१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहिलो किस्ता लिएर घर नबनाउने भूकम्प पीडितलार्इ कारबाही हुने


२३ फागुन, काठमाडौं । झुटो विवरण पेश गरी सरकारले दिएको अनुदानको पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२औं बैठकले यस्तो निर्णय गरेको हो ।

प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं, हामी पनि पहिले गोरखापत्रमा सूचना निकालेर सचेत गराउँछौं ।

पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ । कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए ।

प्राधिकरणले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ सम्बन्धित जिल्ला विकास समितिमा पठाइसकेको छ । अहिलेसम्म करिब २७ हजार घर निर्माणाधीन रहेको तथ्यांक प्राधिकरणसँग आइपुगेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार १६:३०