१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटका जनताले प्रचण्डका घरबेटी अधिकारीको अत्याचारबाट मुक्ति पाए, पासाङल्हामुको ठेक्का तोडियो


८ असार, नुवाकोट । राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गको ठेक्का सडक विभागले तोडेको छ ।

शारदाका कारण नुवाकोटमा ‘नो रोड नो भोट’ अभियान नै चलेको थियो। सडकका पीडितहरू नेतालाई निषेधित क्षेत्र घोषणा गरेरै आन्दोलित समेत भएका थिए । बालाजुदेखि रानीपौवासम्मको साढे २१ किलोमिटरको काम पनि भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको थियो ।

ठेक्क भएको एक दशक हुँदा पनि सडक भत्काएर अलपत्र छाडिदिएपछि नुवाकोटका जनताले धेरै पीडा व्यहोरेका थिए। एमसीसी जस्तै खालका अनेक शर्त स्वीकार गरेर भारतीय एक्जिम बैंकको ऋण लिएर सुरू भएको आयोजनाका कारण नुवाकोटका नागरिकले धेरै पीडा व्यहोरिसकेका छन ।

नुवाकोट प्रवेशको मुख्य नाका मानिने पासाङल्हामु राजमार्गको एक दशकको हविगतले त्यहाँका धेरै स्थानीय विस्थापित नै बन्न पुगेका छन । सडक भत्काएर बाटो बिगिरीदिँदा समयमै अस्पताल पुग्न नपाएर दर्जनौँ बिरामीले ज्यान गुमाउन बाध्य भएका छन । सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा समेत काम भएको थिएन भने यसपटक सरकारले ठेक्का तोडेको छ ।

बालाजुदेखि रानीपौवा खण्ड (१७ कि. मि.)  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीको शैलुङ कन्ट्रक्सन र रानीपौवा देखि त्रिशुली (पिपलटार) खण्ड (३४ कि.मि.) नेपाली कांग्रेसका नेताको कोशी एण्ड न्यौपाने कन्ट्रक्सन २०७४ जेठ २ गते ३ वर्षमा काम सम्पन्न गर्ने गरी बोलपत्र स्वीकार गरेको भए पनि एक दशक हुँदा पनि काम गरेनन् र अहिले ठेक्का तोडिएको छ । दुबै खण्डमा भारतीय कम्पनीसँगको जेभीमा लगेको ठेक्का थियो ।

गत चैत १५ मा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेर ठेक्का नतोडी काममा लगाउन अनुरोध गरिएको थियो । पासाङ ल्हामु राजमार्ग कालोपत्रे दबाब अभियानका तर्फबाट गएका प्रतिनिधिमा नेपाली कांग्रेसका नेताहरू समेत मिसिएर प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदैल उनीहरूले ठेक्का नतोड्न अनुरोध गरेका थिए ।

उक्त सडक नेपालका १४ वटा पुराना राजमार्गमध्ये एक भएको २०२१ फागुन २१ गते तत्कालीन सरकारले प्रकाशित गरेको ‘नेपाल गजेट’मा उल्लेख गरिएको छ । त्यतिबेला यो सडकको चौडाइ बीचबाट दायाँबायाँ २५/२५ गज तोकिएको थियो । तर, सडक एकलेनको मात्र भएको कारण सरकारले विस्तार गर्नथालेको हो । बीचबाट दायाँबायाँ २५/२५ गज निर्धारण गरिए पनि स्थानीयको जग्गाको लगत कट्टा नभएको कारण विवाद जारी छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०८:५०