७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोटको बेलकोटगढीमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या


४ असार, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा ज्वाइँलाई ससुरालीमा बोलाएर चिर्पट प्रहार गरी हत्या भएको छ । आफ्नै बाउसंग मिलेर पतिको हत्या गरेको अभियोगमा प्रहरीले बेलकोटगढी नगरपालिका वडा नम्वर ८ बाट एक महिलासहित चारजनालाई पक्राउ गरेको छ ।

बिहीबार बिहान बेलकोटगढी नगरपालिका वडा नम्वर ८ काशिटारस्थित चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका वडा नम्वर ८ का ५६ बर्षिय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको सूचनापछि पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पश्चात चारजनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ससुराली आएका एकबहादुर लाई बुधबार राती १२ बजे उनकी श्रीमती ३५ बर्षिया ज्ञानमाया तामाङ, ससुरा ६७ बर्षिय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, बिदुर नगरपालिका वडा नम्वर १२ का ३४ बर्षिय दुखिराम तामाङ र १४ बर्षिय एक बालकसहित मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए ।

प्रारम्भिक अनुसन्धान पश्चात हत्यामा संलग्न देखिएका चारैजनालाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट शुक्रवार कर्तब्य ज्यान मुद्धामा म्याद थप गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार ०७:१७