१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अर्काको आङको जुम्रा देख्ने घनश्याम भुसाल आफ्नो आङको भैँसी कहिल्यै देख्दैनन्


-किरण देउजा

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाल वैचारिक नेता भन्छन त्यसमा मेरो विमति छैन । भुसाल अध्ययन गर्छन, अध्ययन गर्ने नाममा नै गुट चलाउन एनजिओ पनि सञ्चालन गरेका छन, समाजको बारेमा ब्याख्या विश्लेषण पनि गरिरहन्छ त्यो उनको विशेषता हो ।

त्यस्ता गतिबिधिमा सहभागी हुने घनश्याम संगठन बनाउन लागेको रेकर्ड अहिलेसम्म मैले भेटेको छैन । बरू उनले बनेको संगठन भताभुंग बनाउन विदेशी स्रोतको परिचालन गरेर गतिबिधि गर्नेदेखि अन्य काममा सहभागी हुने गरेको देखिएकै छ ।

उनको मुख्य विशेषता भनेकै पार्टीको नेतृत्वविरुद्ध जेहाद छेड्नु हो । जुन उनले गरिरहेकै छन । घनश्यामको यस्तो बानी २०४९ सालदेखि कै हो । घनश्यामले अहिले जे गरिरहेका छन उनका लागि कुनै नाैलो कुरा होइन यो त उनको प्रवृति बनिसकेको छ ।

अब हिजोको कार्यक्रमतर्फ लागौँ ।

हिजो काठमाडौँको राष्ट्रिय सभागृहमा, युवा वाम बहस नाम गरेको नेपाल अध्ययन केन्द्रमा आवद्ध भएका केही युवाहरुको नाममा “कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो शीर्षकमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा सहभागी भएको नाताले देखेका केही दृश्य यहाँ प्रस्तुत गर्दैछु !

१) कार्यक्रमको नाम जे भए नि, आयोजक जो भए पनि कुण्ठा पोख्ने काममात्र भयाो ।

२) कार्यक्रममा नेकपा एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालसहित अधिकांश एमालेका, समाजवादीका केही कार्यकर्ताहरू सहभागी थिए । कार्यकर्ताहरुमा वैचारिक भोक स्पष्ट देखिन्थ्यो ! तर उक्त चिजको साटो घनश्यामले कुण्ठामात्र पोखे ।

३) प्रमुख वक्ताले दुई ठूला कम्युनिस्ट दल नमिल्दा एमालेले निर्वाचन हारेको तर्क प्रस्तुत गरे । तर अघिल्लो स्थानीय निर्वाचनमा (२०७४) उनकै जिल्लामा गठबन्धन दललाई एमाले एक्लैले परास्त गरेको होईन र ? जस्तो: बुटवल, सैनामैना, तिलोत्तमा, सिद्धार्थनगर आदि ठाउँमा सान्दार विजयी भएको थियो । तर अहिले (२०७९) को निर्वाचनमा ? यसको जिम्मेवार पार्टी अध्यक्षले लिने कि तपाईंले ? कि हारको जिम्मेवारी लिने बेलामा तपाईं एमालेको नेता होइन ?

४) हो, दुई अध्यक्षको पदीय लडाइँले गणितीय एकता (वैचारिक र सैद्धान्तिक पक्ष स्थगित गरेर) धरापमा पर्यो । तर घनश्याम लगायतले दुबै पक्षलाई मिलाउन नलागी एकापट्टी लागेर बहुमत/अल्पमतको खेलोमा लाग्या होईन र ? अर्को कुरा समयमै माधव नेपाललाई धोका दिने निर्णय गरेको भए न एमाले विभाजन हुन्थ्यो न त माधव नेपाल समूह नै अध्यादेशको साहरामा अर्को पार्टी बनाउने अवस्थामा पुग्थ्यो (जुनकुरा माधव नेपालले पटक पटक सार्वजनिक रूपमा भनेका छन १० भाइले भीरको छेउमा लगेर धकेले भनेर) ।

५) नेकपाको समयमा वैचारिक पक्षमा बहस गर्नुको सट्टा कुनै अमुक गुटलाई मलजल गराउन दिलोज्यान दिएर लागेको होइन र ?

