२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022

किसानको खर्च बढाउँदै शीतभण्डार

१३ असार, बागलुङ । किसानको उत्पादन सुरक्षा र बजारीकरणका लागि आगामी आर्थिक वर्षमा पनि बागलुङका केही स्थानीय तहले शीतभण्डार निर्माणका लागि बजेटको व्यवस्था गरेका छन् । प्राय फलफूल उत्पादन हुने क्षेत्र र नगदेबाली उत्पादन हुने क्षेत्रमा शीतभण्डार निर्माणमा स्थानीय सरकारको चासो छ ।

सङ्घीय सरकार र प्रदेश सरकारले पनि किसानको सहायताका लागि शीतभण्डार निर्माण गर्न बेलाबेलामा त्यस्ता योजनामा रकम विनियोजन गरेर कार्यान्वयनमा ल्याइरहेका छन् । शीतभण्डार निर्माण भएका क्षेत्रका किसानले भने शीतभण्डार फाइदा लिनेभन्दा खर्च हुने बाटो बनेको गुनासो गर्न थालेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा तीन वर्षको अवधिमा दुई वटा शीतभण्डार तयार भए । शीतभण्डार निर्माण हुने खबर पाएका किसानले पहिले ठूलो भवन माग गरे । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा भवन निर्माण गरी प्रदेश सरकारसँगको साझेदारीमा शीतभण्डार निर्माण गरियो तर रु ८० लाख खर्चेर बनाइएको भवनमा रु २५ लाख पर्ने शीतभण्डारको चेब्बर त तयार गरिए पनि त्यही चेब्बर किसानको कमाई मास्ने साधन बनेको छ ।

“शीतभण्डारको चेब्बर सानो हुँदोरहेछ थाहै भएन, पहिला ठूलो भवन बनाइयो अहिले भवन प्रयोगविहीन जस्तै छ, कोल्डस्टोरमा पनि के राख्ने”, स्थानीयवासी यामबहादुर रोकाले भन्नुभयो, “भवन बनाउने पैसाले कोष बनाएको भए व्यवस्थापन खर्च चलाउन सहज हुनेरहेछ ।”
काठेखोला गाउँपालिकाको आलु पकेट क्षेत्रका रुपमा रहेको धम्जामा आलु फल्ने याममा बाहेक शीतभण्डारमा राख्ने केही हुँदैन । दुई÷तीन महिना मात्रै प्रयोगमा आउने र अन्य समयमा खाली रहने भएकाले किसानले शीतभण्डारबाट फाइदा लिन नसकेका हुन् । शीतभण्डारका लागि आवश्यक ऊर्जा पु¥याउनकै लागि किसानलाई कठिन भइरहेको वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो ।

“वर्षमा रु ५० देखि ६० हजार विद्युत्को महसुल आउँछ, किसानले प्रयोग गरेबापत लिइएको शुल्कले फाइदा त्यति धेरै हुँदैन”, उहाँले भन्नुभयो, “बाह्रै महिना भराउन नसके शीतभण्डार सञ्चालन महँगो पर्दोरहेछ ।” अन्यत्रबाट फलफूल तथा तरकारी ल्याएर भण्डारण गर्दा ढुवानी महँगो पर्ने, मूल्य नउठ्ने र स्थानीयस्तरमा आलुबाहेक भण्डारण गर्ने अरु उत्पादन नहुँदा किसान मर्कामा परेको वडाध्यक्ष विकले बताउनुभयो ।

“वडाले सधैँ त्यहाँको सञ्चालन खर्च बेहोर्न सक्ने कुरा भएन, किसान आफँैले पनि कसरी सक्ने हो र”, उहाँले भन्नुभयो, “प्रविधिसँगै किसानलाई विविध उत्पादनको सीप पनि दिनुपर्छ भन्ने लागेको छ ।” वडा कार्यालयले छिमेकी वडासँग मिलेर त्यहाँ भएका उत्पादन भण्डारण गर्ने र बजार मूल्य पाउने समयमा बिक्री गर्ने योजना बनाएको छ । यहाँका किसानले आलु भण्डारणकै लागि शीतभण्डार माग गरेका थिए ।

वार्षिक उत्पादन हुने आलु फसल लिएको दुईदेखि तीन महिनामा बिक्री भइसक्ने भएकाले भण्डार खाली हुने गरेको छ । बागलुङ नगरपालिका–८स्थित सिगानामा बनेको शीतभण्डार पनि सुन्तलाको याममा मात्रै चल्छ । विद्युतमार्फत् सञ्चालन हुने शीतभण्डारका लागि अर्को खर्चको स्रोत हो इन्धन । विद्युत् नभएको समयमा जेनेरेटर चलाएर विद्युत् प्रवाह गर्नुपर्दा किसानलाई थप मर्का परेको हो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १४:२०