४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा ४५ प्रतिशतले घट्यो


६ असार, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायमा ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ भने जीवन बीमा व्यवसायमा भने ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी भएकाे छ ।

त्यस अनुसार पुनर्बीमा कम्पनीको खुद नाफा २९ करोड १४ लाख रुपैयाँमा समिति भएको हो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ४५.७२ प्रतिशत अर्थात २४ करोड ५५ लाख रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ४५ करोड ४२ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ८ करोड २६ लाख रुपैयाँ गरी ५३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो । यो गत आर्थिक वर्षको तुलनामा ३०.४८ प्रतिशत बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट ३ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ३४ लाख ६४ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २३ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ २ अर्ब ६९ करोड १९ लाख रुपैयाँ र जीवन बीमातर्फ ९६ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने १ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब १३ करोड १९ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५ रुपैयाँ ००३ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २५५.२४ गुणा छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १६:३०