८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

वैशाख १६ मा ‘लेखक दिवस’ मनाइने, एकलाख राशिको विशिष्ट लेखक पुरस्कार स्थापना


१२ असार, काठमाडाैँ । नेपाली लेखक सङ्घले एक लाख रूपैयाँ राशिको विशिष्ट लेखक पुरस्कार स्थापना गरेको छ । सङ्घको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक स्रष्टालाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष एवं वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विसं २०८० वैशाख १६ गतेदेखि हरेक वर्ष ‘लेखक दिवस’ मनाउन सुरुआत गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश तथा जिल्ला शाखालाई लेखक दिवस मनाउन निर्देशन दिने निर्णय बैठकले गरेको सङ्घका सचिवालय सदस्य नवीनचन्द्र घिमिरेले जानकारी दिए ।

स्रष्टाहरूले राजनीति परिवर्तनका लागि चालेको सङ्गठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऐतिहासिक दिनलाई नेपाली लेखक सङ्घले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो । उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षयकोष स्थापना गर्न सङ्घले आफ्नो तर्फबाट रकम सङ्कलन गर्न सुरु गरेको छ । सो पुरस्कार प्रदान गर्न अक्षयकोषका लागि कार्यसमितिको तर्फबाट मात्रै रु छ लाख बराबरको रकम सङ्कलन भएको छ ।

सुरुआतमै निकै उत्साहपूर्वक स्वतस्फुर्त रकम सङ्कलन भएको उक्त अक्षयकोषमा आगामी दिनमा पनि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट रकम सङ्कलन गरी कोषमा कम्तीमा रु २० लाख बराबरको मूल धन पु¥याउने लक्ष्य लिइएको सङ्घका अध्यक्ष श्रेष्ठले बताए । उनले उक्त पुरस्कार वितरण गर्नका लागि एक कार्यविधि निर्माण गरी स्रष्टाबाट स्रष्टाका लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार ०९:२८