७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सानिमा बैंकले अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै


९ असार, काठमाडौं । सानिमा बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको छ । १० असार शुक्रबारबाट ऋणपत्र निष्कासन गर्न लागेको बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा ५० लाख इकाइ ऋणपत्र जारी गर्ने जनाएको छ ।

यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि खुला हुनेछ । यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ अर्थात् वार्षिक १०.२५ प्रतिशत ब्याजदर जारी गर्दै छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्नेछ । ऋणपत्रमा १४ असारसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाइसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ११:१४