनि दाबी गरे । ‘जुन राष्ट्रको समृद्धिको वाधक हो । त्यसैले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने हो भने नीतिगत नेतृत्वको प्रश्नमा आधारित भएर नीतिगत नेतृत्व निर्माण गर्ने कुरा नेपालको राजनीतिको आजको मिशन बन्नसक्नुपर्छ,’ उनले भने, ‘नेकपा (एमाले) त्यो मान्यतामा विश्वास गर्छ ।

हामी जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तको आधारमा समाजवादको आधार तयार गर्ने उदेश्यका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षलाई पूरा गर्नका लागि बलियो राष्ट्रिय पार्टीका रुपमा नेकपा (एमाले)लाई खडा गर्न चाहन्छौँ ।’

उनले कुनै दल मिलेर एमालेको त्यो यात्रालाई रोक्ने प्रयास गरे पनि मुलुकको समृद्धिको यात्रा यहि बाटोबाट मात्रै सम्भव भएको प्रष्ट पारे । उनले कार्यक्रमलाई सम्वोधन गर्दै मदन भण्डारी विद्रोही र बैचारिक नेता भएको बताए। उनले नेतृत्वको होडवाजीमा नलागी मदन भण्डारीको पहलमा संयुक्त बाममोर्चा गठन गरी कम्युनिष्ट आन्दोलनलाई थप शक्तिशाली बनाएको पनि स्मरण गराए ।

त्यसैगरी सुधारिएको पञ्चायतको पक्षमा रहेका भएका गिरिजाप्रसाद कोइरालालाई बहुदली व्यवस्थाको आकाक्षां जनताको आकाक्षां हो भन्दै भण्डारीले भित्री रुपमा विद्रोह गरेको र बहुदलीय व्यवस्था प्राप्त भएको पनि उनले स्मरण गराए । माले र माक्र्सवादीबीच एकता गर्दै दुई पुस्ताको राजनीति जोड्ने कामको अगुवाई पनि मदनले नै गरेको उनले बताए । विकास र समृद्धि, परराष्ट्र नीतिमा पनि भण्डारीको दुरदृष्टि नीतिको प्रसंशा गरे ।

हतियारबाट मात्रै परिवर्तन सम्भव छ भन्ने तत्कालिन नेकपा माओवादी अहिले शान्तिपूर्ण राजनीतिमा आउनुको प्रमुख कारण पनि भण्डारीकै राजनीतिक सिद्धान्त प्रमुख भएको दाबी गरे । ‘मदन भण्डारीको सिद्धान्तकै कारण परम्परागत ढाँचाको आफ्नो संगठनलाई बदल्न बाध्य भयो,’ उनले भने, ‘माओवादीको बहुपदीय ढाँचा त्यसैको कारण हो ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १७:५७