७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना पक्राउ


८ असार, काठमाडौं । लागूऔषध दूर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की छन् ।

पक्राउ पर्ने अन्यमा नुवाकोट ककनी गाउँपालिका–१ स्थायी ठेगाना भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार रहेका छन् ।

गंगाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरु वेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १३:२२