१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएः अध्यक्ष ओली


२ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पार्टीको केन्द्रीय स्कुल विभागले काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका हुन् । सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेर बुथ कब्जा गरिएको स्थितिको सामना एमालेले गर्नुपरेको उनले बताए ।

जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उनको भनाई छ । अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिए ।

स्थानीय तहको निर्वाचनको परिणामा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन उनले आग्रह गरे । अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गरे ।

एमालेले दुईदिनसम्म गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १६:१२