६) आफूले मन्त्रालय सम्हाल्दै गर्दा किसनको पक्षमा सिन्को समेत भाच्न नसकेको होईन र ? सलह किरालाई भगाउन/मार्न “अमेरिका हेभी मेटल म्युजिक हुँदोरहेछ, अमेरिकाको एउटा ब्याण्डले गाएको, उक्त गित सुनाएपछी सहल जहाँको त्यही कक्रकै पर्ने रहेछ” ड्रमसेट ल्याएर किरा लखेट्ने हावादारी तर्क गरेको नेपाली जनताहरुले भुलेका छैनन् नि। आफूले जिम्मेवारी बहन गर्दा जनताको पक्षमा केही नगरेको तथ्य त घाम जत्तिकै छर्लङ्ग छ नि !

७) संसद विघटन सहि/गलत थियो, समयले मूल्यांकन गर्ने नै छ । आफ्नै पार्टीविरुद्ध विश्वासको मत नदिएर गरेको गल्तीको पश्चाताप चै नहुनुपर्ने ?

८) एमालेकाे सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाए लोकतन्त्र संकटमा पर्छ भन्दै सडकमा रूँदै कराउँदै हिँडेको हाेइन ? उनै देउवालाई प्रधानमन्त्री बनाउन भनेर सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा पुगेर सनाखत गरेको चै ऐतिहासिक काम नै होला नि हैन ? त्यो गल्तीको महसुस घनश्याम भुसालले गर्ने कि केपी ओलीले ? छ यसकाे जवाफ ?

९) दशक अघि कै कुरा: एमालेका तत्कालीन नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएका थिए । (२०६६/०६७) तत्कालीन माओवादीले “कठपुतली” संज्ञा दिदै सडक आन्दोलन चर्काएको थियो । उक्त आन्दोलनमा आफ्नै पार्टीको नेता अनि प्रधानन्त्रीविरुद्ध बामदेव गौतमलाई उचालेर ६० भाइको हस्ताक्षरसहित विज्ञप्ति निकालेर माधवकुमार नेपालको राजीनामा माग्या हैन ? कि बिर्सिसकेको हो त्यो दिन ?

१०) एमालेकै तत्कालीन नेता झलनाथ खनाल नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेर तलब र सरकारी सुबिधामात्र उपभोग गरेको बिर्सएको हो ?

११. पूर्व कृषिमन्त्रीको हैसियतमा जनताले मल नपाएको, सिचाँइको सुविधा पर्याप्त नभएको विषयमा कहिल्यै बोलियो ? यस्तो विषय घनश्यामको प्राथमिकतामा कहिल्यै किन पर्दैन ?

पुरानो कुरा त के गर्नु ? २०५४ मा पार्टी फूटाउन लागेको, २०४९ मा जबज विरुद्ध लागेको, एकताको अनेरास्ववियुको पाँचौको अध्यक्ष टंक कार्की विरुद्ध लागेको। यो घनश्यामका लागि क्रान्ति भए पनि इतिहासमा यी विषयका अघि उनी पटक पटक असफल पात्र बनिसकेका छन । माथिका तथ्यले अर्काको आङको जुम्रा देख्ने घनश्याम भुसाल आफ्नो आङको भैँसी कहिल्यै देख्दैनन् भन्ने चरितार्थ हुन्छ ।

सलहबारेको घनश्याम भुसालको अभिव्यक्ति तल भिडियोमा सुन्न सक्नुहुन्छः भिडियोः कान्तिपुर दैनिक

प्रकाशित मिति : २ असार २०७९, बिहीबार ०९:३६